सिद्धार्थ बैंकलाई अवार्ड


काठमाडौं, (नेस) ।

सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिन्याकल इनोभेसन अवाड्र्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट–डिजिटल फस्र्ट बैंकिङ’ विधामा ‘गोल्ड अवार्ड’ प्राप्त गरेको छ ।
विश्वभरका बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासको मूल्यांकन गरी प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रमा रहेको प्रतिबद्धता तथा ग्राहक केन्द्रित सेवालाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गरेको बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न डिजिटल सेवाको विस्तार गर्दै आएको छ। मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड तथा डिजिटल खाता सञ्चालनलगायत सेवामार्फत ग्राहकलाई छिटो, सरल र सुविधाजनक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकको दाबी छ।

बैंकका अनुसार उक्त अन्तर्राष्ट्रिय सम्मानले डिजिटल बैंकिङ क्षेत्रमा गरिरहेको प्रयासलाई थप ऊर्जा प्रदान गर्नुका साथै नवप्रवर्तनमा केन्द्रित भएर सेवा विस्तार गर्न प्रेरणा मिलेको छ । सिद्धार्थ बैंकले आगामी दिनमा पनि आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यावसायिक साझेदारीको सुदृढीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा केन्द्रित रहने जनाएको छ।