श्रृङ्गेश्वर गुफा संरक्षणमा पालिकाको पहल


दोलखा। 

दोलखाको कालिन्चोक गाउँपालिकाले वडा नम्बर– ८ मा रहेको श्रृङ्गेश्वर गुफा क्षेत्रको संरक्षण तथा पर्यटन प्रवर्धनको लागि पहल सुरु गरेको छ । 

उक्त क्षेत्रमा त्रेता युगका महान तपस्वि ऋष्यशृङ्गका पुत्र श्रृङ्गी ऋषिले तपस्या गरेको विश्वास गरिन्छ । जनश्रुती अनुसार तपस्याको लागि श्रृङ्गी ऋषि हिमालयको एकान्त तपो भूमिको खोजीमा निस्किएका थिए । यही क्रममा महादेवको बासस्थान रहेको कैलाश पर्वत तर्फ अघि बढ्दै जाँदा दोलखाको सुनखानी क्षेत्रमा पुगे र त्यही बसेर तपस्या गर्न थाले । 

अर्कोथरी जनश्रुति अनुसार अयोध्याका राजा दशरथको सन्तान प्राप्तिका लागि श्रृङ्गी ऋषिलाई पुत्रकामेष्टि यज्ञ गर्न आमन्त्रण गरिएको थियो । श्रृङ्गी ऋषिले उक्त यज्ञ सम्पन्न गरेपछि यज्ञको पायस (दूध) दशरथलाई दिए । त्यसपछि दशरथका चार सन्तान राम, लक्ष्मण, भरत र शत्रुघ्नको जन्म भएको विश्वास गरिन्छ । 

पछि रामले सितासंग तामाकोशीको तीरैतीर चर्नावती, देउलाङ्गेश्वर हुँदै शिवजीलाई भेट्न कैलाश पर्वत जान आफुहरुको जन्मका लागि पुत्रकामेष्टि यज्ञ गर्ने उनै श्रृङ्गी ऋषिलाई लिएर गएका थिए । सोही क्रममा शिवजीको दर्शन गरेर फर्किएपछि श्रृङ्गी ऋषि सुनखानी क्षेत्रमा अवस्थित श्रृङ्गेश्वर गुफामा बसेर तपस्या गर्न थाले भने राम र सिता काठमाडौँको बाटो हुँदै अयोध्या फर्किएका हुन् भनिन्छ ।

 श्रृङ्गेश्वर मन्दिर संरक्षण संस्थाका अध्यक्ष सुनखानीका स्थानीय रामजी घिमिरे अयोध्याका राजा दशरथको सन्तान नभएपछि सन्तान प्राप्तिको बरदान माग्न उनी श्रृङ्गी ऋषिले तपस्या गरिरहेको सुनखानी क्षेत्र आएर पुत्र बर माग्दै ऋषिको पाउमा दण्डवत् गरेको र सो क्रममा ऋषिले आफ्नो आँखाबाट झरेको आँशु पत्नीहरुलाई खुवाउनु भनेर दिएपछि दशरथका तीन पत्नीबाट चार सन्तान राम, लक्ष्मण, भरत र शत्रुघ्नको जन्म भएको जनश्रुति सुनाउँछन्  । पछि रामले महादेवको दर्शन गर्न कैलाश पर्वतमा जाँदा सुनखानीबाट श्रृङ्गी ऋषिलाई समेत संगै लगेको जनश्रुति प्रचलनमा रहेको घिमिरे बत्ताउँछन् ।

संस्कृतका अध्यता शान्तिकृष्ण श्रेष्ठ पुत्रप्राप्तिका लागि श्रृङ्गी ऋषिलाई भेट्न सुनखानी क्षेत्र आउनु भएका राजा दशरथले आफ्नो आशुले ऋषिको पाउ धुएको र ऋषिबाट प्राप्त जडिबुटी आफ्नो स्त्रीहरुलाई खुवाएपछि पुत्रलाभ भएको जनश्रुति सुनाउँछन् । 

कालिन्चोक गाँउपालिकाको वडा नम्बर– ६, ७ र ९ को सिमाना समेत रहेको उक्त क्षेत्रमा श्रृङ्गेश्वर ऋषिले तपस्या गरेको गुफा, नागको सीर मानिएको सिला, कालिन्चोक भगवतीको प्रतिमा, जट्टेश्वर महादेव– कालिका भगवती थान, बनझाँक्रि गुफा लगायतका धार्मिक एवम् सांस्कृतिक महत्वका गुफा तथा मठ– मन्दिर रहेका छन् । 

उक्त क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय केन्द्रको रुपमा विकास गर्न पालिकाले सडक तथा गोरेटो बाटो निर्माण, मन्दिर तथा गुफा संरक्षण, उक्त क्षेत्रको सांस्कृतिक महत्व झल्कने डकुमेन्ट्री निर्माण लगायतका काम गरिरहेको अध्यक्ष अर्जुन शिवाकोटीले बताए । 

आगामी आर्थिक बर्ष उक्त क्षेत्रको संरक्षण र प्रर्वद्धनको लागि २० लाख बजेट रहेको र त्यसबाट सडक लगायतका भौतिक संरचना निर्माण गरिने वडा नम्बर– ८ का वडा अध्यक्ष बालकृष्ण आचार्य बत्ताउँछन् । 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।