साकेला उभौलीको रौनक सुरु



खोटाङ। 
माझकिरात खोटाङमा किरात समुदायको प्रमुख चाड साकेला उभौलीको रौनक सुरु भएको छ । अन्नबाली सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोसस, सुब्यफाब्य होस भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म मनाईने उभौली बैशाखे पुर्णे अर्थात बिहिबारदेखि सुरु भएको हो

साकेला उभौलीको अवसरमा परम्परागत भेषभूषामा सजिएका किरात दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घर–घरमा तीन चुल्हा पुज्नुका साथै भुमिको पूजाआजा गर्दै यो चाड मनाउने गरिन्छ । साकेलाको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीहरुमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जायमान बन्ने गरेको छ । साकेला हाड वर्षमा दुई पटक मनाउने चलन छ ।अन्नबाली छर्ने बेला अर्थात जलचर- थलचर उभोतिर लाग्ने समय वैशाखे पूर्णीमादेखि उभौली मनाउने गरिन्छ । यस्तै, अन्नबाली उठाउने समय अर्थात जलचर- थलचर उधो लाग्ने समय मङ्सिरे पूर्णिमाको दिनदेखि उधौली मनाउन सुरु गरिन्छ ।

 जिल्लाको किरात ऐतिहासिकस्थल तथा पर्यटकीयस्थल तुवाचुङ-जायजुम, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खा लगायतका धार्मीक तथा पर्यटकीयस्थलका साथै गाउँ – गाउँ , टोल-टोला जसो अवस्थित साकेला थानमा साकेला नाचिन्छ ।

किराती राई समुदायको घनाबस्ती रहेको खोटाङका हरेक किरातीका घरघरमा नाच्दै गाँउदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवतीहरुसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् ।
चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल-झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनासहितका गीत गाउँदै साकेला मनाइन्छ ।

साकेला चाडले जातीय, धार्मिक तथा साँस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्न भूमिका खेल्ने किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताएका छन् । यो चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान/प्रदान गर्ने गरिन्छ ।

साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठमाण्डौ लगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लाहरुमा मनाउने गरिएको छ । साकेला उँभौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् ।

साकेला उभौलीको अवसरमा नेपाल सरकारले एक दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्