सन्दर्भ बुद्ध पूर्णिमा

नेपालको नाम विश्वमा पुर्‍याउने वैशाख पूर्णिमा



हाम्रो देशका चाडपर्वहरु धेरैजसो तिथिबाट चल्छन् । त्यसैले यसपालिको वैशाख शुक्ल पूर्णिमा जेठ महिनाको १० गते पर्न आएको छ । यो पूर्णिमालाई बुद्ध पूर्णिमा पनि भन्दछन् । वैशाख पूर्णिमाको दिनमा संसारका कतिपय देशहरुले एकछिन् भए पनि नेपाल राष्ट्रको नाम लिन्छन् । यसरी किन नेपालको नाम लिन्छन् भन्ने बारे सोचौं । यसबारेमा संक्षेपमा विचार–विमर्श गरौं ।

यस पूर्णिमाको दिन पृथ्वीमा शान्तिको नारा दिने एक बालक जन्मिएका थिए । ती बालक कहाँ जन्मिएका थिए अथवा कुन देशमा जन्मिएका थिए ? त्यसबारे विचार गरौँ । ती बालक एसिया महाद्वीपभित्र नेपालको पश्चिम तराई भूभागस्थित लुम्बिनीमा जन्मिएको थिए । ती बालक कुन कुलमा कुन जातिमा जन्मिएका थिए भन्ने बारे अध्ययन गर्दा शाक्यवंशको कुलमा जन्मिएका थिए । ती बालक अन्त्यमा नेपालका छोरा हुन पुगे । त्यसताका नेपालको कपिलवस्तु राज्यमा शाक्यवंशले राज्य चलाइरहेका थिए । त्यो शासनकालमा ती बालक राजा शुद्धोदन शाक्यवंशकी रानी मायादेवीको कोखबाट जन्मिएको थिए ।

महारानी मायादेवीको गर्भ रहेको बेला माइती जाने रहर वा इच्छा भयो र राजासँग रानीले परामर्श गरी अनुमति लिइन् । गर्भवती रानी भारदार र सुसारे सबै लिएर माइती घर देवदह जान लागिन् । कपिलवस्तुको दरबारबाट महारानी बग्गीमा बसी देवदह माइतीमा आमाबुबाको घरतिर लागिन् । देवदहका राजा कोलियावंशका अञ्जन मायादेवीका बुबा हुन् भने सुलकशना आमा हुन् । त्यहाँ जानका लागि बाटो लामो थियो । साथै गर्मीको समय वैशाख महिना थियो । मायादेवी वैशाख पूर्णिमाभन्दा एक दिनअगाडि लुम्बिनीमा पुगेकी थिइन् । गर्मी महिना भएको हुनाले मायादेवीले एकछिन् भए पनि यो लुम्बिनी बगैँचामा आराम गर्ने विचार गरिन् । सबैसँग सल्लाह गरेर त्यहीँ आराम गरी बसिन् । अति गर्मी भएकोले लुम्बिनीमा भएको पोखरीमा उनले नुहाउने विचार गरिन् ।

दिउँसोको समय थियो । रानी मायादेवीले लुम्बिनीमा भएको पोखरीमा नुहाएर नास्ता गरिन् । त्यहाँ बसिरहँदा रानी मायादेवीलाई आफ्ने शरीर भारी भएको जस्तो अनुभूति भयो । हिँड्ने, डुल्ने मन भएन । त्यहीँ लुम्बिनी वनमा नै बास बसिन् । सुसारेबाट उनको हेरविचार भयो । तर रानीलाई राति चैन भएन । पेट दुखेर आयो । गर्भिणी भएकाले रानीको बच्चा पाउने समय भएको थियो । दिन गन्तीले पनि बच्चा जन्माउने महिना भइसकेको थियो । बच्चा पाउने महिना भइसकेकोले पेट दुखिरह्यो । बालकको जन्म हुनुअघि त्यही रातमा चन्द्रमाले दिव्य उज्यालो किरण दिइरहेको थियो । बिहानी पखको अवस्थामा रानी मायादेवी उठिन् र एउटा रुखको हाँगा समाती बालक जन्माइन् । त्यस बालकले आमाको कोखबाट बाहिर आउनेबित्तिकै सात पाइला टेकेको र दायाँ हात माथि उठाएर एउटा औँला उठाएको अवस्था थियो ।

