नाडा अटो सो भाद्र ९ गतेदेखि आयोजना हुने


काठमाडौं ।

नेपालको बहुचर्चित तथा अग्रणी अटोमोबाइल प्रदर्शनी नाडा अटो सो यही भाद्र ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने यस वर्षको प्रदर्शनी नाडाको ५०औं वार्षिकोत्सवको अवसरमा ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो।

६ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको शीर्ष प्रायोजकमा एच.पी. लुब्रिकेन्ट्स रहेको छ। आयोजकका अनुसार नाडा अटो सोले तीव्र रूपमा विकसित हुँदै गएको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि, उत्पादन, सेवा तथा नवप्रवर्तनलाई एउटै मञ्चमा प्रस्तुत गर्नेछ।

करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ वटा ब्राण्डका पेसेन्जर कार, १७ वटा लाइट कमर्शियल भेहिकल, १३ वटा दुईपांग्रे सवारीसाधनका ब्राण्ड, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोबाइल पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन र सेवाका स्टल रहनेछन्।

प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधनका साथै स्वदेशमै उत्पादित ल्युब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य सामग्रीसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ।

नाडा अटो शोको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउनुका साथै उपभोक्तालाई बजारमा उपलब्ध नवीनतम सवारीसाधन, प्रविधि तथा उत्पादनको प्रत्यक्ष अनुभव गराउनु रहेको छ। यसले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको विकासमा योगदान पुग्ने आयोजकको विश्वास छ।

नयाँ प्रविधि र उत्पादन मुख्य आकर्षण

यस वर्षको नाडा अटो शोमा नाडाको ५०औं वार्षिकोत्सवलाई विशेष रूपमा प्रस्तुत गरिनुका साथै ‘भिजन मोबिलिटी रोडम्याप’ तथा भविष्यको यातायात क्षेत्रमा आउने प्रविधिको विकासलाई उजागर गर्ने कार्यक्रमहरू रहनेछन्।

त्यस्तै, नेपालमै उत्पादित तथा एसेम्बल भएका सवारीसाधन, ल्युब, ब्याट्री, हेल्मेटलगायतका सामग्रीको प्रवद्र्धनमा समेत विशेष जोड दिइनेछ। विभिन्न ब्राण्डका नयाँ मोडल सार्वजनिक तथा लन्च गरिने कार्यक्रमसमेत प्रदर्शनीका प्रमुख आकर्षणमा रहनेछन्।

प्रदर्शनी अवधिमा स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास तथा कनेक्टिभिटीका विषयमा विभिन्न सिम्पोसियम आयोजना गरिने आयोजकले जनाएको छ।

टिकटदेखि पार्किङसम्म विशेष व्यवस्था

आयोजकले प्रदर्शनीलाई व्यवस्थित, सुरक्षित तथा सहज बनाउन छुट्टाछुट्टै जोनको व्यवस्था गरेको छ। दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणका लागि अलग–अलग क्षेत्र निर्धारण गरिएको छ।

प्रदर्शनीको टिकट खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिनेछ भने निश्चित अवधिका लागि ५० प्रतिशत क्यासब्याकको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी सञ्चारकर्मीका लागि मिडिया डेस्क, महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा ट्राफिक सूचना डेस्क, क्याफेटेरिया तथा आपतकालीन स्वास्थ्य टोलीको व्यवस्था गरिनेछ। प्रदर्शनीस्थलमा सीसीटीभीमार्फत सुरक्षा निगरानी तथा आगो नियन्त्रणको व्यवस्था समेत रहनेछ।

पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अन्डरग्राउन्ड पार्किङ तथा सिंहदरबारस्थित नेशनल ट्रेडिङ परिसरमा समेत व्यवस्था गरिने आयोजकले जनाएको छ। प्रदर्शनीस्थललाई ह्वीलचेयरमैत्री बनाइनेछ।

नाडाले अटोमोबाइलप्रेमी, उद्योगी–व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई नाडा अटो शो २०२६ मा सहभागी भई नेपालको मोबिलिटी क्षेत्रका नवीनतम प्रवृत्ति र प्रविधिको अनुभव लिन आह्वान गरेको छ।

आयोजकका अनुसार ६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब दुई लाख आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।