यात्रा स्मरण : सधैँ याद आइरहने दोलखाको कालिन्चोक यात्रा

564
Shares


यात्राको अर्थ गति हो । नियात्रामा यात्राको क्रममा देखिएका, भोगिएका राम्रा–नराम्रा अनुभवहरुलाई जस्ताको त्यस्तै वर्णन गरिन्छ । हामीले कुनै पनि कुरा प्रत्यक्ष देखेर, छोएर, अवलोकन गरेर नियात्रा तयार गरिन्छ । अनुभवहरु संकलन गर्न, व्यावहारिक ज्ञान प्राप्त गर्न यात्रा अनिवार्य हुन्छ । पढेका कुरा बिर्सन सकिन्छ तर प्रत्यक्ष देखेका, अनुभव गरेका कुरा हाम्रो मनसपटलमा सदा ताजा रहिरहने हुनाले पनि यात्रा गर्नुपर्ने हुन्छ ।

मानिसलाई व्यस्त जीवन, दिनरातको काम गरिरहँदा कहिलेकसो यात्राले पनि पुनः ताजापन आउने हुनाले यात्राको महत्वपूर्ण भूमिका रहन्छ । कुनै पनि ठाउँको धार्मिक, सांस्कृतिक, प्राकृतिक, पौराणिक, ऐतिहासिक महत्व बुझ्न त्यस ठाउँको भाषा, धर्म, संस्कृति, रहनसहन, जीवनशैली, चालचलन नजिकैबाट नियाल्न यात्रा आवश्यक हुन्छ । यात्राबाट हामीले प्रत्यक्षरुपमा धेरै तीता–मीठा अनुभवहरु संकलन गर्छौं ।

गैंडाकोट नगरपालिका वार्ड नम्बर–१ मा रहेको श्री सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयबाट हामी शिक्षक साथीहरु नेपालको दोलखा जिल्लामा अवस्थित कालिन्चोक भगवतीको थानमा जाने निर्णय गर्यौं । त्यसका लागि २०८० साल पौष २८ र २९ गतेलाई रोज्यौँ । हामी २० जना शिक्षक साथीहरु बिहानको ५ बजे हाइसमा चढ्यौँ । जसमा म लेखक स्वयं भूमिका गैरे तिमिल्सिना पनि उपस्थित थिएँ । नारायणगढ, मुग्लिनको सडकखण्ड हुँदै हाम्रो यात्रा अगाडि बढ्यो । हामी बिहान ११ बजे काठमाडौंको प्रवेश द्वार मानिने कलंकी पुग्यौँ र खाना खायौँ ।

त्यसपछि हाम्रो यात्रा बनेपा, धुलीखेल, पाँचखाल, दोलालघाट सिन्धुपाल्चोक, सुकुटे, जलबिरे, खाडीचौर, सुनकोशी हुँदै अगाडि बढ्यो । मुढेमा खाजा खाई खरीढुंगा, बोच, मकैबारी हुँदै चरिकोटसम्म पुग्यौँ । त्यहाँ पुग्दा बेलुकाको ८ बजेको थियो । त्यहाँ केही किनमेल गरेपछि चरिकोटबाट अलिकति अगाडि गयौँ । त्यहाँबाट कालिन्चोकको आधार शिविर कुरी जानका लागि छुट्टै बलेरो जीप र हाइसमा दश– दशजना गरी गयौँ । १८ किलोमिटरको पहाडी घुमाउरो, साघुँरो बाटो रहेछ । कहीँ कच्ची त कहीँ पक्की बाटो हुँदै हामी उकालो चढ्दै गयौँ । रातिको समय जंगली जनावरहरुको डर, दुवैतर्फ घना जंगलका बीच साघुँरो बाटो हुँदै हामी उकालो लाग्यौँ । हामी कुरीमा राति ९ः३० बजे पुग्यौँ ।

हामी त्यहाँ गएर होमस्टेमा बस्यौँ । अत्यन्तै चिसो, हिउँ पर्ने ठाउँ रहेछ कुरी गाउँ । होमस्टेका दाजुले दुईवटा मकलमा आगो बालिदिनुभयो । हामी चिया पिउँदै त्यहीँ आगोको नजिक गोलो भएर बस्यौँ । दिनभरिका यात्राका विषयलगायत अन्य विषयमा गफ गर्दै रमाइलो गर्‍यौँ । रातिको ११ः३० बजे खाना खायौँ । त्यसपछि केही साथीहरू हिउँ परेको हेर्न जानुभयो । राति १ बजे सुत्यौँ ।

