देवदहको १ अर्ब ६३ करोड र सैनामैनाको १ अर्ब ३४ करोडको बजेट सार्वजनिक 


 बुटवल। 

देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १६औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत गरेको विनियोजन विधेयकले शिक्षा, पूर्वाधार, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिएको छ ।

नगरसभामा प्रस्तुत बजेट वक्तव्यमार्फत उपप्रमुख गुरुङले संविधान, नीति तथा योजना, स्थानीय आवश्यकता, जनअपेक्षा, समावेशी अभ्यास र दिगो विकासका लक्ष्यलाई मार्गदर्शकका रूपमा लिँदै बजेट निर्माण गरिएको बताइन् । उनले बजेट सन्तुलित, समन्वयात्मक र आगामी पुस्तालाई उत्तरदायी हुने ढंगले तयार गरिएको उल्लेख गरिन् ।

नगरपालिकाको बजेटले जनताको आधारभूत सेवा पहुँच, स्थानीय उत्पादनको प्रवर्धन, रोजगारी सिर्जना, सामाजिक न्याय र नगरको आन्तरिक क्षमता वृद्धिमा केन्द्रित उद्देश्य समेटेको छ । समावेशी सशक्तीकरण, भूमिहीन र सुकुम्बासीको व्यवस्थापन, गुणस्तरीय शिक्षा–स्वास्थ्य, वातावरण संरक्षण, संस्थागत पारदर्शिता, तथा पूर्वाधार विकासमार्फत नगरको दिगो विकास सुनिश्चित गर्ने लक्ष्य लिएको उपप्रमुख गुरुङको भनाइ छ । नगर प्रमुख धु्रव खरेलको अध्यक्षतामा नगर सभा भएको हो । 

त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०२-०३ लागि १ अर्ब ३४ करोड ८३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

जसमा चालू खर्चतर्फ ५६ करोड ७९ लाख ६० हजार ५ सय अर्थात् कूल बजेटको ४२ दशमलब १२ प्रतिशत र पुँजीगततर्फ ७८ करोड ३ लाख ८ हजार ५ सय अर्थात् कूल बजेटको ५७ दशमलब ८ प्रतिशत विनियोजन गरिएको छ ।  

नगरपालिकाको सत्रौं नगरसभाको मंगलबार सम्पन्न बैठकमा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नुभएको हो । अधुरा योजना समयमै सम्पÞन्न गर्ने, कृषि क्षेत्रलाई व्यवसायीक बनाउने, विपद प्रतिकार्य योजना कार्यान्वनय गर्ने बजेटमा उल्लेख छ ।  

’सैनामैना सम्मद्धिको आधारः उत्पÞादन, पर्यटन र पÞपूर्वाधार भन्ने नगरपालिकाले लिएको दीर्घकालीन सोचलाई पूरा गर्न नगरको बजेट लक्षित रहेको बजेटमा उल्लेख गरिएको छ ।  

बजेटमा ‘घुमौ सैनामैना, रमौ सैनामैना’ भ्रमण वर्ष २०८२ अभियान सञ्चालन गर्न सैनामैनामा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्रलाई सूचीकरण गरी जानकारी तथा प्रचार प्रसार गर्नका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । 

त्यसैगरी बजेटमा नमुना उज्यालो थारु गाउँ कार्यक्रमका लागि १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा कृषि तथा सिचाईका लागि कुल १ करोड ५२ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ । नगर प्रमुख फणीन्द्र शर्माको अध्यक्षतामा नगर सभा भएको हो ।