देश चलाउन नजान्ने, देशको माया नभएका, जनताको माया नभएकाको हातमा देश पर्न गएकोले देश चिन्ताजनक अवस्थामा छ । देशका होनाहार युवालाई विदेशिन बाध्य यिनैले पारेका हुन् । देशमा उधोगधन्दा, व्यापार व्यवसाय, आम्दानीका स्रोतहरु सुक्दै गएको अवस्था छ । देशका शिक्षित वर्गले अनुभव र पढेर सिकेका विषय विदेशमा प्रयोग गरिरहेका छन् । देशमा कुनै कलकारखाना, उद्योगधन्दा नभएकाले शिक्षित जनशक्तिले आफूले सिकेका सीप स्वदेशमा प्रयोग गर्न पाएनन् । राजनीतिक नेताहरु विदेशीको इशारामा चलिरहेका छन् । वैदेशिक नीति समान देखिँदैन ।
दुई देशको तरुलको रुपमा बसेको सानो देशलाई ठूला देशले थिचोमिचो गरिरहेको अवस्था छ । राजनीतिक दलका प्रमुख नेताहरु देशको मायाभन्दा विदेशी दलाली गरेर पैसा आर्जन गर्ने धन्दामा लागेको देखिन्छ । विभिन्न सामाजिक संघसंस्था, अदालत, प्रहरी प्रशासन, विभिन्न कार्यालयहरुलाई मुठीमा राखेर प्रमुख नेताहरुले आफू अनुकूल निर्णय गराइरहेका छन् र आफ्नो हैकम चलाइरहेका छन् । वडादेखि केन्द्रसम्मका जनतालाई विभिन्न प्रलोभनमा पारेर भोट बटुलिरहेका छन् । गरिब जनता आज खाएँ भोलि के खाऊँ भन्ने अवस्थामा छन् ।
राज्यका विभिन्न क्षेत्रहरु बिचौलियाको हातमा चलेको छ । न्याय पाउने ठाउँमा न्यायका लागि अनुरोध गर्न जाँदासम्म आर्थिक चलखेल हुन्छ । त्यसैले गरिब जनता न्यायिक क्षेत्रबाट विमुख हुनुपर्ने अवस्था छ । त्यसैले देशको अहिलेको समग्र स्थिति दयनीय र चिन्ताजनक अवस्थामा पुगेको छ । टोल–टोलमा गुन्डागर्दी भइरहेको अवस्था छ । देश सामाजिकरुपमा विकृत हुँदै गएको छ । दलहरुले प्रजातन्त्रको नाममा, व्यवस्थाको नाममा जनतालाई ठगिरहेका थिए र अब पनि जनतालाई ठग्न गणतन्त्रको वकालत गरिरहेका छन् । त्यसैले अब जनता सधैँ झुक्किने छैनन् ।
राजाले अब राज्यको जिम्मेवारी सम्हाल्नु अनिवार्य भयो । देशमा भ्रष्टाचार भइरहेको बेला, जनताले आँसु बगाइरहेको बेला, बिचौलियाहरु अझ मजबुत भएको बेला, गरिब जनताले न्याय नपाएको बेला, विकास निर्माण ठप्प भएको बेला, विदेश सम्बन्ध बिग्रँदै गएको बेला राजा ज्ञानेन्द्र सक्रिय हुनु अनिवार्य थियो, अहिले सक्रिय हुनुभयो । वास्तवमा भन्नुपर्दा पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यलाई जोडेर नेपाल निर्माण गर्नुभएको सबैलाई सर्वविदित नै छ ।
पृथ्वीनारायण शाहको आफ्नै सन्तान हुन् राजा ज्ञानेन्द्र । आफ्नो पुर्खाले आर्जन गरेको देश बिग्रिन लाग्दा राजा ज्ञानेन्द्र सक्रिय हुनु स्वाभाविकै हो ।अब नेताहरुको विदेशमा रहेको सम्पत्ति राष्ट्रियकरण गरी विकास निर्माणमा लगाउनुपर्छ । अतः जेठ १५ गतेदेखि राजसंस्थावादीहरु निर्णयक आन्दोलनमा उत्रिनु स्वाभाविक हो । अब गणतन्त्रका नेताहरुको हातबाट सत्ता खोस्ने दिन आउँदै छ । अब हाम्रो आन्दोलन निर्णायकरुपमा अघि बढ्दै छ । जनताले चाहे भने कुनै पनि बेला राजसंस्था फर्किनेछ । राजसंस्था पुनस्र्थापित नगरी हाम्रो आन्दोलन रोकिँदैन । राजाले इमानदारीपूर्वक जनधनको क्षति नहोस् भनेर त्यति बेला राजगद्दी त्याग्नुभएको हो । अब त्यसरी नै शान्तिपूर्णरुपमा दलहरुले राजालाई श्रीपेच फिर्ता दिनुपर्छ ।
