‘काम गरौँ मुटु बचाऊँ’

10.15k
Shares

हरेक वर्ष झैँ यस वर्ष पनि ‘युज हार्ट फर एक्सन’ अर्थात ‘काम गरौं मुटु बचाऊँ’ भन्ने नाराका साथ विश्व मुटु दिवस २०२४ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । यस वर्ष छनौट गरिएको विश्व मुटु दिवसको नारा आगामी ३ वर्ष सम्मका लागि तय गरिएको हो । 

विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संघले आह्वान गरेअनुरुप सन् २००० देखि विभिन्न नाराका साथ हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाउने गरिएको छ ।

एनसीडी एलाइन्स र पाटन रोटरी क्लवको संयुक्त आयोजनामा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा नेपाल हार्ट फाउण्डेसनका पूर्वअध्यक्ष तथा बरिष्ठ मुटु रोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायले ‘मुटु रोगको रोकथामका लागि नेपाल सरकारको नीति ज्यादै कमजोर भएको र प्रभावकारी नीति बनाउन सरकारमा दबाब सृजना गर्नुपर्ने आवश्यकता भएको’ बताए। 

उनले ‘यस वर्षको विश्व मुटु दिवसको नारालाई अनुकरण गर्दै पहिला त आफ्नो जीवनशैली सुधार गरेर मुटुलाई स्वस्थ राख्नु पर्ने र अर्को मुटुमैत्री नीति, नियम बनाउन नीतिनिर्माताहरुलाई दबाव दिनुपर्ने’ बताए ।

डा उपाध्यायले भने, ‘मुटु रोग ज्यादै डरलाग्दो छ र हरेक वर्ष वृद्धि भइरहेको छ । मुटु रोग नियन्त्रण गर्न सकिने कुरा विकसित देसमा प्रमाणित भएसकेको छ र अहिले विकसित देसमा मुटु रोग घटिरहेको छ । तर, नेपाल र नेपाल जस्ता देशमा भने यो रोग वृद्धि भइरहेको छ । मुटुरोगलगायतका कारण जनता नै विरामी भए भने नेताहरुले को माथि शासन गर्छन्, ती रोगी जनताले देशका लागि र आफ्ना लागि के गर्न सक्छन् ? यस्तै गतिले मुटुरोग बढ्दै गए देश नै टाट पल्टिन सक्छ । यो कुरालाई हाम्रा नेताहरु र सरकारमा बस्नेहरुले बुझिरहेको देखिदैन । त्यसकारण मुटु रोग नियन्त्रणका लागि राम्रो स्वास्थ्य नीति बनाउने कार्यमा हामी सबैले दबाब दिन जरुरी छ । हामीले निरन्तर खबरदारी ग¥यौं भने सफलता प्राप्त गर्न सकिन्छ’ डा उपाध्यायले भने ।

डा उपाध्यायले ‘मुटुलाई स्वस्थ राख्ने नाममा धेरै एक्सरसाइज गरेर मुटुलाई अति काम गराउनु पनि नहुने बताउँदै ‘खेलकूदमा प्रतियोगितात्मक तनाव, विभिन्न स्टेरोइड औषधिको प्रयोग र बढी एक्सरसाइजका कारण खेलकूद र जीम गर्ने मानिसहरुको बेलाबेलामा मुटुमा समस्या आई आकस्मिक मृत्यु हुने गरेकोले यस्तो क्षेत्रमा लाग्नेहरुले बेलाबेलामा मुटुको राम्ररी परीक्षण गर्न आवश्यक रहेको’ बताए ।  

एनसीडी एलाइन्सका अध्यक्ष तथा बरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले, ‘विश्वमै मुटुरोग मानव मृत्युका प्रमुख कारण बनिरहेको र बर्षेनी करिब २ करोड ५० लाख मानिसको मृत्यु मुटुसम्बन्धी रोगका कारण हुने गरेको र त्यसमध्ये ७५ प्रतिशत नेपाल जस्ता विकासोन्मुख मुलुकमा रहेको’ बताउँदै ‘नेपालमा वार्षिक ३० हजार मानिस मुटु रोगका कारण मृत्यु हुने गरेको र यो बढ्दो क्रममा रहेको’ बताए । 

