महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा २० प्रतिशतसम्म छुट


काठमाडौं ।

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई विभिन्न संस्था तथा प्रतिष्ठानका सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ।

बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टलगायतका क्षेत्रमा सेवा प्रदान गर्ने विभिन्न संस्थासँग सम्झौता गरी ग्राहकलाई विशेष छुटको सुविधा उपलब्ध गराएको जनाएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले सम्बन्धित संस्थाका विभिन्न सेवामा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौताअनुसार मनकामना हिलक्रेष्ट होटल, कुरिनटार, चितवनमा आवास तथा रेष्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट पाइनेछ। त्यस्तै एलोफ्ट काठमाडौंमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म, एल्लो हात्ती, लाजिम्पाटमा उपहार सामग्री खरिदमा १० प्रतिशतसम्म र अल्फा केयर डाइग्नोस्टिक सेन्टर, बुद्धनगरमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

त्यसैगरी दृष्टी आई केयर, कलंकीमा नाक, कान, घाँटी तथा आँखा उपचार एवं प्रयोगशाला सेवामा २० प्रतिशतसम्म, ओरियन्ट क्याफे, दरबारमार्गमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म र होटल स्मारक, हेटौंडामा आवास तथा खाना–पेय पदार्थमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार यस किसिमको सहकार्यबाट डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

नेपाली जनताको घरदैलोमा विगत ३२ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।