दोर्दी र किसेदीमा माछा मार्न प्रतिबन्ध

0
Shares

लमजुङ । लमजुङको दोर्दीमा क्रियाशील शान्ति मिलन युवा क्लबले वातावरण संरक्षण तथा सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । क्लबका अध्यक्ष गोविन्द राना मगरको अध्यक्षतामा भएको आम भेलाले दोर्दी खोला र किसेदी खोलाको संरक्षणलाई प्राथमिकतामा राख्दै नयाँ कार्ययोजना अघि सारेको हो ।

नौथर सेरावरपरका आमा तथा बाबा समूह र युवाहरुको सहभागितामा भएको भेलाले स्थानीय जलस्रोत, प्राकृतिक सम्पदा तथा पर्यावरण संरक्षणका लागि दोर्दी खोला र किसेदी खोलामा हुने फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । विशेष गरी प्लास्टिकजन्य तथा सिसाजन्य फोहोर जथाभावी फाल्ने कार्य नियन्त्रण गरिने तथा बाहिरबाट आउने व्यक्तिहरुले नदी तथा आसपासका क्षेत्रमा फोहोर गर्ने गतिविधिमाथि निगरानी बढाइने जनाइएको छ ।

निर्णयअनुसार प्लास्टिक, सिसा तथा अन्य कुहिने÷नकुहिने फोहोरलाई तोकिएको डम्पिङ स्थलमा मात्र व्यवस्थापन गरिनेछ । साथै नदी तथा सार्वजनिक क्षेत्रको सरसफाइलाई निरन्तरता दिन क्लबले प्रत्येक आइतबार नियमित सरसफाइ अभियान सञ्चालन गर्ने जनाएको छ ।
स्थानीय जलचर तथा जैविक विविधताको संरक्षणका लागि दोर्दी र किसेदी खोलामा अवैधरूपमा माछा मार्ने कार्यलाई पूर्णरुपमा निषेध गरिएको छ । क्लबले विषादी, करेन्ट वा अन्य अवैध माध्यम प्रयोग गरी माछा मार्ने व्यक्तिलाई नगद ५ हजार रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको जनाएको छ ।

क्लबका अनुसार पछिल्लो समय नदी क्षेत्रमा बढ्दो फोहोर, जलप्रदूषण तथा प्राकृतिक स्रोतको दोहनका कारण वातावरणीय असर देखिन थालेपछि संरक्षण अभियानलाई कडाइका साथ अगाडि बढाइएको हो । क्लबले स्थानीयवासी, सरोकारवाला निकाय तथा युवाहरुलाई संरक्षण अभियानमा सक्रिय सहभागिताका लागि समेत आह्वान गरेको छ ।