फलफूल उत्पादक किसानलाई अनुदान


स्याङ्जा । स्याङ्जा जिल्लाका फलफूल उत्पादक किसानलाई गएको आर्थिक वर्ष २०८२÷८३ मा २ करोडभन्दा बढी अनुदान दिइएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइमार्फत फलफूल उत्पादक र पशुपालक कृषकलाई २ करोड ३३ लाख ४३ हजार रुपैयाँ अनुदान दिइएको हो । सुन्तला तथा कफी सुपरजोन, आँप–लिची, मसलाबाली, अदुवा–बेसार र भैँसी जोन कार्यक्रममा आबद्ध जिल्लाभरका कृषकलाई अनुदान प्रदान गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जानकारी दिएको छ । कार्यक्रमबाट ५८ सहकारी, ९० कृषक समूह, २ सय ८५ उद्यमी कृषक, ४ वटा कम्पनी र २ प्राविधिक विद्यालय गरी झन्डै ५ हजार कृषक प्रत्यक्ष लाभान्वित भएको जनाइएको छ ।

कार्यक्रमका अनुसार उन्नत प्रविधिसहित क्षेत्रफल विस्तारमा ४९ लाख २७ हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ । उद्यमशीलता विकास कार्यक्रममा ४३ लाख ७४ हजार रुपैयाँ अनुदान दिइएको छ भने सिँचाइ पूर्वाधार निर्माणतर्फ ४० लाख ५२ हजार रुपैयाँ दिएको कार्यक्रमले जनाएको छ ।

यान्त्रीकरण सहयोगमा २७ लाख ७ हजार र बगैँचा सुदृढीकरण तथा बाली संरक्षणतर्फ २१ लाख ७५ हजार रुपैयाँको अनुदान सामग्री दिइएको कार्यक्रम प्रमुख अजय अधिकारीले जानकारी दिनुभयो । त्यस्तै मासु निर्यात तथा भैँसी प्रवद्र्धनमा ११ लाख ९१ हजार रुपैयाँको पाडापाडी दिइएको छ भने साइलो बंकर निर्माणतर्फ १० लाख ६३ हजार नगद अनुदान दिइएको छ । गोठ सुधारतर्फ ९ लाख ३७ हजार रुपैयाँ दिएको कार्यक्रमले दाना बनाउन मेसिनरी खरिदमा ७ लाख १९ हजार रुपैयाँ दिएको जनाइएको छ । लेबलिङ तथा प्याकेजिङ क्षेत्रमा ७ लाख ९ हजार अनुदान दिएको कार्यक्रमले नर्सरी स्रोत केन्द्र स्थापनामा ६ लाख २४ हजार रुपैयाँ दिएको छ ।

शिक्षालयसँग व्यावसायिक उत्पादन साझेदारीमा ४ लाख ८१ हजार खर्च गरेको कार्यक्रमले दूध प्रशोधन सामग्री खरिदमा १ लाख ५१ हजार रुपैयाँ अनुदान दिएको छ । साना सिँचाइमा ९८ हजार रुपैयाँसँगै घाँसको बीउ खरिदमा ७३ हजार र चैंते धानको क्षेत्रफल विस्तारतर्फ २२ हजार अनुदान दिएको कार्यक्रमका सूचना अधिकारी तथा कृषि अधिकृत प्रतिभा बुढाथोकीले जानकारी दिनुभयो ।

गएको वर्ष सुन्तलामा ९३ हेक्टर, आँप–लिचीको १० हेक्टर, कफीतर्फ ७ हेक्टर तथा अदुवा–बेसारको ५ हेक्टरसहित १ सय ४५ हेक्टर क्षेत्रफल विस्तार गर्ने लक्ष्य राखेको कार्यक्रमले १ सय १५ हेक्टर क्षेत्रफल विस्तार गरेको जनाएको छ । त्यस्तै सिँचाइ पूर्वाधार निर्माण तथा मर्मततर्फ सुन्तला खेतीमा १३ हेक्टर, आँप–लिचीमा साढे दुई हेक्टर, कफीका लागि साढे एक हेक्टर तथा चैते धान प्रवद्र्धनका लागि साढे ८ हेक्टरमा सिँचाइ सुविधा पु¥याउन पूर्वाधार निर्माण गरिएको कार्यक्रमले दाबी गरेको छ ।

कार्यक्रममार्फत सुन्तला उत्पादक तथा पशुपालक कृषकलाई यान्त्रीकरणमा क्षमता विस्तारतर्फ २९ मिनी टिलर, १३ कम्बाइन मिल, दुईवटा थ्रेसर, प्रशोधन मेसिन, २ सय ९६ आरी, ३ सय ३१ सिकेचर, ६९ ह्यान्ड स्प्रे र ८७ चार्जिङ स्प्रे, तराजु, पानी ट्यांकी, निलोतुथो, क्रेट, कार्टुनसहितका ५० प्रतिशत अनुदानमा कृषि उपकरण हस्तान्तरण गरिएको कार्यक्रमले जनाएको छ । गएकै वर्ष चालू र पुँजीगत गरी ६ करोड ७० लाख १२ हजार कुल बजेटमध्ये ४ करोड ३६ लाख खर्च गर्दा कार्यक्रमको वित्तीय प्रगति ६५ प्रतिशत रहेको छ । गएको आर्थिक वर्ष कृषक प्रोत्साहन कार्यक्रममा करिब ७ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो भने चालू आर्थिक वर्ष २०८३÷८४ का लागि बजेट कटौती भएर २ करोड रुपैयाँमा सीमित भएको कार्यक्रम प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

सुन्तलाबाट १ अर्ब ३२ करोड आम्दानी ः
स्याङ्जामा गत आर्थिक वर्षमा सुन्तला बिक्रीबाट १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रकम कृषकले हात पारेका छन् । जिल्लाबाट २० हजार ८ सय ८२ मेट्रिक टन सुन्तला निर्यात हुँदा सुन्तला उत्पादक कृषकले १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रकम हात पारेका हुन् । गएको वर्ष जिल्लामा २३ हजार २ सय ३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने उत्पादन भएकामध्ये २ हजार ३ सय ५६ मेट्रिक टन सुन्तला घरायसी उपभोग तथा कोसेलीका रुपमा जिल्लामै खपत भएको जनाइएको छ । क्षेत्र विस्तारसँगै उत्पादन बढ्दै जाँदा सुन्तला कृषकको आम्दानीको मुख्य स्रोतका रुपमा स्थापित भएको छ ।

स्याङ्जामा सुन्तला सुपरजोन कार्यक्रम शुरु हुँदा आर्थिक वर्ष २०७३÷७४ मा ८ सय ८६ हेक्टर क्षेत्रफलमा सीमित रहेको सुन्तला खेती पछिल्लो तथ्यांकअनुसार २ हजार ४ सय ५० हेक्टर विस्तार भएको छ । थोरै संख्याका कृषकले सामान्यरुपमा उत्पादन गर्दै आएको सुन्तला एक हजारभन्दा बढी कृषकको व्यावसायिक खेती बनेको छ । सुन्तला खेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी लिने कृषकको संख्या जिल्लामा सयौँ पुगेको छ । जिल्लाका ९७ वडामध्ये झन्डै ९० वटा वडामा सुन्तला उत्पादन हुने गरेको छ ।