रौतहट ।
पक्राउ पुर्जी जारी भएको एक महिना बितिसक्दा समेत एक सरकारी कर्मचारी पक्राउ पर्न नसक्दा पीडितपक्ष चिन्तित बनेका छन् । इलाका प्रहरी कार्यालय गरुडाले ठगी आरोपमा अनुसन्धानका लागि काठमाडौँस्थित नापी कार्यालय डिल्लीबजार अन्तर्गत टोखा टोली प्रमुख सञ्जय साहलाई पक्राउ गर्न जिल्ला अदालत गौर बाट पक्राउ पुर्जी लिएपनि पक्राउ नगर्दा पीडित चिन्तित बनेका हुन ।
उनीमाथि जेठ १३ गते पक्राउ पुर्जी जारी भएपछि कार्यालयमा बिदा लिएका थिए । ठगी आरोपमा नापी अधिकृत साहसहित दुर्गाभगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुण साह, काठमाडौँ नागार्जुन–४ का विमलादेवी श्रेष्ठ र उनका छोरा धीरज श्रेष्ठविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिइएको थियो । पक्राउ पुर्जी जारी गरिएका विमला श्रेष्ठको भने निधन भैसकेको छ ।
काठमाडौंको नागार्जुन–४ का विमलादेवी श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन नापी अधिकृत साह र पीडित चौधरीले २ करोडको संयुक्त लगानीमा खरिद गरेपनि उक्त जमिन नापी अधिकृत साहको नाममा रजिष्ट्रेशन ( पास ) गरेकोमा पीडित चौधरीलाई थाहै नदिई ०८०-०८१ मा नापी अधिकृत साहले चार कित्ता बनाई चार जनालाई बिक्री गरेर ठगी गरेको आरोप लागेको हो ।
साझेदारीमा खरिद गरिएको जग्गा नापी अधिकृत साहले एकलौटी बिक्री गरेर १ करोड १० लाख ठगी गरेको उजुरी गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गराएपछि उनी सहितकामाथि पक्राउ पुर्जी जारी भएको थियो। तर, लामो समय बितिसक्दा समेत उनीहरु पक्राउ नपरेपछि पीडितपक्ष चिन्तित बनेका छन्। दुर्गाभगवती गाउपालिकाका पूर्वअध्यक्ष साहले भने पीडित संग १० लाख लिएको र पक्राउ पुर्जी जारी भएपछि पीडितलाई फिर्ता गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीले जग्गाधनी विमला श्रेष्ठको छोरा धीरज श्रेष्ठलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडेको थियो । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले साहसहितलाई पक्राउ गर्न सम्बन्धित प्रहरी कार्यालयमा पत्राचार गरिएको बताए।
नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरले पक्राउ पुर्जी जारी भएको नापी प्रमुख साह पक्राउ नपर्नुको कारण बुझने बताए । पीडित चौधरीले भने प्रहरीले पक्राउ पुर्जी जारी गरेर मौन बस्दा आफू झनै अन्यायमा परेको बताए । जग्गा खरिद बिक्रीमा नापी अधिकृत साहको बदनियत देखिएकाले ठगीमा अनुसन्धानको प्रक्रियामा रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
नापी कार्यालय डिल्लीबजारका निमित्त प्रमुख प्रकाश ओलीले टोखा प्रमुख साह असार १५ सम्म बिदामा बसेको भएपनि अझै कार्यालयमा हाजिर नभएको बताए।
नापी अधिकृत साह ०७८ सालमा रौतहटको चन्द्रपुरस्थित नापी कार्यालयमा प्रमुख पदमा कार्यरत रहँदा अकुत सम्पत्ति कमाएको आरोप रहेको छ । उनले आफू र आफना परिवारका नाममा काठमाडौँ लगायतका स्थानमा घर, घडेरी जोडेको आरोप रहेको छ । पीडित लगायतले नापी अधिकृत साहमाथि अकुत सम्पत्ति जोडेकोमासमेत अनुसन्धान हुनु पर्ने माग राखेका छन् ।
प्रतिक्रिया