बानियाँटारमा रक्तदान कार्यक्रम सम्पन्न, १०४ जनाले गरे रगत दान


काठमाडौं। 

बानियाँटार युवा समाज, लायन्स क्लब अफ काठमाडौं बिहानी तथा विद्यानन्द स्कुलको संयुक्त आयोजनामा विद्यानन्द स्कुलको प्राङ्गणमा रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम सफल बनाउन सक्रिय सहयोग पुर्‍याएका सम्पूर्णलाई आयोजक संस्थाहरूले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

उक्त कार्यक्रममा १०४ जना स्वेच्छिक रक्तदाताहरूले आफ्नो अमूल्य रगत दान गरी जीवनरक्षाको लागि महत्त्वपूर्ण योगदान दिएका छन्। रक्तदानको यस पवित्र कार्यमार्फत धेरै बिरामीहरूलाई नयाँ जीवन दिने अवसर सिर्जना भएको आयोजकहरूले बताएका छन्।

बानियाँटार युवा समाजका अध्यक्ष प्रवीण बनियाले कार्यक्रमलाई सफल बनाउन सबैको ऐक्यबद्धता र उत्साहप्रति आभार व्यक्त गर्दै भने, “आजको कार्यक्रममा १०४ जना रक्तदाताहरूले सहभागिता जनाएका छन् । हाम्राे समाजमा नियमित रक्तदान संस्कार विकसित गर्न बानियाटार युवा समाजले हरेक तीन महिनामा टोखा नगरपालिका क्षेत्रभित्र निरन्तर रक्तदान कार्यक्रम गर्दै आइरहेका छौं।”

उनले थपे, “समाजलाई बलियो, सहृदय र उत्तरदायी बनाउने हाम्रो यो सानो प्रयासमा साथ दिनु भएका सबैलाई धन्यवाद र सम्मान प्रकट गर्दछु।”

कार्यक्रममा स्थानीय बासिन्दाहरू, समाजसेवी, शिक्षक, विद्यार्थी तथा युवा स्वयंसेवकहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। रक्तदान जस्तो पुण्य कार्यप्रति स्थानीय समुदायको सहभागिता र समर्थनले समाजमा सकारात्मक सन्देश फैलाएको छ।