डा रेग्मीले भने, ‘जीवनशैली परिवर्तन गरेर मुटुरोगलाई ८० प्रतिशतसम्म रोकथाम गर्न सकिन्छ । यसका लागि जनचेतना अभिबृद्धि आवश्यक छ । यस वर्षको विश्व मुटु दिवसको नाराको एउटा अर्थ हो जीवनशैली परिवर्तन गरेर मुटु बचाउने तथा त्यसका लागि चेतना अभिबृद्धि गर्ने र अर्को अर्थ मुटुसम्बन्धी उपचारका लागि सरकारले काम गरेको भएता पनि रोकथामका लागि प्रभावकारी काम हुन नसकेकाले मुटुमैत्री नीति र नियम कानुन बनाउन सरकारलाई दबाब दिने हो ।’ 

‘बाथ मुटुको रोग एचआइभीभन्दा खतरनाक भए पनि तुलनात्मक रुपमा सरकारले निकै कम बजेट छुट्याउने गर्छ । बाथ मुटुको रोगबाट बर्षेनी १ हजारको मृत्यु हुने गरेको छ । यो शतप्रतिशत नै रोकथाम गर्न सकिने रोग भएता पनि सरकारले उपचारात्मक सेवामा मात्र जोड दिइरहेको छ । रोकथामका लागि विशेषगरी रोटरी क्लव र नेपाल हार्ट फाउण्डेसनले काम गरिरहेका छन् । गत वर्ष १ सय ५५ जनाको योगदानबाट करिब एक करोड ३ लाख रुपियाँ बाथ मुटुको रोग उन्मुलन कार्यक्रम अन्तर्गत सङ्कलन भएको र आगामी वर्ष करिब रु २ करोड सङ्कलन गरी रोकथाम कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको’ डा रेग्मीले जानकारी गराए।

 

सो कार्यक्रमका अवसरमा नेपाल हार्ट फाउण्डेसनको बाथ मुटुरोग उन्मुलन कोषमा विभिन्न दाताहरुले नगद सहयोग गर्नुभएको थियो । पाटन रोटरी क्लवका सदस्य रविन्द्र राज पाण्डे तथा चन्द्रलेखा पाण्डे दम्पतीले रु २५ लाखको चेक नेपाल हार्ट फाउण्डेसनका महासचिव कोमल प्रसाद घिमिरेलाई हस्तान्तरण गरे । 

यस्तैगरी पद्मोदय भेटरान क्लवले  १ लाख ५ हजार, ब्राइटर स्टार सोसाइटीका दृष्टिविहिन बासुदेव अधिकारीले  २१ हजार हस्तान्तरण गर्नुका साथै हरेक वर्ष आजीवन रु २१ हजार दान गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै अन्य विभिन्न दाताहरुले पनि रकम दान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । 

विश्व मुटु दिवसका अवसरमा विभिन्न विद्यालयहरुका विच आयोजित प्रतियोगितात्मक क्विज कन्टेष्ट प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पाटन रोटरी क्लबका अध्यक्ष प्रीती खेम्कालगायतले पुरस्कार वितरण गरेका थिए । 

सो कार्यक्रममा मुटु रोग विशेषज्ञ डा राजेन्द्र कोंजु, एनसीडी सह अध्यक्ष शान्तलाल मुल्मी, पाटन रोटरी क्लबका अध्यक्ष प्रीती खेम्कालगायतले मुटुको महत्व र मुटुरोग नियन्त्रणका लागि चाल्नु पर्ने कदमका बारेमा आ आफ्ना विचार व्यक्त गरेका थिए । साथै बाथ मुटुरोग उन्मुलन कार्यक्रम सञ्चालन गर्न नेपाल हार्ट फाउण्डेसनको बाथ मुटुरोग उन्मुलन कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक आह्वान गरिएको थियो । 

Skip This