तेजिलो बालक देखेर सबै सुसारेहरु चकित भए । बिहानीपख सिरसिर हावा चलेको, चराचुरुंगीको चिरबिर आइराखेको, रुखमा भएको पूmल वर्षा भएको र फूलहरु पनि मुस्काइरहेको देखियो । यो देखेर सबै खुशी भए र तुरुन्त राजालाई खबर गरे । साथै माइतीतिर पनि खबर पठाए ।
यो बालकको जन्म भएको अहिले २६४८ वर्ष भयो । यस्तो खबर सुनेर कपिलवस्तुका राजा शुद्धोदन शाक्य अति खुशी भए । सबैलाई बोलाएर रानीलाई दरबारमै भित्र्याउन हुकुम जारी गरियो । लुम्बिनी वनबाट रानी मायादेवी, बच्चासहित कपिलवस्तु दरबारमा सवारी भयो । केही दिनमा नै राजाले पुरोहितसँग परामर्श गरी उक्त बालक छोराको नामाकरण गराए । बालकको नाम सिद्धार्थ गौतम शाक्यवंश राखियो । साथै दिव्य ऋषिहरुबाट भविष्य वाणी पनि गरियो । यो बालक संसारमा ठूलो मानिस हुन्छ भनेर राजालाई बताइयो ।

रानी मायादेवी दरबार आएपछि धेरै बिरामी भइन् । छोरालाई जन्म दिएको सात दिनमा नै रानीले प्राणत्याग गरिन् । छोरा सिद्धार्थले आमाबाट प्राप्त हुनुपर्ने माया, ममता र बात्सल्यता पाएनन् । नेपालको छोरा सिद्धार्थ गौतम शाक्यवंशले जन्मनेबित्तिकै औँला उठाएका थिए । बालक सिद्धार्थले औँला उठाउनुको कारण के होला ?

१) संसारमा शान्तिको प्रकाश (शब्द) दिने पहिलो व्यक्ति म हुँ भनी एउटा औँला उठाएको हो ।
२) संसारमा राम्रो ज्ञान, बुद्धि प्राप्त गर्ने पहिलो व्यक्ति म सिद्धार्थ गौतम हुँ ।
३) यस भूगोल (संसार)को नायक नै म हुँ ।
४) संसारमा बौद्धधर्म स्थापना गर्ने पहिलो व्यक्ति म हुँ ।
५) यो पृथ्वीमा नेपाल राष्ट्रको नाम अगाडि ल्याउने पहिलो व्यक्ति म हुँ ।

सिद्धार्थले दरबारमा शिक्षा लिनुभयो। अनि घर गृहस्थी जीवन बिताएर ज्ञानको खोजीका लागि दरबार त्याग गरी हिँड्नुभएको थियो । उहाँले जंगलमा गएर बोधिवृक्षको रुखमुनि बसी ध्यान गर्नुभएको थियो । त्यसपछि बोधीज्ञान र बुद्धि प्राप्त गर्नुभएको थियो । उहाँले वैशाख शुक्ल पूर्णिमाको दिन बुद्धत्व प्राप्त गर्नुभयो । यो प्राप्त गरेको अहिले २६१३ वर्ष भयो । आफूसँग भएको विद्या अरुलाई सुनाउनुभयो । बुद्धत्व प्राप्त भएपछि सिद्धार्थ गौतमलाई सिद्धार्थ गौतम बुद्ध भनी नामाकरण गरियो । छोटकरीमा उहाँलाई गौतम बुद्ध पनि भनिन्छ । उहाँ ८० वर्षको उमेरमा वैशाख पूर्णिमाको दिनमा महापरिनिर्वाण हुनुभयो । उहाँ निर्वाण हुनुभएको २५६८ वर्ष भयो । बुद्धत्व प्राप्त भएपछि बुद्धले सब प्राणीहरुको सुख, शान्ति र मुक्तिको लागि बोधीज्ञानको उपदेश दिनुभएको थियो ।

