अझै माद घटेको छैन, कृष्ण गजको

658
Shares

नवलपरासी । निकुञ्ज सुरक्षार्थ मानवीय जनशक्तिलाई उत्तिकै साथ र सहयोग दिँदै आएको २२ वर्षीय कृष्णप्रसाद गजको अझै माद घटेको छैन । शारीरिक भन्ने कि प्राकृतिक अवस्था, यौवन चढ्दै जाँदा कृष्ण गजले गत वैशाखदेखि नै हल्काफुल्का बैंसालु माद देखाउन थालेको माउते (महावत) सिकिन्दर चौधरीले बताउनुभयो ।

चौधरीका अनुसार गत असार २२ गते निकुञ्जकै काममा खटिएका बेला कृष्ण गजले आफू बस्दै आएको बाँदरझुला पोस्टबाट उत्तरतर्फ जाँदै गर्दा माउतेको निर्देशनलाई अवज्ञा गर्दै झर्काेफर्काे गर्न थालेपछि नजिकैको दिव्यपुरी पोस्टमा ल्याएर बाँधिएको हो ।

बैंसको उन्मादले मत्ता भएको कृष्ण गजले होसहवासै गुमाएर माउतेलाई पनि नटेरी आक्रमण गर्न थालेपछि ऊ अहिले ठूलै रूखको फेदमा बडेमानको सिक्रीमा जकडिएको छ । यौनकुण्ठा र मादले लट्ठिएको कृष्ण गजले आँखानजिकको भाग कनपट्टीबाट निरन्तर माद–रस चुहाइरहेको छ भने उक्त माद आफ्नै मुखमा पुग्दा त झनै उत्तेजित भई बाँधेकै बोटमा हान्ने गरेको माउते सिकिन्दरले बताउनुभयो ।
उहाँका अनुसार शुरू–शुरूमा त घाँस–पानी नै खाएन ।

अहिले भने दिएको खाने खुराक र १०–१५ बाल्टी पानी दिनहुँ पिउन थालेको छ, ज्यान पनि केही फेरिएर राम्रो हुँदै छ तर रिस र माद भने घटेको छैन । चितवन राष्ट्रिय निकुञ्जमा अढाइ दशक बढी सेवा गरिसकेका सिकिन्दर चौधरी कृष्ण जन्मनुअघि उसैकी आमा देवी कलीको सेवा सुसार गर्नुहुन्थ्यो, जंगलमा चराउनुहुन्थ्यो र निकुञ्जको काममा सँगसँगै खटिनुहुन्थ्यो ।

यसै क्रममा निकुञ्जभित्रकै जंगली भाले हात्तीबाट गर्भवती भएकी देवी कलीले २०६१ भाद्र कृष्ण जन्माष्टमीका दिन छावा जन्माएपछि उही छावाको नाम कृष्णप्रसाद गज राखिएको माउते सिकिन्दरले बताउनुभयो ।

भर्खर जन्मिएको पुन्टु कृष्ण गज आमा देवी कलीको काखमा हुर्कंदै, माउतेसँगै खेल्दै र रमाउँदै ठूलो हुँदै गएपछि निकुञ्ज प्रशासनले कृष्ण गजको रेखदेख तथा तालिम गराउनेसम्मको सबै जिम्मेवारी पनि उनै सिकिन्दरलाई दिएको थियो । जुन जिम्मेवारी सिकिन्दरले कृष्ण जन्मनुअघि देवी कलीकै रेखदेखमा निभाउनुभयो भने कृष्ण गजका लागि हालसम्म अनवरत निभाउँदै आउनुभएको छ ।

निकुञ्ज र वन्यजन्तुका संरक्षक राष्ट्र सेवक सिकिन्दर देवी कलीलाई पनि उत्तिकै माया र सम्मानभाव प्रकट गर्नुहुन्छ । भन्नुहुन्छ, ‘देवी कली अझ जीवित रहेको र उसकै छावा कृष्ण गजलाई पनि दिनहुँ दानापानी दिँदै छु । एक दिन त पक्कै कृष्णको माद घट्ला अनि सँगै पोस्ट फर्कने हो ।’
बताइएअनुसार जवान हात्तीमा माद चढेपछि उसले पोथी हात्तीसँग संसर्ग गर्न पाए उसको माद क्रमशः घट्दै जाने गर्दछ तर निकुञ्जको सुरक्षा र व्यवस्थापनमा खटिएका सरकारी हात्तीको भेट न त जंगली, न घरपालुवा कसैसँग पनि मिल्ने अवस्था रहँदैन ।

निकुञ्ज स्रोतका अनुसार सरकारी भाले हात्तीलाई चितवनमा प्रजननका लागि प्रयोग गरिँदैन पनि, त्यसैले भाले हात्तीको माद छुटाउन बाँधेरै राख्ने एउटै मात्र विकल्प हो, जुन विधि कृष्ण गजमाथि अपनाइएको छ । उसो त भालेले पोथी हात्ती नपाउँदाको अवस्थामा आफ्नै सेरोफेरोमा शक्तिशाली अर्काे मत्ताको संकेत वा गर्जनले पनि कतिपयको माद आफैँ घट्ने हुन्छ, अन्यथा मत्ता हात्तीको माद घट्न १ देखि ६ महिनासम्म लाग्ने गरेको कतिपय भेटेरिनरी डाक्टरको भनाइ छ ।