भोलिपल्ट बिहान ५ बजे हामी सबैजना उठ्यौँ । बिहानको नित्य कर्म सकेर हामी कालिन्चोक भगवतीको स्थानतर्फ लाग्यौँ । नेपालको दोलखा जिल्लामा रहेको समुद्री सतहदेखि करिब ३,८४२ मिटरको उचाइमा अवस्थित कालिन्चोक भगवतीको स्थानतर्फ हामी प्रस्थान ग¥यौं । हामीमध्ये कोही साथी पैदल हिँडेर त कोही केबलकारबाट गयौँ । हामी कुरीबाट ५ मिनेट जतिमा केबलकारमा कालिन्चोक टाकुरामा पुग्यौँ ।

त्यहाँबाट चारैतिर देखिने हिमशृङ्खला एवं पहाडी मनोरम प्राकृतिक दृश्यले हामी सबैको मन लोभ्यायो । सामुन्ने देखिने गौरीशंकर हिमालले गौरी र शिवजीको रुप प्रतिविम्बित गरेझैँ लाग्यो । यही हिमाललाई आधार लिएर नेपालको समय निर्धारण गरिएको छ । त्यहाँबाट देखिने कञ्चनजंघा, जुगल, गणेश, गौरीशंकरलगायतका अन्य हिमाली दृश्य अत्यन्तै मनमोहक थिए । त्यहाँ नजिकै सेल्फी डाँडा रहेछ । त्यहाँबाट देखिने कुरीको दृश्य मनमोहक थियो । चारैतिर पहाडले घेरेको झुरुप्प घरहरु भएको कुरी गाउँ, जसमा एकै किसिमका घरहरुले पनि सबैको ध्यान खिचिरहेको थियो ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक, पौराणिक विविधताले भरिएको उक्त ठाउँले स्वर्गीय, अलौकिक आनन्दको अनुभूति गरायो । जसको कोही हुँदैन त्यसको कालिन्चोक भगवती हुन्छिन् भन्ने जनविश्वास रहेछ । भगवतीको स्थानमा एउटा मात्र वरदान मागेमा सो वरदान पूरा हुने जनविश्वास रहेछ । लामो लाइन र मानिसहरूको उत्तिकै भीड थियो । भगवतीको स्थानमा विशेष गरी त्रिशूल र घण्टी चढाइने रहेछ । त्यहाँ मंगलबार र शनिबार भक्तजनहरुको भीड हुने कुरा मन्दिरका पुजारी भीम थापाबाट जानकारी भयो । त्यहाँ विशेष गरेर नयाँ वर्ष, बडादशैं, चैतेदशैं, जनैपूर्णिमालगायतका पर्वहरुमा बढी भीड हुने रहेछ ।

हामी करिब ८ः३० बजेतिर त्यहाँबाट फर्कियौँ । सबैजनाले खाना खाई ९ः३० मा जीप चढी तल झर्‍यौँ । साह्रै मनमोहक दृश्य, हिमाल, पहाड, वरिपरिको बजार सबै देखिने हुँदा रमाइलो अनुभव भयो । बाटो साघुँरो भए पनि त्यहाँबाट देखिने दृश्य अत्यन्तै सुन्दर थियो । करिब ११ः३० मा हामी दोलखा, चरिकोटको भीमेश्वर मन्दिर दर्शन गर्न पुग्यौँ । मन्दिर पुग्नुभन्दा केही अगाडिबाट ढुंगाले छापेको साँघुरो बाटो रहेछ । मन्दिरमा बिहान, दिउँसो, बेलुका विशेषतः तीन अवतारको पूजा गरिने कुरा रहेछ । देशमा ठूलै अनिष्ट हुनुपूर्व भीमेश्वर महादेवको मूर्तिमा पसिना आउने रहेछ ।

शाहवंशीय राजा वीरेन्द्रको वंशनाश हुनुपूर्व, २०७२ सालको भूकम्प जानुपूर्व मूर्तिमा पसिना आएको रहेछ । मूर्तिमा पसिना आएदेखि देशमा ठूलै अनिष्ट घटना घट्न सक्ने संकेत हो भनी स्थानीय बासिन्दाहरुले विशेष किसिमको पूजा गर्ने गर्दा रहेछन् भन्ने जानकारी मन्दिरका पूजारीबाट थाहा भयो ।धार्मिक मान्यता, व्यापारिक दृष्टिकोणले पनि भीमेश्वर मन्दिर चिनिने रहेछ । कालिन्चोक भगवतीको स्थानमा दर्शन गरेपश्चात् भीमेश्वर मन्दिरको दर्शन गरेपछि मात्र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पनि मन्दिरका पूजारीबाट जानकारी भयो ।

हामी सबैजना १ बजे त्यहाँबाट फर्कियौँ । करिब ३ बजे मुढेमा खाजा खाई सिन्धुपाल्चोकको खाडीचौरबाट लामोसाँघु हुँदै हामी अगाडि बढ्यौँ । हामीले बाटोवरिपरिको प्राकृतिक स्रोत एवं कृत्रिम संरचना हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो । बाह्रबिसे, राम्चे, भोटेकोशीमा रहेको ठूला–ठूला सुरुङहरु हेर्दै तातोपानीतिर लाग्यौँ । नेपाल र चीनको सिमाना खासासम्म पुग्यौँ हामी । त्यहाँ पुग्दा बेलुकाको ५ः२० भएको थियो ।

