‘टक्सिक रिलेसनसिप’ तोड्नु राम्रो



आफ्नो मन पर्ने साथी, प्रेमी, आफन्त एवं दौंतरीहरूबाट नै मित्रताका नाममा आफू अपमानित, शोषित, पीडित बनिरहेको तपाईंले कहिल्यै महसुस गर्नुभएको छ ?मित्रता वा सम्बन्धको निरन्तरताका नाममा सधैं उसैको स्वार्थ पूरा गर्नु पर्ने, अपमानित हुनुपर्ने, उसैको नियन्त्रणमा बस्नुपर्ने र आफ्नो आत्मसम्मान नै गुमाउनुपर्ने स्थिति धेरै मानिसहरूलेभोगिरहेका हुन्छन्। यस्तो ‘टक्सिक रिलेसनसिप’ तोड्न पनि नसक्ने र सुधार गर्न पनि नसक्ने अवस्थामा पुगेका विशेषगरी युवा पुस्ता गम्भीर मानसिक रोगको शिकार बनिरहेको पाइन्छ ।

विद्यालय, कलेज, छिमेकी, आफन्त वा कुनै समूहमार्फत् मानिसहरू आपसमा साथी बन्ने, प्रेम प्रकट गर्ने र मित्रता जोड्ने गर्छन्। वास्तवमा साथी हाम्रो जीवनका एकदमै महत्वपूर्ण व्यक्ति हुन्, तर सबै मित्रता स्वस्थ हुँदैनन्। यस्तो घातक मित्रतालाई कायम राख्नाले जीवन नै बर्बादितिर मोडिन्छ। बेलायतस्थित मेन्टल हेल्थ फाउन्डेसनका अनुसार यस्तो घातक सम्बन्धमा रहेकाहरूमध्ये ६८ प्रतिशत मानसिक रोगको शिकार भएका छन्।

घातक सम्बन्धले निरन्तर रूपमा नकारात्मक तरिकाले भावनात्मक र मनोवैज्ञानिक आनन्दमा प्रभाव पारिरहेको हुन्छ । प्रेम यौनसम्बन्धमा आधारित हुँदैन, आदर, विश्वास र इमान्दारितामा आधारित हुन्छ भन्ने कुरालाई बेलैमा बुझ्नुपर्छ । घातक सम्बन्धमा संयुक्त रमाइलोपन, आदर र सहयोगी भावना पनि हुँदैन। कहिलेकाहीँ साथीहरू बीचमा यस्तो हुनसक्छ तर जब निरन्तर यस्तो अनुभूति हुन्छ,यसलाई घातक सम्बन्ध हो भन्ने बुझेर तोड्ने साहस गर्नुपर्छ।

‘टक्सिक रिलेसनसिप’ शब्द क्यालिफोर्नियाकी मनोविद् डा. लिल्लीअन ग्लास्सले सर्वप्रथम आफ्नो पुस्तक ‘टक्सिक पिपुलमा’ प्रयोग गरेको दाबी गरेकी छन् । उनका अनुसार एकअर्कालाई सहयोगको भावना नराख्ने, आफ्नो फाइदाको लागि सम्बन्ध दुरुपयोग गर्न खोज्ने, अर्कालाई कमजोर ठान्ने, अपमानित गर्ने प्रयास गर्ने, आपसी एकताको सट्टा द्वन्द्व र प्रतिस्पर्धाको भावना राख्ने र अनादर गर्ने प्रकारको सम्बन्ध नै ‘टक्सिक रिलेसन’ अर्थात् घातक सम्बन्ध हो । यस्तो सम्बन्ध रोमान्टिक त हुनै सक्तैन, सधैँ अप्रिय हुन्छ व्यक्तिगत स्वार्थमा निहीत, पारिवारिक र व्यावसायिक हिसाबले पनि खराब नै हुन्छ।

‘टक्सिक रिलेसन’का संकेत
टक्सिक रिलेसन जहिले पनि असुरक्षित हुन्छ । ईर्ष्यालु, नकारात्मक, निजी लाभमा केन्द्रित, आलोचनात्मक, स्वार्थी, दुव्र्यसनउन्मुख, अनादरयुक्त, होच्याउने किसिमको र शंकालु हुन्छ भने स्वस्थ सम्बन्धमा आपसी सुरक्षाको महसुस हुन्छ, प्रेमपूर्ण, सकारात्मक, लिनभन्दा दिन मनपराउने, स्वार्थरहित, प्रोत्साहनपूर्ण, उत्थान गर्ने खालको, सहयोगी भावनाको, दयालु खालको र आदरपूर्ण हुन्छ ।

