वीरगञ्ज ।
नेपालमै उच्च गुणस्तरीय औषधी उत्पादन र बिक्री वितरण गर्दै आइरहेको वीरगञ्जको म्याग्नस फर्मा प्राइभेट लिमिटेडले नेपालमै पहिलोपटक मधुमेह, अल्जाइमर्स, हेपाटाईटिस सी र बीका साथै मिर्गाैला रोगको औषधीसहित ५ प्रकारका इन्जेक्टेबल नयाँ औषधीहरूको उत्पादन शुरू गरेको छ ।
यीमध्ये दुई वटा बजारमा आइसकेको छ भने वैशाखबाट पाँचै प्रकारका औषधीहरू बजारमा पुग्ने म्याग्नसले जनाएको छ । १६ वर्ष पुरानो यो कम्पनीले १ सय ९ ब्रान्डसहित २ सय ७ प्रकारका औषधी उत्पादन गरिरहेको छ । यो कम्पनीले म्याग्नसले नेपालमा मात्र नभई भेनेजुएला, मोरिसियसलगायतका देशहरूमा समेत औषधीहरू निर्यात गर्दै आएको प्रबन्धनिर्देशक सुधीर प्रकाश मास्केले बताउनुभयो ।
राम्रो गर्यो भने नेपालको विकास सम्भव भएको धारणा राख्दै उहाँले भन्नुभयो – ‘हामीले कुनै कमजोर औषधी उत्पादन गर्दैनांै । विश्व स्वास्थ्य संगठनले जीएमपी सर्टिफाई गरेको छ । अब नेपालमा मात्र हैन, युरोपमा औषधी निर्यातका लागि सर्टिफाई गर्दैछांै ।’ उहाँले विगत ४० वर्षमा नआएका समस्या अहिले औषधी कम्पनीमा देखा परेको पनि बताउनुभयो । नेपाली औषधीमा गुणस्तरीयता कमी भएका समाचार बाहिरिएको दुःखेसो पोख्दै उहाँले भन्नुभयो– ‘सबै औषधी कम्पनी एकै प्रकारका हुँदैनन् । कम्पनीमा गएर प्रत्यक्ष हेरी, बुझीमात्र सत्यतथ्य समाचार सम्प्रेषण गर्नुहोला, नबुझीकन सबैलाई एउटै डालोमा राखेर हेर्दा समस्या हुन्छ ।’
१ अर्बको लगानीमा सञ्चालित यो औषधी कम्पनीले पहिलोपटक स्वचालित वे हाउस शुरू गरेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘नोडल स्प्रे पनि नेपालमै पहिलोपटक शुरू गर्दैछांै ।’ म्याग्नस फर्मा प्रा.लि का प्रमुख कार्यकारी मञ्जुली श्रेष्ठले म्याग्नस फर्माले गुणस्तरमा सम्झौता नगर्ने जिकिर गर्दै अन्य कम्पनीहरूले शुरू नगरेको र विश्वमा नभएको ३४ वटा मलिकुल नेपालमा म्याग्नसले उत्पादन शुरू गरेको जानकारी दिनुभयो ।
यी औषधीहरू नसा, छाला, हाडजोर्नी, फोक्सो, डिमेन्सिया, ग्यास्ट्रो, हेपाटाईटिस सी र बी, उच्च रक्तचाप र दीर्घ रोगका लागि प्रयोग गरिन्छ । उहाँले इन्जेक्टेबल औषधीका लागि नेपालले विदेशको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्दै म्याग्नसले नेपालमै गुणस्तरीय र सुरक्षित औषधी उत्पादन शुरू गर्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो । यो कम्पनीले ३ सय ६६ जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ ।
नेपाली औषधी कम्पनीको कोशेढुंगाको रूपमा स्थापित म्याग्नसले सन् २०२३ र २०२४ मा १८ महिनाभित्र विश्व स्वास्थ्य संगठनबाट २ पटक उच्च गुणस्तरीय औषधी उत्पादन गर्ने कम्पनीका रूपमा सम्मानित भएको थियो । त्यस्तै, म्याग्नस फर्माका क्वालिटी एसुरेन्स मेनेजर कमलेस यादवले बिरामीलाई इन्जेक्सनबाट औषधी दिँदा सीधै नसा, रगतमा पुगेर छिटो नतिजा दिने भएकोले यस्तो औषधीको गुणस्तर राम्रो हुनुपर्ने बताउनुभयो ।
नेपालमा इन्जेक्सनबाट दिने औषधी ४ वटा कम्पनीले मात्र उत्पादन शुरू गरेका छन् । इन्जेक्सनबाट दिने औषधीको उत्पादन धेरै खर्चिलो छ । औषधी उत्पादका लागि आवश्यक पर्ने कच्चा पदार्थदेखि हावा, पानी, उत्पादन गर्ने कम्पनीको सरसफाइलगायत प्याकिङ सबैमा विशेष सुरक्षा अपनाउनुपर्छ । गुणस्तरका विषयमा हरेक २ वर्षमा औषधी व्यवस्था विभागले अनुगमन गर्ने गरेको छ । औषधी हरेक पटक गुणस्तरीय बन्नुपर्ने भएकोले हरेक समयमा तालिमको व्यवस्था र उत्पादित औषधीको परीक्षण गरिरहनुपर्ने भएकोले गुणस्तरीय मेसिन व्यवस्थापनमा धेरै समय र खर्च लाग्ने उहाँको भनाइ थियो ।
उहाँले औषधी उत्पादनका क्षेत्रमा हावा माइक्रोबायोलोजी ल्याबमा हेपा फिल्टरबाट हावा फिल्टर गरेर भित्र पठाई निर्मलीकरण प्रविधिबाट निर्मलीकरण गर्नुपर्ने जानकारी दिँदै भन्नुभयो– ‘औषधीको म्याद २४ महिना दिँदा ३६ महिनासम्म काम गर्ने हुनुपर्छ । औषधीको म्याद २४ महिना प्लससम्म काम गर्छ तर तोकिएको म्यादभन्दा पछि बजारमा पठाउन मिल्दैन ।
औषधीलाई कति तापक्रममा राख्ने, कति तापक्रममा काम गर्छ भनेर ४० डिग्री सम्मको तापक्रममा राखेर हेरिन्छ । कहिलेकाँही प्याकेजिङले पनि औषधी बिगार्न सक्छ । त्यसैले औषधीमात्र गुणस्तरीय बनेर हुन्न प्याकेजिङ पनि गुणस्तरिय हुनुपर्छ । लेबलिङ अर्को महत्वपूर्ण विषय हो । औषधीभन्दा प्याकेजिङ महँगो पर्छ ।
औषधीको प्याकेजिङ, बजार, सुरक्षा धेरै महँगो हुन्छ ।’ ६ हजार करोडको नेपाली बजारमा नेपाली औषधीले ५० प्रतिशत धानेको छ । नेपालमा ७६ वटा औषधी कम्पनी छन् भने ४ वटाले मात्र इन्जेक्टेबल औषधी उत्पादन गर्छन् । नेपालले वर्षेनी १८ सय करोडको इन्जेक्टेबल औषधी आयात गरिरहेको बताइएको छ ।
प्रतिक्रिया