डा.चापागाईं न्याम्स हेल्थ रिसर्च अवार्ड २०२५ बाट सम्मानित

1.32k
Shares

काठमाडौँ। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औं वार्षिकोत्सव समारोहमा न्याम्स अन्र्तगतका विभागहरुमा धेरै अध्ययन अनुसन्धान र अन्तर्राष्ट्रिय जर्नलमा समेत धेरै आर्टिकल प्रकाशन गरी न्याम्सलाई उच्चस्तरमा चिनाउन सफल बालरोग विभागका सह प्राध्यापक डा.रामहरि चापागाईलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट न्याम्स हेल्थ रिसर्च अवार्ड २०२५ बाट सम्मान गरियो । डा.चापागाईँ कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ हुन । 

न्याम्सबाट स्थापना गरिएका दुईवटा प्रतिष्ठित पुरस्कारहरुमा पहिलो पुरस्कार न्याम्स हेल्थ रिसर्च अवार्ड प्रतिष्ठानका विभिन्न फ्याकल्टी अनुसन्धानकर्ताहरुलाई सम्मानित गर्नका लागि स्थापित गरिएको हो । जसले उच्च प्रभाव भएका अन्तर्राष्ट्रिय बैज्ञानिक जर्नलमा आफ्नो अनुसन्धान प्रकाशित गरेर प्रतिष्ठानको गौरव बढाउँनु भएकोमा डा.चापागाईलाई प्रदान गरिएको जनाएको छ । यो पुरस्कार प्रत्येक बर्ष प्रदान गरिनेछ । 

न्याम्स हेल्थ रिसर्च अवार्डको लागि निर्धारित समयसिमा भित्र १३ वटा आवेदन परेका थिए । छनोट प्रक्रियामा रेक्टर प्रा.डा. लोचन कार्कीको अध्यक्षतामा प्रा.डा.अनुपमा कार्की, श्री सिताराम खड्का र आमन्त्रित विज्ञहरुको सहभागितामा पुरस्कार छनोट समितिले काम गरेको थियो । मूल्यांकन प्रकृया पूर्व निर्धारित मापदण्ड अनुसार गरिएको थियो । विशेषगरि एसीआई इमागोको क्यूवान क्वार्टआईल नेचुरल जर्नलभित्र पर्ने लेखहरुलाई प्राथमिक मापदण्ड तोकिएको थियो । 

यो विधामा लेखक, सहलेखकहरुको भूमिका, प्रकाशित लेखहरुको संख्याको आधारमा अंक प्रदान गरिएको थियो । सोही अनुरुप एशोसियट प्रोफेसर डा.रामहरी चापागाईँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत कान्ति बाल अस्पतालको बालरोग विभागका सह प्राध्यापक छनोटमा पर्नुभएको जनाएको छ । उनी  मुल्यांकन प्रकृयाबाट सबैभन्दा उच्च अंक प्राप्त गरेर उक्त पुरस्कारका लागि छनोट भएका थिए । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार तथा कदरपत्र प्रदान गरेका थिए । 

डा.चापागाईँ पनौति नगरपालिका वडा नं ४ टौखालमा बुबा टीका बहादुर चापागाईँ र माता बेद कुमारी चापागाईको कोखबाट तेस्रो सन्तानका रुपमा  सामान्य परिवारमा जन्मिएका थिए  । उनी  झण्डै दुई दशक देखि चिकित्सा पेशामा आवद्ध छन्  । उनी  देशका अति दुर्गम दोलखा जिल्लामा संचालित जीरी हेल्मीन्थ प्रोजेक्ट अन्तरर्गत मानिसको पेटमा पर्ने जुकामा आनुवंशिक असर के छ भन्ने विषयको अनुसन्धानमा संलग्न थिए । 

त्यसैगरी मानीसको शारिरीक वृद्धिमा वातावरणको प्रभाव अध्ययनमा पनि संलग्न थिए । साथै मानसिक रोगमा आनुवंशिक असर के हुन्छ भन्ने बिषयमा पनि संलग्न थिए ।  उनी  जीरी अस्पताल, भेरी अञ्चल अस्पताल, धनगढी, महेन्द्रनगर हुँदै हाल कान्ति अस्पतालमा कार्यरत छन्  । कान्ति अस्पतालमा विशेष गरी  विभिन्न खालका सरुवा रोग तथा बालबालिकामा प्रयोग हुने खोपको क्लिनिकल टायलमा संलग्न छन् । 

उनी  विगत ९ वर्षदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको बालरोग विभाग अन्तर्गत अध्ययन अध्यापन कार्यमा संलग्न छन् । 

कार्यक्रममा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले न्याम्सको स्थापनापछि यसले देशको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । त्यस्तै शिक्षाध्यक्ष डा लोचन कार्कीले न्याम्सको शैक्षिक कार्यक्रम बारेमा जानकारी दिएका थिए । यस्तै वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले वीरले दिएको उपचार सेवाका बारेमा जानकारी दिएका थिए ।