जवाङमा नेपालमै दुर्लभ पारिजातको जंगल : उपभोक्ता पालिका र डिभिजन बन कार्यालय संरक्षणमा जुटे

7.14k
Shares

धादिङ ।
दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा  नम्बर१०  जवाङमा रहेको मौवाखोला सामुदायिक वनमा विशाल पारिजातको जंगलको पहिचान गरिएको छ।
लामो समयदेखि सामुदायिक बन समूहले संरक्षण गरेर राखेपनि पारिजातको गलनै भएको भनेर सार्वजनिक हुन सकेको थिएन । केहीदिन अघि डिभिजन बन कार्यालय धादिङले स्थलगत अवलोकन पछि संरक्षणमा सबैतिरबाट लाग्न आग्रह गरिएको छ ।

दुर्लभ र लोपहुने अवस्थामा पुगेको धार्मिक र सांस्कृतिक र आयुर्वेदिक हिसाबले महत्त्वपूर्ण पारिजातका रुखहरूको संरक्षण, सम्भावना र जैविक विविधता संरक्षणका लागि सामुदायिक बन समूह, बेनिघाटरोराङ गाउँपालिका र डिभिजन बन कार्यालयले कार्ययोजना नै बनाएर लागेका छन् । अहिले भेटिएको पारिजातको जंगल सम्भवतः नेपालमै ठुलो भएको डिभिजन बन अधिकृत विष्णुप्रसाद आचार्यले बताएका छन् ।

सामुदायिक वन क्षेत्रमा १० हजार भन्दा बढी पारिजातका बिरुवा र रुखहरू रहेको अनुमान गरिएको छ । पारिजात  जैविक, धार्मिक, सांस्कृतिक र औषधीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। यस्ता विरुवा  सामुदायिक वन क्षेत्रमा प्राकृतिक रूपमा बाक्लो पाइनु दुर्लभ मानिन्छ।

एउटै क्षेत्रमा १० हजारभन्दा बढी जैविक, धार्मिक, सांस्कृतिक र औषधीय गुण भएको पारिजातका जंगल भेटिएकोले डिभिजनल वन अधिकृत आचार्यले यस क्षेत्रको जैविक विविधता, प्राकृतिक सौन्दर्य, तथा पारिजात जस्ता दुर्लभ वनस्पतिको महत्वलाई ध्यानमा राख्दै थप अध्ययन र संरक्षण योजनाको खाका तयार पारिने र तत्कालै अन्य झाडी हटाएर पारिजात संरक्षण गर्न स्थानीय सरकारसंग सहकार्य गरिएको बताए ।

स्थानीय सामुदायिक बन समूहले अहिलेसम्म संरक्षणमात्र गरेर राखेको भएपनि अब कार्ययोजना नै बनाएर काम गर्ने जनाएको छ भने बेनिघाटरोराङ गाउँपालिकाले सबै किसिमले महत्व बोकेको ठूलो जंगल नै संरक्षण गर्न लगानी गर्ने जनाएको छ ।
 “अब हामी पछाडि परेका, लोप हुँदै गएका प्रजातिलाई उच्च प्राथमिकता दिने उद्देश्यसहित पारिजात संरक्षणमा लागिरहेका छौं”, डिभिजन बन कार्यालय प्रमुख आचार्यले बताए ।

साल, खयर, सिसौ जस्ता बहुप्रचलित प्रजातिमा मात्रै वन व्यवस्थापन केन्द्रित भइरहेको बेला पारिजातको यस्तो घना जंगल भेटिनु दुर्लभ घटना हो।  घर आँगनमा गमलामा एक–दुई वटा बोट देखिने पारिजात यति ठूलो प्राकृतिक क्लस्टरमा देखिनु सम्भवतः पहिलोपटक हो र आश्चर्यजनक उपलब्धि समेत मानिएको छ ।
करिब १० हेक्टर क्षेत्रमा १० हजार भन्दा बढी बिरुवा पारिजातको मात्र भएको स्थानलाई जैविक उद्यान वा अध्ययनस्थलका रूपमा विकास गर्न सकिने छ ।
पारिजातको पात, फूल र छालाले विभिन्न किसिमका रोगहरूको उपचारमा उपयोग गरिने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, धादिङका प्रमुख अमूल्य दाहालले बताए ।

२ हेक्टर क्षेत्रफल पारिजातको कोर एरिया छ । यसक्षेत्रमा पारिजातको बाक्लो जंगल छ । कोर क्षेत्र वरिपरि रहेको १० हेक्टर बफर जोनमा पनि पारिजातका बोटहरू प्रशस्त पाइएको छ ।

पारिजात संरक्षण अभियानलाई केवल वन व्यवस्थापनको परिधिमा सीमित नराखी साहित्य र संस्कृतिसँगै जोड्ने योजना समेत डिभिजन कार्यालयले अघि सारेको छ। “हामी चाँडै साहित्यकारहरूलाई बोलाएर ‘पारिजात साहित्य महोत्सव’ गर्नेछौँ। हरेक वर्ष यस्तो महोत्सव गरेमा संरक्षण, प्रचारप्रसार र संवर्धन सहज हुनेछ,” वन अधिकृत आचार्यले बताए  ।