गुमुखोला भ्याकुरे हाइड्रोपावरको आईपीओ निष्कासन तयारी, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट


काठमाडौं।

गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले ५ लाख कित्ता साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत जारी गर्नका लागि आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष मित्रबहादुर श्रेष्ठ र आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको गुमुखोला भ्याकुरे जलविद्युत आयोजना कम्पनीले निर्माण गरेको हो। रन अफ रिभर (Run of River) प्रविधिमा आधारित उक्त आयोजनाको कुल जडित क्षमता ९५० किलोवाट रहेको छ।

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक करिब ५.६ गिगावाट आवर विद्युत उत्पादन भइरहेको छ। उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेशनमा जोडिएको छ।