हेटौंडा ।
हेटौंडामा वडा अध्यक्षहरुमाथिको शारीरिक आक्रमण रोकिएको छैन । दोहोरिँदै गरेका वडा अध्यक्षमाथिको आक्रमणका घटनाले स्थानीय तहमा सुरक्षामाथि विशेष ध्यान दिनुपर्ने खाँचो देखिएको छ ।
घटनाले जनप्रतिनिधिको भौतिक सुरक्षामा प्रश्न खडा गरेको छ । स्थानीय सरकारका प्रतिनिधि योजना अनुगमन वा समस्या समाधानका क्रममा आक्रमणमा पर्ने क्रम बढ्नुले जनप्रतिनिधिको आत्मबल कमजोर बनाउने सम्भावना बढेको हो ।
वडा–१ अध्यक्ष-नगर प्रवक्ता सबिन न्यौपानेमाथि आक्रमण भएको १६ दिनपछि हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलमाथि पनि कुटपिट भएको हो । बाटो मर्मतमा रहेको स्थानमा एक महिलाले आफूमाथि हातपात गरेको भन्दै उनले बिहीबार पालिकामा पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए।
लामो समयदेखि नबनेको सडक मर्मत गर्न माटो झिकेको र माटो सार्वजनिक स्थानमा लैजानुपर्छ भन्ने विषयमा कुरा गर्दै गर्दा बिहीबार विहान करिब ९ः३० बजे मञ्जु लामाले भिडियो बनाइरहेकी थिइन् । बारम्बार भिडियो नबनाउन आग्रह गर्दा अटेर गरेपछि मोबाइल हटाउने क्रममा मोबाइल भुर्इंमा झरेपछि आफूमाथि कुटपिट भएको उनले बताए ।
‘जनप्रतिनिधिलाई जसले जे गर्दा पनि हुन्छ भन्ने होइन । हामीलाई काम गर्ने क्रममा बारम्बार सांकेतिक हमला भइरहेको छ । लामाले माटो बेच्न खोजेकी थिइन् । मैले नदिएपछि घटना घट्यो,’ उनले भने ।
पालिकाकी मेयर मीना लामा भन्छिन्–जनप्रतिनिधिलाई बारम्बार आक्रमण भयो, अब हामी यो सहँदैनौं । हामी सबै जनप्रतिनिधिले शुक्रबार पेनडाउन गर्छौं । जनप्रतिनिधिले कुनै सेवा दिने छैनन् । हामी जिल्ला प्रशासनअगाडि हुनेछौं । मेयर लामाले वडा अध्यक्षमाथिको आक्रमण गम्भीर र आपत्तिजनक भएको र ज्यानै लिने शैलीको आक्रमण कदापि स्वीकार्य नभएको बताइन् ।
हेटौंडा उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले अध्यक्ष सिग्देलमाथि भएको आक्रमणको भत्सर्ना गरेको छ । बिहीबार साँझ उपमहानगरमा बसेको पालिका बैठकले वडा अध्यक्ष सिग्देलमाथि आक्रमण गर्ने दोषीउपर कारबाहीको माग गरेको छ । बैठकले यस्ता आक्रमण गैरराजनीतिक, नियोजित भएको भन्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक श्यामु अर्यालले दोषी लामालाई नियन्त्रणमा लिइएको बताएका छन् । लामा निर्माण व्यवसायी भएको नगरपालिकाले जनाएको छ ।
प्रहरीका अनुसार काभ्रे जिल्लाको रोशी गाउँपालिकाकी लामाले वडा अध्यक्षमाथि आक्रमण गरेकी हुन् । वडा अध्यक्षले सडक निर्माणका विषयमा धारणा राखिरहँदा लामाले भिडियो खिच्न थालेपछि रोक्न आग्रह गर्दा विवाद चर्किएको र त्यसक्रममा आक्रमण भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
असार ४ गते बुधबार दिउँसो करिब पौने ४ बजेतिर हेटौंडा–१ का वडा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै मसी छ्यापेर नेमप्लेटले टाउकोमा प्रहार गरिएको थियो । न्यौपानेमाथि चाइनाक्वार्टरस्थित वडा कार्यालयमा अपरिचित ३–४ जनाको कालो पोशाक र मास्क लगाएको समूहले फाइल हेर्ने बहानामा उहाँमाथि मोबिल छ्यापेर कुटपिट गरेका थिए । उनीहरु पक्राउ परेका छैनन् ।
घटनालाई मकवानपुरका प्रमुख राजनीतिक दलहरुले लोकतन्त्रविरोधी गतिविधिको संज्ञा दिँदै दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् । संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ–समस्याको समाधान वैचारिक बहस र संवादबाट खोजिनुपर्छ, हिंसात्मक गतिविधिले लोकतान्त्रिक मूल्य र सँस्कारमाथि आघात पु¥याउँछ । विज्ञप्तिमा घटनाको कडा निन्दा गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनसँग माग गरिएको छ ।
प्रतिक्रिया