सामसङ नेपालले सार्वजनिक गर्‍यो नयाँ ग्यालेक्सी जेड सिरिज, प्रि-अर्डर खुला


काठमाडौं ।

सामसङ नेपालले नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सार्वजनिक गरेको छ। कम्पनीले नयाँ सिरिजसँगै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा२ पनि नेपाली बजारमा ल्याएको जनाएको छ।

कम्पनीका अनुसार नयाँ फोल्डेबल सिरिजमा ग्यालेक्सी एआईको थप विकसित अनुभव, ठूलो डिस्प्ले, पोर्टेबिलिटी तथा टिकाउपनमा सुधार गरिएको छ। नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोनलाई एआईका विभिन्न कामका लागि सहज हुने गरी विकास गरिएको सामसङको दाबी छ।

ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा र फोल्ड ८ को ठूलो डिस्प्लेले प्रयोगकर्तालाई एकैपटक विभिन्न सामग्री हेर्न, तुलना गर्न, सिर्जना गर्न तथा आवश्यक काम गर्न सहज बनाउने कम्पनीले जनाएको छ। त्यस्तै, जेड फ्लिप ८ लाई कम्प्याक्ट डिजाइनमा छिटो एआई अन्तरक्रिया र रचनात्मक प्रयोगका लागि केन्द्रित गरिएको छ।

नयाँ सिरिज सार्वजनिक गर्दै सामसङ नेपालले स्मार्टफोन बिक्रीमा मात्र सीमित नभई फाइनान्सिङ, ट्रेड–इन, कनेक्टिभिटी र ओम्निच्यानल सेवासहितको स्वामित्व अनुभवलाई प्राथमिकता दिएको जनाएको छ।

कम्पनीका अनुसार HFL मार्फत ४० प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध हुनेछ। योग्य ग्राहकका लागि ईएमआई अवधि ३६ महिनासम्म पुर्‍याउँदै डाउन पेमेन्ट २० प्रतिशतसम्म घटाउने योजना पनि रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, पुराना स्मार्टफोन साट्दा ट्रेड–इन बोनस, कनेक्टिभिटी सुविधा तथा रेमिट्यान्ससँग जोडिएका थप लाभ उपलब्ध गराउने तयारी गरिएको छ। IMS र Him Electronics सँगको सहकार्यमा डिजिटल योग्यता जाँचदेखि प्रि–अर्डर, डेलिभरी र Samsung Brand Store बाट उत्पादन प्राप्त गर्ने प्रक्रियालाई एउटै प्रणालीमा जोड्ने कम्पनीको योजना छ।

सामसङले नयाँ उपकरणको ट्रेड–इन प्रक्रियालाई दिगोपनसँग समेत जोडेको जनाएको छ। Apkudo तथा स्थानीय साझेदारको सहकार्यमा पुराना उपकरणको परीक्षण, मूल्याङ्कन तथा प्रशोधन गरिने र सम्भव भएसम्म पुनः मर्मत गरी प्रयोगमा ल्याउने व्यवस्था गरिने कम्पनीले जनाएको छ।

सामसङ नेपालका म्यानेजिङ डाइरेक्टर चाङ उक जङले नयाँ ग्यालेक्सी जेड सिरिजमार्फत नेपालमा प्रिमियम प्रविधि भित्र्याउनुका साथै ग्राहकको सम्पूर्ण स्वामित्व यात्रालाई सहज बनाउने उद्देश्य रहेको बताए।

उनका अनुसार अफोर्डेबिलिटीलाई छुटमा मात्र सीमित नगरी विभिन्न सुविधा र लाभलाई एकीकृत गरिएको छ। ग्राहकले योग्यता जाँचदेखि खरिद र उत्पादन प्राप्तिसम्म सहज अनुभव पाउने तथा पुराना उपकरणको मूल्यलाई समेत नयाँ स्वामित्व यात्रासँग जोड्ने कम्पनीको उद्देश्य रहेको उनले बताए।

यसैबीच, सामसङ नेपालले नयाँ ग्यालेक्सी जेड सिरिजको प्रि–अर्डर अगस्ट १३ देखि खुला गरेको छ। कम्पनीले VIP र सामान्य गरी दुई प्रकारका प्रि–अर्डर प्याकेज सार्वजनिक गरेको छ।

VIP प्रि–अर्डरमा अधिकतम ६८ हजार रुपैयाँसम्मका लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ। यसमा दुई वर्षका लागि एनसेलको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ग्यालेक्सी वाच ९ वा वाच अल्ट्रा२ खरिदमा १० हजार रुपैयाँ छुट, ६ महिनाका लागि Google AI Pro, निःशुल्क फोन कभरलगायतका सुविधा छन्।

त्यस्तै, सामान्य प्रि–अर्डर प्याकेजमा अधिकतम ५८ हजार रुपैयाँसम्मका लाभ उपलब्ध हुने जनाइएको छ। यसमा दुई वर्षको एनसेल डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ६ महिनाका लागि Google AI Pro र निःशुल्क फोन कभरलगायतका सुविधा समावेश छन्।

कम्पनीका अनुसार प्रि–अर्डरका सुविधा स्टक उपलब्ध रहुन्जेल लागू हुनेछन्।