बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ जानकीनगर स्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापक सहकारीमा आर्थिक अनियमितता गरी फरार भएका छन् । सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा, उपाध्यक्ष बलराम न्यौपाने, कोषाध्यक्ष सुरेन्द्र बज्राचार्य र व्यवस्थापक वसन्त पराजुलीले सहकारीको करिब ३० करोड रकम हिनामिना गरेको प्रारम्भिक अनुमान रहेको वडा नं. ३ का वडाध्यक्ष कल्याण पौडेलले बताए ।
सहकारीका सञ्चालक तथा व्यवस्थापक फरार भएसँगै सहकारीको कार्यालयमा रहेका खातापाता,अभिलेख, कागजात लगायतका सामग्रीको सुरक्षार्थ वडा कार्यालयले प्रहरीको रोहबरमा तालाबन्दी गरेर राखेको छ ।
करिब एक हजार नौ सय सेयर सदस्य रहेको सो सहकारीमा करोडौँ करोड रुपैंयाँ एकैं व्यक्तिले राखेको समेत बुझिएको छ । सहकारी समस्याग्रस्त रहेको आशंकामा आन्तरिक लेखापरीक्षण गर्दा करिब ३० करोड हिनामिना भएको बताइएको छ । मंगलबार राति करिब १२ बजे वडाको रोहबरमा कार्यालयमा तालाबन्दी गरिएको हो ।
यस क्षेत्रका सामाजिक अगुवा व्यक्तिहरुले नेतृत्व गरेको सहकारीमा यसरी अनियमितता भएपछि सेयर सदस्यहरु चिन्तामा परेका छन् । त्यस्तै सहकारीमा बृद्ध भत्ता बुझेर जम्मा गरेको रकमसमेत हिनामिना भएको भन्दै पीडित राम प्रसाद गौतम र राम प्रसाद धितालले यसरी दुखेसो पोख्छन्।
रुपन्देहीमा विभिन्न सहकारी संस्थाहरु एकपछि अर्को समस्याग्रस्त हुँदै जाँदा पछिल्लो पटक डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको घटना बाहिर आएको हो । रुपन्देहीमा बचतकर्ताको रकम हिनामिना गर्ने यो १२ औं सहकारी बनेको छ । सहकारीका सञ्चालक व्यवस्थापक फरार भएपछि स्थानीय शेयर सदस्यहरु बीच रुवावासी नै चलेको छ ।
२०५० सालमा स्थापना भएको सहकारीले खासगरी दूध सङ्कलन र बिक्रीको कारोबार गरिरहेको छ । सहकारीको तानसेनसम्म दूध सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन छ ।
प्रतिक्रिया