नेपालमा पहिलोपटक ट्रान्सजेन्डरको लिंग परिवर्तन शल्यक्रिया सफल

त्रिवि शिक्षण अस्पतालको ऐतिहासिक उपलब्धि

2.16k
Shares

काठमाडौं

नेपालमा ट्रान्सजेन्डर समुदायको अधिकार तथा स्वास्थ्य सेवाको पहुँचको क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धि हासिल भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।

अस्पतालले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डर व्यक्तिको ‘मेल टु फिमेल’ सेक्स चेन्ज अपरेसन सफल भएको जानकारी गराइएको हो । त्रिविको प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका शल्यक्रियाहरू सञ्चालन गरेको थियो । यही क्रममा देशमै पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया सम्पन्न गरिएको हो ।

विदेशी प्लास्टिक सर्जन डा. अलरिजा हामीदियान जारोमीको नेतृत्वमा तथा प्लास्टिक सर्जरी विभागीय प्रमुख प्रा.डा. जयनमान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको हो । शल्यक्रियामा सो विभागका सम्पूर्ण प्लास्टिक सर्जनहरू प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी डा. समित शर्मा, डा. विकेश राजभण्डारी डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदीप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्विनको सहभागिता थियो । एनेस्थेसियामा डा. मेघा कोइराला तथा डा. पंकज जोशीको टिमले सहयोग गरेका थिए ।

अबदेखि त्रिवि शिक्षण अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यी सेवाहरू चालू गर्दै जाने डा. जयनमान श्रेष्ठले जानकारी गराउनुभयो । शल्यक्रियामा पुरुष लिंगको तन्तुहरूलाई प्रयोग गरी महिलाको जनेन्द्रिय अंगको पुनर्निर्माण गरिएको अस्पतालले जनाएको छ । यस प्रक्रियाले ती व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने विश्वास चिकित्सकहरूको छ ।

यो शल्यक्रिया नेपालमा ट्रान्सजेन्डर अधिकारको क्षेत्रमा एउटा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ । अहिलेसम्म ट्रान्सजेन्डर व्यक्तिहरूले यस्ता शल्यक्रिया गर्न भारत, थाइल्यान्ड वा अन्य देशहरू जानुपर्ने बाध्यता थियो । विदेशमा उपचार गराउँदा महँगो खर्च, भाषा समस्या तथा भावनात्मक असहजताको सामना गर्नुपथ्र्यो । अब नेपालमै यस्ता सेवा उपलब्ध हुन थालेपछि ट्रान्सजेन्डर समुदायलाई ठूलो राहत मिल्ने विश्वास लिइएको छ ।

नेपालमा ट्रान्सजेन्डर अधिकारको इतिहास

नेपाल दक्षिण एसियामा ट्रान्सजेन्डर अधिकारलाई कानुनी मान्यता दिने अग्रणी देशमध्ये पर्दछ । सन् २००७ मा सर्वोच्च अदालतको ऐतिहासिक फैसला मार्फत तेस्रो लिङ्गीलाई कानुनी मान्यता दिइएको थियो । सो फैसलापछि राष्ट्रिय परिचयपत्रमा तेस्रो लिङ्गी उल्लेख गर्न पाउने अधिकार प्राप्त भयो । संविधानतः समानता र लैङ्गिक पहिचानको अधिकार सुनिश्चित गरिए पनि व्यवहारमा भने ट्रान्सजेन्डर समुदायले अझै पनि भेदभाव, सामाजिक बहिष्कार र स्वास्थ्य सेवामा पहुँचको अभाव भोग्दै आएका छन् ।

यस पृष्ठभूमिमा त्रिविमा भएको पहिलो लिंग परिवर्तन शल्यक्रिया केवल चिकित्सा दृष्टिकोणले मात्र नभई सामाजिक न्याय र मानव अधिकारको दृष्टिकोणबाट पनि महत्वपूर्ण मानिन्छ । शिक्षण अस्पतालका अनुसार भविष्यमा यस्ता सेवा नियमित रूपमा उपलब्ध गराउने तयारी भइरहेको छ । ट्रान्सजेन्डर स्वास्थ्य सेवासम्बन्धी मार्गनिर्देश, परामर्श सेवा र मानसिक स्वास्थ्य सहयोगसमेत प्रदान गर्ने योजना अस्पतालको रहेको छ ।

यो सफलताको साथ नेपालले ट्रान्सजेन्डर व्यक्तिको जीवनस्तर उकास्न र उनीहरूलाई सम्मानजनक जीवन जीउन आवश्यक सेवा दिने दिशामा नयाँ पाइला चालेको छ । समाज र राज्य दुवैको साझा प्रयासमार्फत मात्र यस्ता पहल दिगो बन्न सक्नेछन् ।