देशका युवाशक्तिलाई यहाँ काम गर्न नसक्ने वातावरण निर्माण गरी यहाँ बसेका सोझा जनतालाई झुक्याएर भ्रष्टाचार गरिरहेको अवस्था छ । कलकारखाना यिनैले बेचेका हुन् । जताततै अराजकता यिनैले गर्दा भएको हो । हरेक निकायमा यिनै गणतन्त्रवादीले लुटिरहेका छन् । त्यो लुटेको सम्पत्ति मात्र खर्च गर्ने हो भने देश विकास हुने थियो । जनतालाई सस्तो आश्वासनमा भुलाएर देशबाट लुटेको धन स्वीट्जरल्यान्डमा राख्ने गरेको अब जनताले बुझिसकेका छन् । देशको यो अवस्थामा जनता संगठित र आन्दोलित हुनुपर्ने अवस्था छ । जबसम्म जनताले बुझ्दैनन्, तबसम्म गणतन्त्रवादीहरुले देश यसरी नै लुटिनै रहनेछन् । शिक्षा, स्वास्थ्य, रोजगारी क्षेत्रलाई मजबुत पार्न पनि राजासहितको व्यवस्था आवश्यक छ । अब सनातन हिन्दुहरु आन्दोलित हुन आवश्यक छ । यदि उनीहरु आन्दोलित भए भने अब देशमा राजसंस्था र हिन्दुराज्य एकैपटक पुनस्र्थापना हुनेछ ।
देशमा आउने विभिन्न मेसिन, पार्टपुर्जा, कच्चा पदार्थहरु बोर्डरबाट भन्सार तिरेर आयात गरिन्छ । त्यसैले ती सामग्रीको बढी मूल्य पर्ने हुन्छ । तर त्यही सामान छिमेकी राष्ट्रबाट चोरी निकासी भएर आउँदा सस्तोमा आउने भएपछि देशका उत्पादनकर्ताहरु पनि धराशयी हुँदै गएको अवस्था छ । यसै गरी देशको कृषिमा काम गर्ने युवाशक्ति विदेशिरहेका छन् । देशमा उत्पादन नभएपछि विदेशबाट ल्याउनुपर्छ । त्यसैले मूल्य बढ्नु स्वाभाविक हो । त्यसमाथि विदेशी खाद्यान्न नुन, तेल, चामल, फलफूलमा समेत केमिकलको प्रयोग गरेर मिसावट गरिएको पाइन्छ । त्यसको फलस्वरुप जनतालाई विभिन्न रोग लागिरहेको छ । गरिब जनताले नुन, तेल, चामललगायतका वस्तु किन्न सक्ने अवस्था छैन । महँगी नियन्त्रण गर्न बनेका सरकारी संयन्त्र मुकदर्शक भइरहेको देखिन्छ ।
युवाशक्तिको विदेश पलायन, विभिन्न क्षेत्रमा महँगो कर, नेताहरुलाई जनताप्रति माया नहुनु, भ्रष्टाचार बढ्दै जानु, नेताका नातागोताले विभिन्न ठाउँमा पेवाको रुपमा सम्पूर्ण ठाउँमा कृकृत्य गर्नु, कुनै पनि ठाउँमा अनुगमन नहुनुजस्ता कारणले देश विकास नभएको हो । शिक्षा क्षेत्र अनुसन्धानमूलक नहुनु, व्यावहारिक नहुनु र राम्रो शिक्षाका लागि विदेश जानुपर्ने र यहीँ पनि निजी स्कुल क्याम्पसमा पढाउनुपर्ने बाध्यता रहेको छ । त्यसमाथि देश हाँक्ने दलका नेताहरुको अदूरदर्शिताका कारण देश विकास नभएको हो । नेपालमा उत्पादन भएका जडीबुटीहरु सस्तोमा विदेश पैठारी हुनु तर विदेशबाट महँगोमा औषधि किन्न परिरहेको छ । त्यसैले स्वदेशमै औषधिजन्य नरम नीति ल्याउनुपर्छ । प्राकृतिक उपचार र प्राकृतिक शिक्षा नेपालमै हुनु आवश्यक छ । त्यसैले राजा नआई शैक्षिक नीति फेरिएलाजस्तो देखिँदैन ।
त्यसो त राप्रपा स्थापनाकालदेखि राजावादी र हिन्दुवादी पार्टी हो । अरु खोलिएका पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने बुझेर नै हाम्रो विधानमा पनि यही कुरा उल्लेख गरिएको हो । अब हामी हिन्दु राज्य र राजसंस्था पुनस्र्थापना गर्न सडक र सदनबाट आन्दोलित भइरहनेछौं । हाम्रो सम्पूर्ण संयन्त्र आन्दोलनमुखी बनाइरहेका छौं । त्यति बेला जनताको बलमा गणतन्त्र आयो । अब जनताकै बलमा राजासहितको प्रजातन्त्र बहाली हुँदै छ । त्यसैले गणतन्त्र देश र जनताको हितमा थिएन भन्ने कुरा अहिले पुष्टि भएको छ । त्यसैले राप्रपाले टोल–टोल, वडा–वडा, क्षेत्र–क्षेत्र र जिल्ला–जिल्लाका जनतालाई राजसंस्थाबारे बुझाउँदै आएको छ । अब हामी निर्णायक आन्दोलनमा छौं ।
