तवः समाजको नजरमा गथांमुगः चःह्रे

0
Shares

काठमाडौँ उपत्यकामा परम्परागतरुपमा मनाइने गथांमुगः चःह्रे असार–श्रावण महिनामा धान रोपिसकेपछि मनाइने चाड÷उत्सवमध्ये सबैभन्दा पहिलो चाड हो । यस सन्दर्भमा भन्नुपर्दा, काठमाडौँ उपत्यका पानीले भरिएर समस्या भएको बेला महामञ्जुश्रीले चोभारको डाँडा फोडेर पानीको निकास गरेको कुरा अवगत नै छ ।

त्यसपछिको काठमाडौँ उपत्यकाको भूमि संसारका उर्वर जमिनमध्ये दोस्रोमा पर्दछ । यहाँको हजारौँ रोपनी जग्गामा धान रोप्नका लागि किसानहरु घरमा ताला लगाएर महिनौँ दिनसम्म रोपाइँको काम गर्थे । महिनौँसम्म बन्द भएका घरहरुमा कीरा, फट्याङ्ग्रा, माकुरा इत्यादि तथा भूतप्रेतको बास हुन्छ भन्ने मान्यता थियो । त्यसैले गथांमुगःको दिनमा घरहरु सबै सफा गरी तोरीको गेडा तथा पहेँलो रायोका गेडालाई मकलमा राखी जलाएर कोठाका कुनाकाप्चामा त्यसको धुवाँबाट कीरा, फट्याङ्ग्रा मारिने चलन रहेको छ ।

यसै गरी भूतप्रेतलाई भगाउन भूतको पुतला बनाएर पूजा गरी, चौबाटोमा लगेर विसर्जन गर्ने चलन पनि छ । परिवारका सदस्यहरुलाई भूतले नछोओस् भनी फलामको औँठी लगाउने चलन छ । मानसिक रुपमा कमजोर मानिसलाई आत्मबल बढाउनलाई पनि उक्त औँठी अनिवार्य रुपमा लगाउने चलन रहिआएको छ ।

उपत्यकामा उदायहरुको बस्ती बाक्लो थियो । उदायहरुको नौ थरहरुमध्ये ताम्राकार एउटा थर हो । उनीहरुको काम सुन, चाँदी, तामा, पितल, फलाम आदिलाई विभिन्न आकार दिई सामानहरु बनाउने हो । गथांमुगःको लागि ताम्राकारलगायत शाक्यहरुले पनि उक्त औँठी बनाउँथे । तर पछि बिजुली बत्ती आइसकेपछि अनि घनाबस्ती बनेपछि भूतप्रतिको विश्वास पनि हटेर जान थाल्यो ।

परम्परागत रुपले चल्दै आएको कामलाई जीवित राख्न यस तवः (ताम्राकार) समाज, यँेले यस कार्यक्रमलाई निरन्तरता दिन २० नं. वडासँग सहकार्य गरी फलामको औँठी बनाउने प्रशिक्षण यही साउन १६ गते मरुटोल, पिगंननीमा ग¥यो । यस प्रशिक्षणमा २० जनाजति युवाहरुले भाग लिएका थिए ।

श्रावण २४, २५ र २६ गते सामानहरुको प्रदर्शन, बनाउने प्रविधि तथा औँठीको बिक्री गर्ने कार्यक्रम गरियो । २६ गते २० नं. वडाका अध्यक्ष राजेन्द्र मानन्धरको प्रमुख आतिथ्यमा समापन समारोह सम्पन्न भयो । सो अवसरमा यस्तो कार्यक्रमको निरन्तरता दिन र अन्य युवाहरुको रोजगारमूलक कामहरुलाई सहयोग गर्न वडा अध्यक्ष मानन्धरले सधैँ तत्पर रहने बताउनुभयो । उक्त कार्यक्रममा कामना न्यूज पब्लिकेसन्सका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठलाई विशेष अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।

तवः समाजका महासचिव लुमिन ताम्राकारले उद्घोषण, समाजका उपाध्यक्ष चिरिक शोभा ताम्राकारले स्वागत भाषण, संस्थापक अध्यक्ष अमिररत्न ताम्राकारले मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा नयाँ किसिमको प्रविधि अपनाएर तालिमहरु सञ्चालन हुनुपर्ने कुरामा जोड दिइएको थियो । सभाका सभापति तथा तवः समाजका अध्यक्ष प्रवेश मान ताम्राकारले परम्परालाई जोगाउन युवाहरुलाई रोजगारमूलक प्रशिक्षण दिन यस २० वडाबाट सहयोग भएकोमा प्रशंसा गर्नुभयो । उहाँले नयाँ प्रविधिको विकास गरी आर्थिक रुपमा सक्षम बनाउन वडाबाट अझ हौसला तथा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।