पूँजी बजार र बैंकिङ क्षेत्रबारे लगानी फोरम सम्पन्न


काठमाडौँ।

नेपालको पूँजी बजार र बैंकिङ क्षेत्रको वर्तमान अवस्था, चुनौती, समाधान तथा आगामी सम्भावनाबारे छलफल गर्दै लगानी फोरम सम्पन्न भएको छ।

बाआमा कन्सल्टेन्ट सर्भिस प्रा. लिमिटेडको आयोजनामा काठमाडौंमा ‘नेपालको पूँजी बजार र बैंकिङ क्षेत्र : वर्तमान परिदृश्य, चुनौती, समाधान र छोटो बिक्री तथा इन्ट्राडे ट्रेडिङको भविष्य–जोखिम वा नयाँ अवसर ?’ विषयक लगानी फोरम आयोजना गरिएको हो।

फोरममा करिब २०० जना लगानीकर्ता, व्यापारी, वित्तीय क्षेत्रका पेशेवर, उद्यमी तथा बजारसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा पूँजी बजार विश्लेषक अजित खनाल, भूराजनीतिक विश्लेषक तथा पूर्वाधार उद्यमी अरुण सुवेदी, वित्तीय अर्थशास्त्री, लगानी बैंकर तथा वित्तीय सल्लाहकार मुक्ति अर्याललगायतले पूँजी बजार तथा बैंकिङ क्षेत्रका समसामयिक विषयमा धारणा राखेका थिए। भेटेरन बैंकर तथा वित्तीय सल्लाहकार परशुराम कुँवर क्षेत्रीको समेत कार्यक्रममा सहभागिता रहेको थियो।

फोरममा नेपालको पूँजी बजारको पछिल्लो अवस्था, बैंकिङ क्षेत्रका चुनौती, लगानीका अवसर, जोखिम व्यवस्थापन, नीतिगत व्यवस्था तथा बजारमा देखिएका नयाँ अभ्यासबारे छलफल गरिएको थियो। साथै छोटो बिक्री (Short Selling) र इन्ट्राडे ट्रेडिङको सम्भावना, जोखिम तथा त्यसले बजारमा पार्न सक्ने प्रभावबारे समेत विज्ञहरूले विचार राखेका थिए।

कार्यक्रममा मुख्य प्रस्तुति, विज्ञ प्यानल छलफल तथा सहभागीबीच अन्तरक्रिया गरिएको थियो। प्यानल छलफलमा बजारको वर्तमान अवस्था, उदीयमान प्रवृत्ति, नियामकीय पक्ष, जोखिम व्यवस्थापन र नेपालको पूँजी बजारका सम्भावनाबारे विस्तृत छलफल भएको आयोजकले जनाएको छ।

बाआमा कन्सल्टेन्ट सर्भिसका अनुसार फोरमको मुख्य उद्देश्य लगानीकर्ता, वित्तीय संस्था, बजार विश्लेषक तथा व्यवसायीबीच ज्ञान आदानप्रदान गर्दै लगानीसम्बन्धी सूचनामूलक संवादको वातावरण निर्माण गर्नु रहेको थियो।

आयोजकले फोरम कुनै पनि कम्पनीको शेयर खरिद–बिक्री सिफारिस गर्ने वा निश्चित प्रतिफलको ग्यारेन्टी गर्ने उद्देश्यले आयोजना नगरिएको जनाएको छ। कार्यक्रम डेटा आधारित विश्लेषण, लगानी शिक्षा तथा जिम्मेवार लगानी निर्णयमा केन्द्रित रहेको आयोजकको भनाइ छ।

कार्यक्रमले लगानीकर्ता, वित्तीय संस्था, बजार विज्ञ तथा व्यवसायीबीच सहकार्य र सम्बन्ध विस्तार गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।