माओवादीको विरोधपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित


सुर्खेत ।

सत्ता पक्षले बजेटमा एकलौटी गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र उपस्थित नभएपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ । दिउँसो ३ बजेलाई बोलाइएको बैठक माओवादीको विरोधपछि रोकिएको हो ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सत्ता पक्षले एकलौटी बजेट प्रस्तुत गर्न खोजेपछि विरोध जनाएको बताए । उनले प्रदेश सरकारको योजना बैंकको औचित्यमाथि समेत प्रश्न उठाए । ‘सरकारले एकलौटी ढङ्गबाट बजेट ल्याउने प्रयास गरिरहेको छ । योजना बैंकमा कुन–कुन योजना समावेश गरिएको छ भन्ने विषय अहिलेसम्म सरकारले बाहिर ल्याएको छैन । यो गम्भीर आपत्तिको विषय हो’, उनले भने ।

उनले जिल्लास्तरबाट सिफारिस भई मन्त्रालयमा पुगिसकेका योजनामा समेत बेवास्ता गरिएको बताए । यस सम्बन्धमा आफूहरूले संसदमा कुरा उठाउँदा सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा लागू नगरी बजेट प्रस्तुत गर्न लागिएको माओवादीको आरोप छ ।

माओवादीले उठाएका विषयहरू सम्बोधन नभए संसदमा बजेट पेस गर्न नदिइने अडानमा आफूहरू रहेको एक सांसदले बताए । आजको बैठकमा कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची थियो ।