काठमाडौं।
आयुर्वेद उपचार पद्धति सस्तो, प्रभावकारी र लाभदायक भएकाले यसलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
नेपाल पत्रकार महासंघ र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंको संयुक्त आयोजनामा आज काठमाडौंमा भएको अन्तरक्रिया तथा तनाव व्यवस्थापन कार्यक्रममा वक्ताहरूले आयुर्वेदको प्रयोग र प्रचारमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले एलोपेथिक उपचारभन्दा आयुर्वेदिक उपचार सस्तो र प्रभावकारी भएको बताउँदै यस क्षेत्रमा राज्यको पर्याप्त ध्यान र बजेटको व्यवस्था नहुँदा सेवा विस्तारमा समस्या भइरहेको धारणा राखे। उनले सञ्चार माध्यमहरूलाई व्यवहारिक अभ्यासमार्फत आयुर्वेदको प्रचार र जनचेतनामा सघाउन अपिल गरे।

कार्यक्रममा आयुर्वेदिक चिकित्सक डा महेश्वर भट्टले मानसिक स्वास्थ्य समाजको आधार भएकाले मानसिक रूपमा स्वस्थ रहन सकारात्मक सोच आवश्यक हुने बताए। उनले तनाव व्यवस्थापनका उपायहरू र दैनिक जीवनमा अपनाउन सकिने व्यवहारिक विधिहरूको जानकारीसमेत दिएका थिए।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता शाहले आयुर्वेदिक पद्धतिले नेपालीलाई सबल र निरोगी बनाउन मद्दत गर्ने भएकाले यसको प्रचारप्रसारमा लाग्नुपर्ने बताइन्। महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष सञ्जीव शुभचिन्तक र कार्यसमिति सदस्य उमा शर्माले पत्रकारहरूको कार्यसमय अनिश्चित भएकाले तनाव बढी हुने र यस्ता कार्यक्रमले तनाव व्यवस्थापनमा मद्दत गर्ने विश्वास व्यक्त गरे।

चिकित्सालयका डा चन्द्रवली शाहका अनुसार चालू आर्थिक वर्षमा चिकित्सालयले २३ हजार ८२३ जनालाई पञ्चकर्म, योग, ज्येष्ठ नागरिक सेवा, शल्यक्रिया, अकुपन्चर र फिजियोथेरापीलगायत सेवा प्रदान गरेको छ। तर चिकित्सालयको आफ्नै भवन र पर्याप्त जनशक्ति नहुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको उनले जानकारी दिए।
प्रतिक्रिया