वैशाख पूर्णिमाको दिनमा सिद्धार्थको जन्म भएको थियो भने त्यही वैशाख पूर्णिमाको दिनमा नै बोधीज्ञान प्राप्त अथवा बुद्धत्व प्राप्त भएको थियो अनि त्यही वैशाख पूर्णिमाकै दिनमा सिद्धार्थ गौतम बुद्धको महापरिनिर्वाण भएको थियो । जन्म, बुद्धत्व प्राप्त गरेको र निर्वाण भएको तीन संयोग नै वैशाख पूर्णिमा हो। त्यसैले वैशाख शुक्ल पूर्णिमाको ठूलो महत्व रहन गएको हो ।

यदि नेपालमा बुद्ध नजन्मेको भए नेपाल राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुन्छ ? नेपालमा शाक्यवंश जाति नभएको भए बुद्ध नेपालमा जन्म हुन्छ ? सोचनीय छ । सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेको कारण नेपालको नाम अन्तर्राष्ट्रिय जगत्मा व्यापक भएको अथवा फैलिएको हो । उहाँले हिंसा गर्नुहुँदैन, अहिंसामा बस्नुपर्दछ भन्ने कुरा फैलाउनुभयो । ध्यान–भावना गर्नुपर्दछ भनेर संसारमा ध्यान–भावना नेपालको छोराले विश्वसामु ज्ञानको रुपमा दिनुभएको थियो ।

नेपालमा गौतम बुद्ध जन्मनुभएको कारण धेरै संख्यामा विदेशीहरु बुद्धको जन्मस्थल हेर्न प्रत्येक वर्ष नेपाल भ्रमणमा आउँछन् । यसबाट देशलाई विदेशी मुद्रा आर्जन भएको छ । सिद्धार्थ गौतम बुद्ध जन्मेको स्थान लुम्बिनी अहिले अन्तर्राष्ट्रिय तीर्थस्थल घोषणा भएको छ। बुद्धको जन्म, बुद्धत्व लाभ र परिनिर्वाण भएको पवित्र वैशाख पूर्णिमाको दिनमा युएनओले पनि अन्तर्राष्ट्रिय बिदा दिएको छ । यो नेपाल राष्ट्र र नेपाली जनताको लागि गौरवको विषय हो। यो अन्तर्राष्ट्रिय तीर्थस्थलमा सबै राष्ट्रले बुद्धको मन्दिर र त्यहाँका कलाकृतिले विहार तयार गरिदिएकोले नेपाललाई फाइदा भएको छ । बुद्ध जन्मनुभएको देशको कलाकृतिहरु पनि संसारभर नै प्रख्यात छन् ।

संसारमा कहीँ नभएको कलाकृति बुद्ध जन्मनुभएको देशमा छ भनेर विश्वमा प्रख्यात रहेको छ । हुन पनि हो, नेपाल राष्ट्रभित्र सुनको छाना हालेको मन्दिर, काठको मन्दिर, ढुंगाको मन्दिर, चैत्य र लामो रथजात्रा हेर्न बुद्ध जन्म भएको देश भनेर हेर्न धेरै मानिस आउँछन् । यसबाट नेपाललाई धेरै फाइदा छ।

साथै नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउने व्यक्ति सिद्धार्थ गौतम बुद्ध नै हुन्। यसैले बुद्धको जन्मदिन भव्यरुपमा मनाउने सबै नेपालीको कर्तव्य हो।यस पावन दिनमा सारा संसारले एकछिन् भए पनि बुद्ध जन्मेको देश भनेर नेपाललाई सम्झने गर्छन् । यो नै नेपालीहरुको गौरव हो ।

विश्वमा नेपालको मान, सम्मान उच्च राख्ने महान् व्यक्ति शाक्यवंशका छोरा सिद्धार्थ गौतम बुद्ध हुन् । नेपालको नाम उच्च स्थानमा पुर्‍याउने व्यक्ति नै बुद्ध हुन् । यो ध्रुवसत्य कुरा हो । संसारले यसलाई मान्यता दिएको छ । बुद्ध जन्मेको अहिले २६४८ वर्ष भयो । नेपालले राष्ट्र संवत्को रुपमा बुद्ध संवत्लाई मान्नुपर्दछ । सारा नेपालीले यो संवत्लाई नै राष्ट्र संवत् भनेर मनाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्