पाठेघर मुखको क्यान्सरविरुद्धको खोप निःशुल्क

2.26k
Shares

काठमाडौं ।

यसपटकको एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीले निःशुल्क पाउनेछन् । यो खोप अभियान १५ दिन (२२ माघ देखि ६ फागुन) सम्म चल्नेछ ।

आगामी २२ माघदेखि शुरू हुन गइरहेको अभियानका लागि अहिलेसम्म १४ लाख ९७ हजार भाइल खोप आइसकेको छ । अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको एचपीभी खोप आएको मंगलबार राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य पत्रकार मञ्चको आयोजनामा भएको हो ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले आइतबार थप ४ लाख ९० हजार भाइल खोप आइपुगेको जानकारी गराउनुभयो । यसअघि पहिलो र दोस्रो लट गरेर १० लाख ७ हजार भाइल खोप आइपुगिसकेको बताउनुभयो । उहाँले नेपालमा हरेक दिन ४ जनाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुन्छ । ‘हरेक वर्ष ५ लाख ७० हजार पाठेघरको मुखको क्यान्सरका बिरामी नेपालमा रहेका र सन् २०३० सम्ममा ७ लाखको हाराहारीमा पुग्ने अनुमान गरिएको छ’ –गौतमले भन्नुभयो।

एचपीभी खोप लगाएका ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर हुनबाट रोकथाम हुने, ९० प्रतिशत नियन्त्रण हुन्छ र ९० प्रतिशत सफलता मिल्छ भनी नेपाली थ्री नब्बे अभियानको नाम दिएको छ । यही अभियानमा विश्वका १ सय ४४ मुलुक अभियानमा जुटिसकेका छन् । नेपालमा हाल प्रति १ लाख महिलामा १६ जनामा पाठेघरको मुखको क्यान्सर भएको छ । ‘सन् २०३० सम्ममा प्रति १ लाखमा ४ जनामा झार्ने विषयमा नेपाल सरकारले विश्वसामु हस्ताक्षर गरिसकेको अवस्था छ’ –डा. गौतमले भन्नुभयो ।

यो खोप २०७२ साल देखि ०७४ सम्म चितवन र कास्कीमा परीक्षण गरिएको थियो । उक्त परीक्षणको पहिलो वर्ष शतप्रतिशतमा सफल भएको र दोस्रोमा झन्डै ९८ प्रतिशतमा सफल भएको थियो । यो खोप खोजी खोजी लगाएका थिए । खोपका लागि गाभीबाट कुल १७ लाख ७० हजार २० भाइल खोप आउने छ । डा. गौतमलले बाँकी खोप आगामी १० जनवरीभित्र आइसक्ने बताउनुभयो । उहाँले आइसकेका खोपहरूलाई प्रदेशस्थित आपूर्ति केन्द्रहरूमा पठाउने काम भइरहेको समेत जानकारी गराउनुभयो ।

उहाँले यसअघि लगाइएको खोप २ मात्रा रहेकोमा विश्व स्वास्थ्य संगठन र सिफारिस समितिको सिफारिसका आधारमा यो पटकबाट १ डोजमात्र खोप लगाए किशोरीहरू सुरक्षित हुने बताउनुभयो । सोही अवसरमा क्यान्सर विशेषज्ञ डा. सरिता घिमिरेले क्यान्सर भनेको मानव शरीरमा भएको अनियन्त्रित कोषिका बढ्नु हो। मानिसको कपाल र नङबाहेक सबै अंगमा क्यान्सर हुन्छ भन्नुभयो । उहाँले क्यान्सर एकपटक भएपछि पटकपटक हुन सक्छ। परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आए पनि निष्क्रियमात्र भएको हुन पनि सक्ने बताउनुभयो।

भाइरस फरक फरक खालको हुन्छ, कुनै हावामा सर्ने हुन्छ भने पाठेघरको मुखको क्यान्सर यौन सम्पर्कका क्रममा पुरुषबाट महिलामा सर्छ र महिलामा बढी असर गर्छ । त्यसैले यौन सम्पर्क गर्नु पहिला नै यो खोप लगायो भने भाइरस सर्न सक्दैन भने यौन सम्पर्कपछि यो खोप लगाउनुले क्यान्सरको भाइरस रोकथाम गर्न सकिन्न । यतिमात्र नभई यौन १६ वर्षमाथिका युवतीहरूलाई यो खोपले प्रभावकारी रूपमा काम नगरेको अध्ययन अनुसन्धानमा पाइएको पनि उहाँले जानकारी गराउनुभयो ।

डा. घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको भाइरस शरीरमा प्रवेश गरेको १० देखि २० वर्षमा फैलिन्छ र गम्भीर असर देखिन्छ । त्यसैले भाइरस सर्नुपूर्व खोपले नियन्त्रण गर्न सक्छ । हरेक महिलाले ३० वर्ष उमेर पछि एचपीभी र एचपीभी सेल्फ परीक्षण गर्नुपर्छ । क्यान्सर लागेका महिलाले लजाएर परीक्षण गर्न आउँदैनन् । यसका लागि आफैं नमुना संकलन गरी परीक्षण गराउन सक्ने व्यवस्था पनि रहेको छ ।

किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रित हुने डा. गौतमले बताउनुभयो । ‘खोप अभियान चल्छ, १८ हजार ९ सयवटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । विद्यालयबाहेकका स्वास्थ्य संस्थाहरूमा पनि खोप चल्छ । थप ८ हजार २ सयवटा यस्ता केन्द्र तोकिएको उहाँले जानकारी गराउनुभयो ।

डा. गौतमका अनुसार खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १ सय ६० जना स्वयंसेवक, १५ हजार ६ सय ७४ जना सुपरीवेक्षक परिचालन गरिन्छ । प्रदेश स्तरको तालिम सम्पन्न भइसकेको छ । अभियानका लागि १७ हजार ८ सय ४३ वटा सेफ्टी बक्स प्रयोग हुनेछ ।

सरकारले यसपटक यो खोप अभियानका रूपमा सञ्चालन गर्ने र अर्को वर्षबाट नियमित खोपको सूचीमा राखिसकेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्दका निर्देशक केशवराज पण्डितले बताउनुभयो । उक्त कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका पूर्वअध्यक्ष रामप्रसाद न्यौपानेले मिडियाको भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो भने मञ्चका अध्यक्ष सरोज ढुंगेलले सही सूचनाका लागि पत्रकारलाई मात्र हैन चिकित्सक स्वास्थ्यकर्मीलाई पनि तालिमको खाँचो रहेछ भन्नुभयो ।