करिब ७ बजे हामी त्यहाँबाट पुनः फर्कियौँ । हाम्रो घर फर्कने रात्रिकालीन यात्रा शुरु भयो । राति ११ बजे काठमाडौँको कलंकी आएर खाना खायौँ । १२ः२० मा हामी त्यहाँबाट हिड्यौँ । धादिङमा चिया पिई पुनः हामी त्यहाँबाट फर्कंदै गर्दा हामी सबै निदाएका थियौँ । समय २ः४० भएको थियो । बेनीघाटमा आइपुग्दा मुग्लिनबाट जाँदै गरेको बस र हामी चढेको हाइस करिब १० मिटरको बीच दूरीमा थियो । एक्कासी माथिबाट ढुंगासहितको सुख्खा पहिरो खसेकाले दुवै गाडी टक्क रोकिए । हामी चढेको हाइसमा ठूलै ढुंगाले लागी हाइसको अगाडिको भागमा क्षति भयो । सबैजना हतासियौँ र डरायौँ पनि । हाइस ब्याक गर्दा पछाडि जीपमा नराम्रोसित ठोक्कियो । पछाडि जाम परिसकेको रहेछ ।

सबैजना अतालिँदै ओर्लिनुभयो । म भने अगाडि थिएँ । हाइसको ढोका खुलेन । शायद आत्तिएर होला । यसो पछाडि हेर्दा त सबै निस्किसक्नुभएको रहेछ । यसो हेर्दा त सुरज सर र ड्राइभर दाजु पनि निस्किसक्नुभएको रहेछ । अनि त झन् आत्तिदै ड्राइभरको साइडबाट निस्किएँ । पहिरो खस्ने क्रम जारी रह्यो । सबैजना स्तब्ध भयौँ । एक–अर्काको मुखमा टुलुटुलु हेरिरह्यौँ । हातगोडा थरथर काँपिरहेका थिए । आज ठूलै कालले बाँचियो भन्यौँ, भगवान् सम्झियौँ ।

जीप र हाइसबीचमा विवाद सृजना हुन थाल्यो । अनुकूल समय हेरेर हामी बाटो कट्यौँ । केही अगाडि बेनीघाटको अस्थायी प्रहरी क्याम्पमा आयौँ । विवादले ठूलै रुप लियो । हाइस र जीपबीच कानुनी प्रक्रियाबाट सहमति भयो । हामी बिहान ४ः२० मा पुनः त्यहाँबाट नारायणगढतर्फ अगाडि बढ्यौँ । यसरी बिहान ६ः३० बजे सकुसल घरमा आइपुयौँ ।

नेपालमा सडकको अवस्था अत्यन्तै नाजुक छ । कति बेला कहाँ के हुने हो ? थाहा छैन । यस्तो स्थितिमा आन्तरिक पर्यटकलगायत अन्यलाई पनि अत्यन्त जोखिम छ । पहाडी बाटो डोजर चलेपछिको खुकुलो माटो कतिखेर खस्ने हो ? थाहै छैन । आफ्नो ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपर्ने कस्तो बाध्यता ? यसमा सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।

आन्तरिक पर्यटकलाई प्रवद्र्धन गराउन सकेमा हाम्रो देशमा विभिन्न ठाउँका कुनाकाप्चामा रहेका स्वर्गीय आनन्द महसुस गराउने यस्ता कैयौँ ठाउँ छन्, जुन हामीले नजिकैबाट देख्न, बुझ्न र जान्न जरुरी छ । हामी विदेशका झिलमिलदेखि रमाउन खोज्छौँ तर आफ्नै देशको बारेमा खासै चासो राख्दैनौँ ।

पहिला आफ्नै देशका विभिन्न ठाउँको बारेमा अध्ययन, अवलोकन, भ्रमण गरी जानकार रहनुपर्छ । जसले गर्दा नेपालमा रहेका विभिन्न जात, भाषा, संस्कृति, रहनसहन, चालचलन, दिनचर्या, भौगोलिक पर्यावरण, जनजीवन, परम्परालाई नजिकैबाट अध्ययन गर्न सकिन्छ । नेपालका विभिन्न आस्था बोकेका धार्मिक स्थलहरुको पनि जानकारी हुन्छ । नेपाल क्षेत्रफलमा सानो भए तापनि यहाँ विभिन्न भाषा, जात, धर्म, संस्कृति, परम्परा अटेकाले यो आफैंमा विशाल छ ।

(लेखक गैरे गैंडाकोट निवासी हुनुहुन्छ ।)