यतिखेर देश र जनताको माया गर्ने, शिक्षित, अनुभवले परिपूर्ण भएको, स्थानीय जनताको समस्या बुझेको, निःस्वार्थ भावनाले देश बचाउनुपर्छ भन्ने असल भावना बोकेको व्यक्ति देशलाई आवश्यक छ । राजसंस्था र सनातन हिन्दु राज्य अहिलेको आवश्यकता भएको छ । यस बेला जनताको चाहना र समय–परिस्थिति पनि यही छ । त्यसै कारणले देश बचाउनका लागि राजावादी सनातन हिन्दुवादी र राष्ट्रवादीहरुलाई राप्रपाको नेतृत्वमा हुने आन्दोलनमा सरिक हुन आह्वान गरिन्छ ।
अब हामीलाई राजसंस्थावादीहरुको साथ चाहिएको छ । देवीदेवतालाई आफ्नो शिरमा राख्ने हिन्दुहरु हाम्रो साथमा छन् । राजा ज्ञानेन्द्रको हामीलाई एक इशारा मात्र चाहिएको छ, हामी टाउकोमा कफन बाँधेर सडकमा उत्रिन तयार छौं । अब हिजोका के कांग्रेस, के कम्युनिस्ट, कतिपय नागरिक राजा मान्न तयार भएर बसेको अवस्था छ । जनताको अपार माया भएकाले राजावादीहरु डराउनुपर्ने अवस्था छैन । पूर्वप्रधानमन्त्री माधव नेपालसम्म अख्तियारको फन्दामा परेको देखिँदा गणतन्त्रवादी कस्ता रहेछन् भन्ने छर्लंग भएको छ । अरु ठूला नेता पनि अख्तियारमा पर्ने हामीले देखेका छौं, बुझेका छौं ।
गणतन्त्रवादीहरुले गणतन्त्र आएको यो १८ वर्षको अवधिमा के गरे ? काण्डैकाण्डमा मुछिएका छन् । जानेसम्म, बुझेसम्म लगातार देश लुटिरहेका छन् । यो कुरा अब जनताले बुझिसकेका छन । जनता अहिलेभन्दा त देश राजा हुँदा राम्रो थियो भनिरहेका छन् । अधिकांश जनताको यही अभिमत छ । गरिब जनताको सेवा गर्छु भनेर आएका गणतन्त्रवादीले महल ठड्याए । चप्पल लगाएर हिँड्ने नेताहरु पजेरोमा हिँड्छन् । यस्तो अवस्थामा राजसंस्था बहाली गर्न हामीले गरिरहेको आन्दोलन गरिबको लागि हो, सबै जनताको लागि हो । नयाँ बजेट आउँछ, धनीलाई पोस्छन्, गरिब जनतालाई करमाथि कर थोपरिन्छ, कर्मचारीको तलब बढाइँदैन । हुँदाहुँदा वृद्ध भत्ता पाउने उमेर पनि गणतन्त्रवादीले बढाए । त्यही वृद्ध भत्ताबाट गुजारा चलाइरहेका गरिब जनताले के गर्ने ? अब हरेक किसिमबाट गणतन्त्र असफल भएको छ ।
जनता कांग्रेस, कम्युनिस्टको सस्ता नारामा फसे । राप्रपा जन्मजात राजावादी पार्टी हो । अब हामी गणतन्त्रवादीका कुनै पनि धम्कीमा नडराई संघर्षको मैदानमा उत्रिन्छौं । हिजोको अवस्था अब छैन । बागमतीमा धेरै पानी बगिसकेको छ । जताततै राजावादी छन् । सडकमा नउत्रे पनि, घरमै बसेर भए पनि जनताले हाम्रो आन्दोलनलाई साथ र सहयोग गरिरहेका छन् । कुनै पनि बेला लाखौंलाख जनता सडकमा उत्रँदै छन् । जहाँ राजा, त्यहाँ हामी । राजा भएको ठाउँ विकास हुँदैन, स्वतन्त्रता पाइँदैन भन्नु गलत प्रचार हो । बेलायत, जापानसहितका दर्जनौं देशमा अझै राजसंस्था छ । त्यहाँका जनता राजालाई आफ्नो आमा–बुबाजस्तो सम्झिन्छन्, हामी पनि राजालाई आफ्नै अभिभावकका रुपमा लिन्छौं । देश विकास गर्न, देशमा शान्ति सुशासन ल्याउन, राजसंस्था चाहिन्छ । त्यसैले हाम्रो आन्दोलन हरेक किसिमले आवश्यक र सान्दर्भिक छ । यो निर्णायक युद्ध हो ।
(लेखक डा. कार्की राप्रपाका वरिष्ठ केन्द्रीय सदस्य हुनुहुन्छ ।)
प्रतिक्रिया