विराटनगर महानगरले ल्यायो, ४ अर्ब ४० लाखको बजेट

विद्यालय तहबाटै कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, २५ जनालाई ‘मेयर इन्जिनियरिङ छात्रवृत्ति’

0
Shares

विराटनगर।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२- ८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार नगरसभाको १६ औं अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन् ।

उक्त बजेटको स्रोत भने वित्तीय समानीकरण अनुदान संघ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख, आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, नगद मौज्दात १४ करोड, संघीय सरकार सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र अन्य संघ संस्थाबाट १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै खर्चतर्फ भने महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको सावा व्याज भुक्तानीका लागि ५ करोड, चालु आवको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरूका लागि ८ करोड विनियोजन गरेको छ । यसैगरी भौतिक पूर्वाधारतर्फ समपूरक योजनाहरुका लागि ६ करोड २० लाख, वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सारी आएका योजनाहरुको लागि ७० करोड, नगरका विभिन्न सडक मर्मत सम्भारका लागि १० करोड, फोहोरपानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख, विद्युतीकरण कार्यक्रमका लागि २ करोड, भवन संहिता तथा निर्माण इजाजतका लागि १ करोड ६५ लाख, सडक पुर्वाधार तथा बस्ती विकासका लागि १० करोड २७ लाख १२ हजार विनियोजन गरिएको छ ।

यस्तै सडक बोर्डबाट सञ्चालन हुने योजनाहरुका लागि १ करोड ५० लाख साथै नगरस्तरीय योजनातर्फ ६४ करोड ६१ लाख १ हजार गरी पूर्वाधार विकासतर्फ कुल १ अर्ब ६८ करोड ८३ लाख १३ हजार विनियोजन गरिएको छ । महानगरले वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख ३२ हजार विनियोजन गरेको छ । विषयगत क्षेत्रमध्ये सामाजिक विकास तर्फ शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रमका लागि ९१ लाख, बालबालिका लक्षित कार्यक्रमका लागि ५० लाख, युवा विकास कार्यक्रमका लागि ३८ लाख, आदिवासी जनजाति दलित मधेसी पिछडा वर्ग यौनिक अल्पसंख्यक कार्यक्रमका लागि ४० लाख विनियोजन गरिएको छ ।

यस्तै खेलकुद विकास कार्यक्रमका लागि ९० लाख, ज्येष्ठ नागरिक कार्यक्रमका लागि २० लाख, अपाङ्गता क्षमता विकास कार्यक्रमका लागि २५ लाख, खानेपानी सरसफाई २० लाख, सार्वजनिक निजी साझेदारी २५ लाख, सामाजिक सुरक्षा तथा पञ्जीकरण ३० लाख, रोजगार प्रवद्र्धन कार्यक्रमका लागि ६९ लाख र संघसंस्था अनुदान ५ करोड ५ लाख समेत गरी सामाजिक विकास तर्फ १ अर्ब ८९ लाख ३० हजार विनियोजन गरेको छ ।

यसैगरी आर्थिक विकास क्षेत्रतर्फ कृषि विकास कार्यक्रमका लागि १ करोड ५ लाख, पशुपंक्षी तथा भेटनरी कार्यक्रमका लागि ८५ लाख २५ हजार, सहकारी तर्फ २४ लाख, उद्यमशीलता विकासतर्फ ४ करोड ७० लाख रुपैयाँ छुट्टाइएको छ। विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख र वातावरण तथा जैविक विविधता संरक्षणका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ। सुशासन तथा संस्थागत विकासतर्फ नगर प्रहरी तथा ट्राफिक व्यवस्थापन, सूचना प्रविधि, सञ्चार (मिडिया) र सेवा प्रवाह सुधारजस्ता कार्यक्रमका लागि कुल ३ करोड ३० लाख रुपैयाँ छुट्टाइएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख कार्कीले राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको वृहत् छलफल र सहमतिबाट बजेट निर्माण गरिएको बताइन् । उनले यो बजेटले समृद्ध महानगर बनाउने अभियानमा सघाउ पु¥याउने विश्वास व्यक्त गरिन् । ‘शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’को दीर्घकालीन सोच पूरा गर्न पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिइएको छ । नगर अस्पतालको स्तरोन्नति र नसर्ने रोग नियन्त्रणदेखि ‘जिरो होम डेलिभरी’ अभियानसम्मका लागि पनि १५ करोड ३५ लाख विनियोजन गरिएको छ । बजेटले उत्पादनशील, छिटो प्रतिफल दिने, स्थानीय स्रोत–साधन र सीपको अधिकतम परिचालन हुने, रोजगारी सिर्जना गर्ने तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्रवद्र्धन गर्ने योजनालाई प्राथमिकतामा राखेको छ ।

