हेटौंडामा २० करोड लागतमा खानेपानी योजना


हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका र संघीय सरकारको सहलगानीमा हेटौंडामा २० करोड रुपियाँ भन्दा बढीको लगानीमा खानेपानी योजना निर्माण हुने भएको छ ।

उपमहानगरपलिका–९, १४ र १५ नम्बर वडा लक्षित गर्दै सिमलटार–रातोमाटे सहलगानी खानेपानी योजनाअन्तर्गत काम हुने भएको हो । शुक्रबार हेटांैडा उपमहानगरपालिका, संघीय खानेपानी योजना र निर्माण पक्षबीच त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उपमहानगरपालिका खानेपानी बोर्डले तयार पारेको ८२ करोडको वातावरणीय प्रभाव मूल्यांकनअन्तर्गत रहेर संघीय सरकारले उपमहानगरलक्षित गर्दै खोलेको ठेक्काअनुसार निर्माण पक्षले २० करोड ५६ लाख रुपियाँमा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने सम्झौता भएको छ ।

उपमहानगरपालिका कार्यालयमा भएको सम्झौतापत्र हस्ताक्षरमा नगर प्रमुख मीनाकुमारी लामा, संघीय खानेपानी योजना प्रमुख पूर्णप्रसाद उपाध्याय, हेटौंडा खानेपानी बोर्ड अध्यक्ष प्रताप बिष्ट र निर्माण पक्ष जयमाता सुप्रिम जेभीका कृष्णहरि चौलागाईंले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उपमहानगरको ३० र संघीय योजनाको ७० प्रतिशत लगानी रहनेछ ।

हेटौंडा–९ को बेदखोल्सीमा ६ लाख लिटर, हेटौंडा–१५ स्थित पिसपार्कमा २ लाख लिटर र हेटौंडा–१४ मा २ लाख लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गरिने छ भने हेटौंडा–१४ मै २ वटा समवेल बनाउने सम्झौतामा उल्लेख छ । योजनाअनुसार हेटौंडा खानेपानी बोर्डले प्रयोगमा ल्याएको सामरीको समवेलको पानीलाई ३ करोड रुपियाँ सोही योजनामा समावेश गर्ने बताइएको छ ।

योजना सम्झौतामा नगर प्रमुख लामाले निर्माण गुणस्तरीय बनाउँदै नगरबासीलाई चाँडै खानेपानी व्यवस्थापन मिलाउने काममा लाग्न निर्माण पक्षलाई सुझाव दिइन् । योजना निर्माण हुने क्षेत्रमध्ये दुई वडा १४ र १५ पछि उपमहानगरपालिकामा जनतालाई खानेपानी सुबिधा दिने काममा उपमहानगर पछि नपर्ने गरी काममा लाग्न उनले निर्देशन दिइन् । उनले भनिन्–तोकिएको समयमा काम सम्पन्न गर्ने गरी लाग्नु जरुरी छ ।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा उपमहानगर उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, खानेपानी बोर्ड कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटा, योजना इञ्जिनियर प्रदीप यादब, लेखा अधिकृत कपिल अर्याल, प्राविधिक अजित चौलागाईं, बोर्ड लेखा प्रमुख सञ्जय न्यौंपानेलगायतको उपस्थिति थियो ।