एकान्त कुना–टीकाभैरब सडक बिस्तारविरुद्ध आन्दोलन: सबै दल एक ठाउँमा

11.94k
Shares

  • कांग्रेस, एमाले जिल्ला अध्यक्षको एउटै मत
  • स्थानीयको आन्दोलनमा दलका नेताको समर्थन

ललितपुर ।

एकान्तकुनादेखि टीकाभैरबसम्मको सडक ६२ मिटर गर्ने निर्णयविरुद्ध आन्दोलतरत स्थानीय संघर्ष समितिको निर्णयमा पूर्वमन्त्री पम्फा भुषाल, पूर्व राज्यमन्त्री उदय शम्सेर जबरा, नेपाली कांग्रेस ललितपुर अध्यक्ष जितेन्द्र मलेगो र एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले समर्थन जनाएका छन् ।

समितिको ध्यानाकर्षणपत्र बुझ्ने क्रममा उनीहरूले संघर्ष समितिको जस्तोसुकै निर्णयमा आफूहरूको सहभागिता रहने बताएका छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खड्का, १३ का गणेश केसी, १८ का दामोदर खड्का, २२ का अध्यक्ष सागर तुलाधर, २५ का दौलतकुमार खत्रीसहित प्रभावित सबै वडाअध्यक्षले समितिको सबै आन्दोलनमा एक्यबद्धता जनाउने बताएका छन् ।

संघर्ष समितिले ललितपुर जिल्लाबाट सार्वजनिक पद धारण गरेका ११ जनालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
समितिले आज बुधबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र वडा अध्यक्षहरूलाई ध्यानाकर्षणपत्र बुझाउने भएका छन् । समय अभावको कारण मंगलबार बुझाउन सकिएन, आज बुझाउनेछौं–संयोजक विदुर थापाले भन्नुभयो।

समितिका संयोजक थापासहितको टोलीले मंगलबार र बुधबार ध्यानाकर्षणपत्र बुझाउने जनाएको छ । संयोजक थापाले भन्नुभयो–पूर्वमन्त्री भुसालले त सबै किमिसको आन्दोलनमा पार्टी र आफ्नो सहभागिता हुने जानकारी दिनुभयो। पार्टी अध्यक्षहरूले आन्दोलनमा सक्रिय सहभागिताका लागि पार्टी पंक्तिलाई निर्देशन दिने आश्वासन संघर्ष समितिलाई दिएको छ।
मन्त्रिपरिषद्को२०७६ जेठ ६ गतेको बैठकले कान्तिलोकपथलाई राष्ट्रिय राजमार्गको रूपमा बिस्तार गर्ने निर्णय गरेको थियो। समितिले उक्त निर्णय खारेजबाहेक कुनै सहमति हुन नसक्ने स्पष्ट पारेको छ । उहाँले भन्नुभयो – ‘हजारौं जतनालाई सुकुम्बासी बनाउने निर्णय कुनै हालतमा मान्य हुनेछैन ।’

तत्कालीन सरकारले ५ वर्षअघि गरेको निर्णय एक महिना अघिमात्र जानकारी पाएपछि त्यसको विरोधमा संघर्ष समिति गठन गरेको थियो । २२ मिटरको सडकलाई ६२ मिटर बनाए एकान्तकुनादेखि टीका भैरवसम्म लैजाने योजना सरकारले बनाएको थियो । जुन निर्णयबाट हजारौं स्थानीयको सडकमा बास हुने अवस्था सिर्जना भएको छ।

सरकारको निर्णयविरुद्ध वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री पे्रमभक्त महर्जनको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ध्यानाकर्षणपत्र बुझाएका छन् । ९२ किलोमिटर लामो सो सडकको जिरो किलो चापागाउँ कायम थियो ।

स्थानीयवासीसँग कुनै छलफल नै नगरी गैर न्यायिक र अव्यवहारिक रूपमा टीकाभैरब –छम्पी भैंसेपाटी र नख्खु हुँदै एकान्तकुना बनाएपछि स्थानीयले आपत्ती जनाएका थिए। २०७६ सालको मन्त्रिपरिषद्को बैठकले सडक, रेल तथा यातायात विकासको पाँचवर्षे रणनीतिक योजना एवं हाल विकास भएको सडक सञ्जाललाई मध्यनजर गर्दै जेठ ६ मा प्रस्ताव पेस गरेको थियो। सोही प्रस्तावको आधारमा नयाँ मापदण्ड कायम भएको हो।

सडक डिभिजन कार्यालय ललितपुरले राष्ट्रिय राजमार्गको रूपमा बिस्तार हुन लागेको सो सडक दायाँबायाँ ६२ मिटर हुने जनाएको छ । कार्यालयले सार्वजनिक सडक ऐन–२०३१ को दफा ३ बमोजिम सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुवैतिर ३१ मिटर नबढाई सडकको सीमा तोक्नेछ भनी उल्लेख छ।

२०७२ को संबिधानको अनुसूची ५ को बुँदानम्बर २० मा राष्ट्रिय यातायात नीति रेल तथा राष्ट्रिय लोकमार्ग व्यवस्थापन गर्ने उल्लेख थियो । सोही आधारमा सो सडकलाई लोकमार्गमा समावेश गरेको हो । सोही आधारमा नेपालमा ८० राष्ट्रिय लोकमार्ग, ९२ प्रदेश लोकमार्ग र ३५ स्थानीय सडकमा विभाजन गरेको थियो।