जाजरकोटमा खानेपानीको हाहाकार : चार पालिकाका हजारौं स्थानीय काकाकुल



जाजरकोट ।

जाजरकोटका भेरी र नलगाड नगरपालिका, कुशे र बारेकोट गाउँपालिकाका गाउँबस्तीमा खानेपानीको हाहाकार भएको छ। लामो समयसम्मको खडेरी तथा कात्तिक १७ गते गएको भूकम्पका कारण जाजरकोटमा खानेपानीको समस्या भएको हो।

भूकम्पले पानीका मुहान भासिएर धारामा पानी कम आउन थालेपछि चिन्तित भएका जाजरकोटेमाथि सुख्खा खडेरीले पानीको मुहानै सुक्दा चारवटै स्थानीय तहका गाउँँबस्तीमा खानेपानीको चरम अभाव भएको छ।

अहिले उनीहरूलाई कसरी पानीको जोहो कसरी गर्न सकिन्छ भन्ने चिन्ताले पिरोलेको छ । भौगोलिक विकटता भएका अधिकांश गाउँबस्तीमा करिब ५ किलोमिटरभन्दा टाढाका मुहानबाट ल्याइएका पानीका धारा सुकेपछि घरआँगनमै पाइएको सुविधाबाट वञ्चित हुन पुगेका छन् ।

नलगाड नगरपालिका–४ बाहुसेखोला जुम्ली गारे खानेपानीको मुहान सुक्दा १५ घरपरिवार समस्यामा परेका छन् । भूकम्पले घरवारविहीन भएर नाना खानाको जोहो कसरी गर्ने भन्ने चिन्तामा परेका नागरिकलाई घारामा आउने पानी सुकेपछि बिहान बेलुका पानीको खोजीमा गाग्री बोकेर पानी खोज्दै हिँड्नु परेको नलगाड–४ का हरिश्चन्द्र रावलले बताउनुभयो ।

नलगाड–४ का चच्चुलाइन मुहान, पाल्ता पानी मुहानमा पानी आउन छाडेपछि कोटीगाउँका ४५ घरपरिवार, भात्चिउराका करिब ३५ घरपरिवार, डिम्रापानी मुहानको प्रयोग गरेका १४ घरपरिवार, प्याराधारा मुहानबाट गाउँबस्तीमा ल्याएको पानी मुहानमै सुकेका कारण ती गाउँबस्तीमा खानेपानीको हाहाकार भएको नलगाड नगरपालिका–४ का वडाअध्यक्ष बद्री पन्तले बताउनुभयो । उनीहरू खानेपानीको लिन एक घण्टा हिँडेर डाँडाखोला आउने गरेका छन्।

भूकम्पले आवासविहीन भएका नागरिकलाई पानी जुटाउन पनि समस्या भएको छ । नलगाड नगरपालिका–५ का प्रेस शाहीले पन्चासे खानेपानी, लेइखोरे खानेपानी, पुरानागाउँ खानेपानी मुहानमा पानी आउन छोडेपछि १ सय ४० घरपरिवारले नाउलाको पशुचौपायले खाने दूषित पानी खान बाध्य भएका छन्। नलगाड नगरपालिका १ देखि ७ नम्बर वडाका नागरिकलाई पनि खानेपानीको समस्या छ । ग्रामीण भेगका अधिकांश बस्तीमा खानेपानीको बिजोग छ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख मंगल शाहीले गाउँबस्तीबाट पानी मुहान सुकेर हाहाकार भएको जानकारी पाएपछि भेरी, नलगाड, बारेकोटका विभिन्न गाउँबस्तीमा खानेपानीका योजना सञ्चालन भइरहेको उहाँको भनाइ छ। गाउँमा आउने पानी बन्द भएपछि खोला नालाको पानी खाने गरेको नलगाड नगरपालिका–४ की रत्नकला गिरीले बताउनुभयो।

नलगाड नगरपालिकाले खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, कर्णाली एकीकृत सिँचाइ विकास आयोजनालगायतका कार्यालयसँग समन्वय गरेको जनाएको छ। आगामी वर्ष सञ्चालन हुने कार्यक्रम विशेष गरी कृषि, खानेपानी, आवासलाई बढी प्राथमिकता दिएर अघि बढ्ने भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्