मध्य बानेश्वरमा खुल्यो किड्स क्लिनिक


काठमाडौं। 

बालबालिकाहरुमा देखिने नयाँ नयाँ खालका समस्या र तत्काल उपचारका लागि अस्पतालमा पालो कुर्दा पनि बालरोग विशेषज्ञसँगको उपचार सेवा समयमै पाउँन गाह्रो भएको गुनासो आईरहेको बेला बाल रोग विशेषज्ञहरुको एक समूहले मध्य बानेश्वर काठमाडौँमा सोमबार देखि किड्स इन्टिग्रेटेड डिएम, एमसीएच सुपर स्पेसलिटी (किड्स क्लिनिक) सञ्चालनमा ल्याएका छन् ।

बाल उपचारका सबै सेवा ठाउँबाट दिन सकियोस भन्ने योजनाका साथ किड्स क्लिनिक सञ्चालनमा ल्याइएको पेडियाट्रिक्स ग्यास्ट्रो इन्टेरोलोजी एण्ड हेपाटोजिष्ट डाक्टर दिलीप न्यौपानेले बताउँछन् । 

उक्त क्लिनिकमा बाल रोगका विभिन्न विधामा डीएम, एमसीएच गरेका ६ जना चिकित्सकहरुको समूहले सञ्चालनमा ल्याएको न्यौपानेले जानकारी गराए । सबै प्रकारको विशिष्टीकृत सेवा दिन सक्ने चिकित्सक एकै स्थानमा नभेटिने स्थितिको अन्त्य गर्न यस्तो क्लिनिक सञ्चालनमा ल्याइएको डा न्यौपानेले बताए ।

सोही क्लिनिक संचालक डाक्टर पुष्पराज अवस्थीले क्लिनिक दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिने योजनासहित खोलिएको बताए । किड्स क्लिनिकमा रहेका सात, आठ वटा विभागमा विशेष किसिमका विभागीय दक्षता हासिल गरेका चिकित्सकहरू आबद्ध रहेको पनि उनले बताए । 

‘डा दिलिपले बच्चाको पेट सम्वन्धी सबै खाले समस्या हेर्नुहुन्छ । मैले स्वासप्रश्वास सम्वन्धी निमोनिया तथा दम लगायतका समस्या हेर्छु । बच्चाको न्युरोलोजी सेवाका लागि डा सन्तोष मिश्र, नवजात शिशु हेर्नका लागि डा धीरेन्द्र यादव, इम्युनोलोजि सम्वन्धी हेर्नका लागि डा धर्मागत भट्टराई हुनुहुन्छ, बाल शल्यचिकित्सक डा आशिषराज श्रेष्ठ हुनुहुन्छ,’ डा अवस्थीले भने ।

 क्लिनिकमा फार्मेसी, प्रयोगशाला तथा रेडियोलोजी सम्वन्धी सेवाहरु पनि उपलव्ध छ उनले भने ।

क्लिनिक संचालक टिमका अधिकांश चिकित्सकहरु काठमाडौ मेडिकल कलेज (केएमसी) अस्पतालमा समेत आबद्ध छन्  ।