रद्द गरिएको टेस्ट म्याचबाट एकदिवसीय क्रिकेटको सुरुवात

0
Shares

पहिलो एकदिवसीय खेल जनवरी ५, १९७१ मा अस्ट्रेलिया र इङ्गल्याण्ड बीच मेलबर्न क्रिकेट ग्राउन्डमा खेलिएको थियो। इङ्गल्याण्ड भ्रमणको तेस्रो टेस्ट लगातार चार दिनसम्म लगातार पानी पर्दा खेल संचालन हुन सकेन । दर्शकहरूलाई खाली हात फर्कनबाट रोक्नको लागि, अन्तिम दिन यानि पाँचौं दिन ४० ओभरको सीमित ओभरको खेल खेलाइएको थियो ।

खेलाडीहरूले टेस्ट खेल्दा लगाउने सेतो जर्सी नै लगाएका थिए र खेल रातो बलले खेलिएको थियो । तर, खेल्दै गर्दा यो क्रिकेटको सबैभन्दा लोकप्रिय फरम्याट हुनेछ भनेर त्यतिबेला कसैले सोचेका थिएनन् । यही ४०÷४० ओभरको खेलपछि क्रिकेटमा एकदिवसीय फरम्याटको सुरुआत भयो । त्यतिबेला एक ओभरमा ८ बल फ्याकिनु पर्ने नियम थियो ।

वर्तमान अवस्थामा ५० ओभरको एकदिवसीय खेल सामान्य नै देखिन्छ । तर, सुरुआतमा यस्तो थिएन । पहिलो एकदिवसीय खेलहरू ४० ओभरको हुन्थ्यो र एक ओभरमा ८ बल हुन्थ्यो । त्यतिबेला इंग्ल्याण्डले ५५ ओभरको खेल आयोजना गथ्र्यो ।

यसैगरी न्युजिल्याण्डले ३५ ओभरको, वेस्ट इन्डिजले ४५ ओभरको र पाकिस्तानले ३५, ४० र ५० ओभरको खेल फरक–फरक समयमा आयोजना गरेका थिए । जबकी १९७५ र १९७९ का दुई एकदिवसीय विश्वकपमा ६० ओभरको खेल आयोजना गरिएको थियो ।

सुरुवाती दिनहरूमा, प्रत्येक देशले आफ्नो सुविधा र दिनको उज्यालो समयको आधारमा ओभरको संख्या निर्धारण गथ्र्यो । पछि, अन्तर्राष्ट्रिय क्रिकेटमा एकरूपता ल्याउन ५० ओभरको फरम्याट ल्याइएको थियो । जुन अहिलेसम्म पनि चलिरहेको छ ।

सन् १९७८ मा वेस्ट इन्डिज ५० ओभरको एकदिवसीय खेल आयोजना गर्ने पहिलो देश बनेको थियो । त्यसपछि अस्ट्रेलिया र न्यूजील्याण्डले वेस्ट इन्डिजको फरम्याटलाई पछ्याए ।

सन् १९८७ को विश्वकप ५० ओभरमा संचालन भएको पहिलो विश्वकप थियो । यसको बावजुद इंग्ल्याण्डले ५५ ओभरको एकदिवसीय खेल खेल्न जारी राखेको थियो । सन् १९९६ को विश्वकपपछि भने ५० ओभरको फरम्याटलाई विश्वभर लागू गरियो ।

केरी पेकर विवादले क्रिकेटको फरम्याटमा परिवर्तन

सन् १९७७ मा अस्ट्रेलियाली मिडिया टाइकुन केरी पेकरले वल्र्ड सिरिज क्रिकेट सुरु गरे । उनले विश्वका अग्रणी खेलाडीहरूसँग सम्झौता गरे र छुट्टै प्रतियोगिता आयोजना गरेका थिए । यस सिरिजपछि क्रिकेटमा तीन परिवर्तन भएको थियो ।
रंगीन जर्सीः १९७८–७९ सिजनमा खेलाडीहरू पहिलोपटक रंगीन जर्सी लगाएर मैदानमा उत्रिए । अस्ट्रेलियाले पहेंलो, वेस्ट इन्डिजले गुलाबी र विश्व एघारले नीलो रंगका जर्सी लगाएका थिए ।

दिन–रात खेलहरूः वल्र्ड सिरिज क्रिकेटमा पहिलोपटक फ्लडलाइटअन्तर्गत दिन–रात खेलहरू खेलाइयो, जुन पछि अन्तर्राष्ट्रिय क्रिकेटको हिस्सा बन्यो ।
सेतो बलः रातो बल रातमा स्पष्ट रूपमा देखिँदैन, त्यसैले पहिलोपटक सेतो बल प्रयोग गरियो । सन् १९९२ को विश्वकप रंगीन जर्सी, दिन–रात खेल र सेतो बल प्रयोग गर्ने पहिलो आईसीसी विश्वकप प्रतियोगिता थियो ।

बाउन्ड्रीमा १० फिल्डर भएपछि पावरप्ले आयो

एक घटनापछि एकदिवसीय खेलमा फिल्डिङ नियमहरू पनि परिवर्तन भएको थियो । सन् १९७९ मा इंग्ल्याण्डका कप्तान माइक ब्रेअर्लीले अन्तिम बलको लागि विकेटकिपरसहित सबै १० फिल्डरहरूलाई बाउन्ड्रीमा तैनाथ गरे । यस्तो फिल्डिङ रणनीतिले गर्दा ब्याट्सम्यानका लागि चौका वा छक्का प्रहार गर्न लगभग असम्भव नै भएको थियो । तर, सन् २००५ देखि मात्रै पावरप्लेको नियम लागु गरिएको हो ।

टी २० फरम्याटको चुनौती

एकदिवसीय फरम्याटलाई अहिले टी २० फरम्याटले चुनौती दिइरहेको छ । एकदिवसीय क्रिकेटमा दुबै टोलीले ५०–५० ओभर खेल्दा समय धेरै व्यतीत हुने गर्छ । तर, टी २० फरम्याटको खेलहरू भने २०–२० ओभरको हुने हुँदा अहिले क्रिकेट समर्थकका लागि यो फरम्याट धेरै मनपराइरहेको छ ।