म्याग्दीको अन्नपूर्ण गाउँपालिकाद्वारा ५३ करोड २४ लाख रुपैयाँको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्य–पर्यटन र पूर्वाधार निर्माणमा विशेष जोड

752
Shares

म्याग्दी।

‘समृद्ध अन्नपूर्ण निर्माणको आधारः दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित आइतबार अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँसभाको १९औं अधिवेशनबाट अन्नपूर्णले आगामी वर्ष कुल ५३ करोड २४ लाख ४३ हजार रुपैयाँको बजेट ल्याएको हो ।

आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल बजेटको चालुतर्फ ३४ करोड ८५ लाख पाँचहजार अर्थात् ६५ दशमलव ४५ प्रतिशत र पुँजीगततर्फ १८ करोड ३९ लाख ३८ हजार अर्थात् ३४ दशमलव ५५ प्रतिशत बजेट विनियोजन गरेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिइन् ।

उपाध्यक्ष पुनका अनुसार सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ सात करोड ४७ लाख, राजश्व बाँडफाँड आठ करोड ८५ लाख, सशर्त अनुदान २१ करोड १६ लाख १७ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८७ लाख १२ हजार, विशेष अनुदान ४० लाख र समपूरक ६० लाख रुपैयाँ रहेको छ । यसैगरी प्रदेशबाटै प्राप्त सवारी कर बाँडफाँडतर्फ एक करोड एकलाख ६३ हजार, आन्तरिक राजश्व एक करोड ७२ लाख ५० हजार र आगामी वर्षका लागि अल्यातर्फ अनुमानित सात करोड रुपैयाँ रहेको छ ।

उपाध्यक्ष पुनले गाउँसभा अधिवेशनमा प्रस्तुत गरेको बजेटअन्तर्गत सामाजिक विकासमा २२ करोड ४९ लाख ८५ हजार अर्थात् ४२ दशमलव २६ प्रतिशत रहेको छ भने यसअन्तर्गत शिक्षातर्फ कुल १७ करोड २८ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । सामुदायिक विद्यालयमा ‘आईसिटी फर फ्राइडे’ कार्यक्रम सञ्चालन गर्न २१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताइन् । स्वास्थ्यतर्फ एक करोड ५९ लाख ७६ हजार रुपैयाँ बजेट विनियोजन भएको छ भने युवा तथा खेलकुद विकासमा युवालक्षित कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाभित्र रहेका कला, संस्कृति तथा मनोरञ्जनको क्षेत्रतर्फ पुख्र्यौली तथा संस्कृति संरक्षण कार्यक्रमको लागि १३ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन भएको छ भने लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ कुल ७४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको बजेट बक्तव्यमा उल्लेख गरिएको छ । भौतिक पूर्वाधार विकासतर्फ १३ करोड ५७ लाख १८ हजार रहेकोमा यसमध्ये सडकमा दुई करोड ४१ लाख ५० हजार, खानेपानी तथा सरसफाइमा एक करोड २५ लाख र भवन आवास तथा सहरी विकासतर्फ प्रशासकीय भवन निर्माणमा दुई करोड ५० लाख रहेको छ ।

आर्थिक विकासमा दुई करोड ८६ लाख बजेट विनियोजन भएको छ भने अन्नपूर्ण आधारशिविरमा पर्यटन पूर्वाधार निर्माणमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै सहकारी, सूचना तथा सञ्चार, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन र सार्वजनिक सेवाप्रवाहलगायत शीर्षकमा पनि बजेट छुट्याइएको छ । यसअघि गाउँसभाको अधिवेशनमा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । प्रस्तुत नीति, कार्यक्रम र बजेट आउँदो बुधवार गाउँसभामा छलफलसहित पारित हुनेछ ।

Skip This