बजेटका कार्यक्रमहरु

नगरस्तरीय र गौरवका आयोजना सहित पूर्वाधार विकासमा कुल १ अर्ब ६८ करोड ८३ लाख १३ हजार विनियोजन गरिएको छ । बहुवर्षीय ठेक्का, गौरवका आयोजना र दायित्व सरेर आएका योजनाका लागि सबैभन्दा बढी ७० करोड बजेट छुट्याइएको छ । विशेष आर्थिक क्षेत्र, प्रादेशिक बसपार्क, रिङरोड, हवाई मैदान विस्तारजस्ता ठुला आयोजनालाई साझेदार संस्थाहरूको सहयोगमा अघि बढाउने महानगरले नीति लिएको छ । शिक्षित र स्वस्थ नागरिकका लागि एक अर्ब ८९ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

जसमा शैक्षिक विकासका लागि ७५ करोड ५१ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । महानगरले ३ वटा सामुदायिक विद्यालयलाई १० हजार विद्यार्थी क्षमताको ‘मेगा विद्यालय’ बनाउन गुरुयोजना तयार गर्ने घोषणा गरेको छ । ‘स्मार्ट कक्षा, स्मार्ट विद्यार्थी’ कार्यक्रम अन्तर्गत सबै माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड र विद्यालय तहबाटै कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स जस्ता विषयको पढाइ सुरु गरिनेछ । साथै, २५ जना विद्यार्थीलाई ‘मेयर इन्जिनियरिङ छात्रवृत्ति’ प्रदान गरिनेछ ।

यस्तै जनस्वास्थ्यको क्षेत्रमा १५ करोड ३५ लाखबजेट विनियोजन गरेको महानगरले नगर अस्पतालमा २४ घण्टे इमरजेन्सी सेवा, बर्थिङ सेन्टर र प्राइमरी बर्न म्यानेजमेन्ट युनिट स्थापना गर्ने जनाएको छ । पाठेघर क्यान्सरको निःशुल्क स्क्रिनिङ, ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण र ‘छोरी बचाउ छोरी पढाऊ’ कार्यक्रमलाई महानगरले निरन्तरता दिएको छ । कृषि, सहकारी र उद्यमशीलताका लागि पनि २ करोड ९६ लाख २५ हजार बजेट विनियोजन गरिएको छ । कृषकलाई अनुदानमा बीउ उपलब्ध गराउने, सहरी कृषि तथा कौशी खेतीलाई प्रोत्साहन गर्ने, विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने नीति लिइएको छ ।

‘सहकारी शुद्धीकरण हाम्रो अभियान’ मार्फत सहकारी क्षेत्रलाई व्यवस्थित गरिनेछ भने महिला उद्यमशीलता विकासका लागि विशेष तालिम र वित्तीय सहयोगका कार्यक्रम ल्याइने महानगरले जनाएको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै ‘कर करले हैन रहरले तिरौँ’ भन्ने नाराका साथ करदाता शिक्षा अभियान चलाएर करको दायरा विस्तार गर्ने, न्यायिक समितिको कार्यलाई प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोग र निःशुल्क कानुनी सेवा प्रदान गर्ने, नगर प्रहरीलाई थप स्रोतसाधनयुक्त बनाई बजार व्यवस्थापन, छाडा चौपाया नियन्त्रण र सहरी सौन्दर्यीकरणमा परिचालन गर्ने पनि बजेट, नीति तथा कार्यक्रममा उल्लेख छ ।