हेटौंडा ।
सत्तामा रहेकै पार्टीका सांसद्हरुको चित्त बुझाउन नसक्दा देखिएको बजेटमाथिको विवादका कारण बागमती प्रदेशसभा बैठक लगातार सरेको स¥यै छ । सामान्य सांसद्हरु भने हेरेको हे¥यै भएका छन् ।
सत्तारुढ दलहरु नै सदन सुचारु गर्न सकारात्मक नदेखिएपछि १९ गते बिहीबार विहान ११ बजे बस्ने गरी प्रदेशसभा बैठक स्थगित गरिएको छ । जबकि, असार १ गते प्रस्तुत बजेटमाथिको छलफल नै शुरु हुन सकेको छैन ।
प्रदेश सरकारको नेतृत्व गरिरहेका कांग्रेस र एमालेबीच सहमति नै नजुट्दा सोमबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको थियो । कांग्रेस सांसद्का अनुसार अधिकांश सांसद्हरु अर्थमन्त्री कुन्दनराज काफ्लेप्रति खनिएका थिए ।
एमालेले पनि संसदीय दलको बैठक बसेर स्पष्ट धारणा तय गर्न नसकेको अवस्था छ । सत्तामा रहेका दुई राजनीतिक दलभित्र मन्त्री र सांसद्हरुबीच असन्तुष्टि बढ्दा बजेटमाथिको छलफल अन्यौल बनेको छ । प्रदेशको नेतृत्व नेपाली कांग्रेसका बहादुरसिंह लामाले सम्हालिरहेका बेला बजेट ल्याउने अर्थ मन्त्रालयको जिम्मेवारीमा पनि कांग्रेसकै मन्त्री काफ्ले छन् । तर, बजेटका विषयमा विवाद सिर्जना भएपछि कांग्रेसभित्र मन्त्री र सांसद्हरु दुई धारमा विभाजन भएका छन् ।
काफ्ले र मुख्यमन्त्री लामाको भूमिका कमजोर भएको आरोप सांसद्हरुको छ । बजेट कस्तो बनाउने, कुनकुन योजनालाई प्राथमिकता दिने, अर्थमन्त्रीको अधिकार कहाँसम्मको हो भन्ने विषयमा मुख्यमन्त्री लामा कडारुपमा प्रस्तुत नहुँदा अर्थमन्त्री काफ्लेले मनलाग्दीढंगबाट बजेट ल्याएको कांग्रेसका सांसद् बताउँछन् ।
प्रदेशको बजेटमाथि छलफल प्रारम्भ हुन नसक्नुमा सत्तारुढ दल नेकपा एमालेका सांसद्बीच पनि उत्तिकै विवाद कारक छ । बजेट निर्माणका बेला कांग्रेसले एमालेसँग छलफल नगरेको एमालेका मन्त्रीहरु बताउँछन् । अर्थ मन्त्रालयको गेटमा ताला लगाएर बजेट इन्ट्री गर्दा कतिपय महत्वपूर्ण योजना छुट्न गएको बताइएको हो ।
मन्त्रीहरुलाई समेत सिलिङ बजेट हाल्न नदिइ सीधै अर्थमन्त्रीले आफ्नो मनलाग्दी बजेट इन्ट्री गरेकोमा आफूहरुसमेत असन्तुष्ट रहेको एक मन्त्रीले बताए ।
वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलियाको कामकारबाहीप्रति अधिकांश सांसद् असन्तुष्ट देखिएपछि एमाले बागमती संसदीय दलको नेता परिवर्तनका विषयमा चर्चा भइरहेको एक सांसद्ले बताए ।
कांग्रेसभित्र पनि सरकारको नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने चर्चा तीव्र हुँदै गएको छ । अबको विकल्पबारे प्रश्न उठिरहेका बेला बागमती कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नाम प्रमुख दाबेदारका रुपमा अगाडि आएको छ । ‘प्रशासनिक नियन्त्रण, राजनीतिक समन्वय र नेतृत्व क्षमता तीनै पक्षमा लामा पूर्ण असफल देखिएका छन्,’ एक सांसद्को तर्क छ ।
विवाद मिलाउन संसदीय दलको बैठकमा केन्द्रित भएको र बजेटबारे विवाद हल गर्न एमालेले कस्तो धारणा तय गर्नेछ भन्ने विषयमा दलको बैठकमा छलफल गरिने एमाले बागमती संसदीय दलका सचेतक मधुसूदन पौडेल बताउछन् ।
बिहीबारसम्मका लागि बैठक स्थगित गरिएपछि आक्रोशित विपक्षी दलहरुले पत्रकार सम्मेलन गर्दै प्रदेशसभालाई बन्धक बनाएर बजेटबाट भाग्नुभन्दा दलहरुसँग संवाद गरी निष्कर्षमा पुग्नुपर्ने बताएका छन् । दलहरुबीच आपसी समझदारी, परामर्श र जानकारीबिना एकलौटीढंगबाट बैठक सार्ने काम भइरहेको भन्दै माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले उक्त कार्यप्रति प्रतिपक्ष दलहरुको गम्भीर आपत्ति रहेको बताए । बजेटमा रहेका नीतिगत त्रुटि, असन्तुलित, बिभेदकारी र सेटिङमा आधारित बजेट सच्याएरमात्र यस समस्याको हल गर्न सकिने भन्दै उनले प्रदेशसभालाई बन्धक बनाएर बजेटमाथिको छलफलबाट भाग्नुभन्दा संवाद गरी निकास निकाल्न सरकारसमक्ष प्रतिपक्ष दलहरुले माग गरेको बताए । माओवादीले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
प्रदेशसभाका ७ राजनीतिक दलमध्ये राप्रपा, नेकपा (एस) र माओवादी केन्द्रसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी (हानेपा) विपक्षी दलको भूमिकामा छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ५७ करोड ४१ लाखको बजेट सदनमा प्रस्तुत गरेको थियो ।
प्रतिक्रिया