अमेरिकाको न्युयोर्कस्थित लङ आइल्यान्डमा दुर्लभ तर गम्भीर संक्रमण गराउन सक्ने ‘र्याबिट फिभर’को चौथो घटना पुष्टि भएको छ। सुफोक काउन्टीका स्वास्थ्य अधिकारीहरूले यस वर्षको चौथो संक्रमण पुष्टि गरेका हुन्।
‘र्याबिट फिभर’लाई चिकित्सकीय रूपमा तुलारेमिया भनिन्छ। यो ‘फ्रान्सिसेला टुलारेन्सिस’ नामक ब्याक्टेरियाका कारण हुने संक्रमण हो। संक्रमित किर्ना वा हरिणमाखेको टोकाइ, संक्रमित खरायो तथा अन्य जनावरको सम्पर्क, दूषित पानी वा खाना र संक्रमित धुलो वा सूक्ष्म कण सासमा जाँदा मानिसमा संक्रमण हुन सक्छ। मानिसबाट मानिसमा भने यो संक्रमण सर्दैन।
सुफोक काउन्टीमा पछिल्ला वर्षहरूमा पनि यस संक्रमणका घटना देखिएका छन्। सन् २०२३ मा तीन, २०२४ मा चार र २०२५ मा छ वटा घटना पुष्टि भएका थिए।
कस्ता लक्षण देखिन्छन्?
संक्रमण भएको सामान्यतया केही दिनपछि अचानक उच्च ज्वरो आउने, जाडो लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने र अत्यधिक थकान हुनेजस्ता लक्षण देखिन सक्छन्। किर्नाले टोकेको स्थानमा घाउ बन्ने र त्यस वरपरका ग्रन्थी सुन्निने तथा दुख्ने पनि हुन सक्छ।
गम्भीर अवस्थामा संक्रमण फोक्सोसम्म फैलिन सक्छ। यस्तो अवस्थामा खोकी लाग्ने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिन सक्छ।
कसरी बच्ने?
स्वास्थ्य अधिकारीहरूले बाहिर हिँड्दा शरीर ढाकिने कपडा लगाउन, किर्नाबाट जोगिन कीरा भगाउने औषधि प्रयोग गर्न र किर्नाले टोकेमा सकेसम्म छिटो हटाउन सुझाव दिएका छन्।
संक्रमित वा मरेका जनावर सम्हाल्दा पञ्जा प्रयोग गर्न तथा जंगली जनावरको मासु राम्रोसँग पकाएर मात्र खान पनि सुझाव दिइएको छ। समयमै पहिचान र उपचार भए ‘र्याबिट फिभर’को उपचार ब्याक्टेरियाविरुद्धका औषधिबाट गर्न सकिन्छ।











प्रतिक्रिया