सम्बन्ध स्वस्थ र सन्तुलित छैन, घातक सम्बन्ध बढ्न थालेको छ भने त्यसका संकेतहरू देखिन थाल्छन्, जसलाई आफैँले बुझ्नुपर्छ । यस्तो सम्बन्ध भएको अवस्थामा साथीले आफ्ना भावनाको अनादर र बेवास्ता गर्न थाल्छन्। आफ्ना गम्भीर समस्याहरू सुनाउँदा पनि हलुका तरिकाले लिन्छन्।

यस्तो सम्बन्धमा कुनै संयुक्त काम गर्दा, सम्पर्क, समय र शक्तिको समान उपयोग हुँदैन । संयुक्त काममा पनि आफू एक्लैले योजना बनाउने, समय र शक्तिको खर्च गर्नुपर्ने स्थिति बन्छ । साथीले अनेक बहाना र भावनात्मक कुरा गरेर इमोसनल ब्लाकमेलिङ गर्छन् । सानासाना कुरामा विवाद गर्ने र हरेक कुरामा आफूले नै जित्नु पर्ने व्यवहार देखाउँछन् । अगाडि ठिक्क पारेर राम्रा कुरा गरे पनि पछाडि कुरा काट्ने, प्रतिबद्धताहरू तोड्ने गर्छन् ।

यस्तो सम्बन्धबाट पीडितले आफ्नो कुनै मूल्य नभएको अनुभव गर्छ, आफूले सोचेको र अपेक्षा गरेजस्तो नभएको अनुभव गर्छ । आफू स्वतन्त्र नभएको, बरू कसैबाट नियन्त्रण भएजस्तो अनुभव हुन्छ । आफूले पाएकोभन्दा धेरै बढी अर्कोलाई दिनु परिरहेको र आत्मासम्मान गुमाइरहेकोअनुभव गर्छ । आफनो खाना र सुताइको शैली परिवर्तन गर्छ । बिनाकाम उसँग हिँडिरहेको जस्तो लाग्न थाल्छ साथै शारीरिक, मानसिक, भावनात्मक र यौन रूपमा शोषणमा परिरहेको अनुभव हुनथाल्छ ।

असल मित्रतामा आपसी हितका लागि हरेक सीमाहरूको आदर गरिन्छ तर घातक सम्बन्धमा समय, स्थान वा अरू कुनै प्रतिबद्धताका सीमाको अनादर गरिन्छ। त्यस्ता साथीसँग भेटेर छुट्ँिटदा आदर, सहयोग, प्रोत्साहनको सट्टा अवमूल्यन गरेको अनुभूति हुन्छ ।रचनात्मक आलोचना स्वस्थ सम्बन्धको लागि महत्वपूर्ण हुन्छ तर यस्तो सम्बन्धमा लगातार हतोत्साही गर्नेे खालको आलोचना हुन्छ।

स्वस्थ सम्बन्धमा सफलता र उपलब्धिका खबरहरू सुनाउँदा, खुसी हुने, रमाइलो गर्न तत्परता देखाउँछन् तर यस्तो सम्बन्धमा राम्रा र सफलताका खबर सुनाउँदा नाटकीय स्वर निकालेर हो मा हो मिलाएजस्तो गर्ने तर वास्तवमा इष्र्या गर्ने, कुरा काट्ने, मूड बिगार्ने गर्छन् ।

टक्सिक रिलेसनबाट कसरी बच्ने ?

–आफ्नो मित्रताबाट कस्तो असर परेको छ सोचविचार गर्ने र त्यो सम्बन्धले आफूलाई हानि बढी गरिरहेको छ भने जतिसुकै लामो सम्बन्ध भए पनि तोड्ने हिम्मत गर्नुपर्छ ।
–खराब सम्बन्ध समाप्त गरेपछि आफूलेपहिला बेवास्ता गरिएका र आफूलाई मनपर्ने महत्वपूर्ण कुराहरूसँग जोड्नुपर्छ ।
–आफ्ना स्वार्थलाई अघि नसारी हौसला प्रदान गर्ने, सही सल्लाह दिने र आदर गर्ने किसिमका साथी र आफन्तहरूसँग सम्बन्ध विस्तार गर्नुपर्छ ।
–खाना र व्यायाममा ध्यान दिनु, राम्रा पुस्तकहरू पढ्नु र असल मानिससँग समय बिताउनु ज्यादै लाभदायक हुन्छ । यसले मूडलाई स्फूर्त बनाउनुका साथै कुनै नयाँ कार्य गर्न प्रेरित गर्छ ।
–कहिलेकाहीँ घातक सम्बन्धको मानसिक स्वास्थ्यमा लामो असर परिरहेको हुन्छ । यस्तो बेला मनोवैज्ञानिक सहयोग वा उपचारको आवश्यकता हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्