प्रत्येक २ मिनेटमा १ जना गर्भवती तथा सुत्केरी आमाको मृत्यु



 काठमाडौं ।

प्रत्येक २ मिनेटमा १ जना गर्भवती तथा सुत्केरी आमाको मृत्यु हुने गरेको छ। यो रोकथाम गर्न सकिने कारणहरूको अवलम्बन समयमै नगरेका कारण मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

अन्तर्राष्ट्रिय मिडवाइफ दिवस मे ५ का दिन मिडवाइफ सोसाइटी नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रा. गोमा निरौलाले विश्व स्वास्थ्य संगठनको सन् २०२३ को प्रतिवेदनअनुसार उक्त भनाइ राख्नुभएको हो । उहाँले हरेक दिन विश्वमा ८ सय जना गर्भवती तथा सुत्केरी महिलाको, रोकथाम गर्न सकिने कारणले मृत्यु हुने गरेको देखिएको बताउँदै मिडवाइफको परिचालन गरेमा यो समस्यालाई न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

नेपालमा प्रतिलाख जीवित जन्ममा १ सय ५१ जना महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय जनगणनाको प्रतिवेदनमा उल्लेख गरिएको छ। मातृ मृत्युदरलाई घटाउन अर्थात् दिगो लक्ष्य सन् २०३० सम्म मातृ मृत्युदर ७० भन्दा कम गर्नुपर्ने लक्ष्य पूरा गर्नु चुनौतीको विषय छ।

त्यसै गरी सन् २०२२ को जनसांख्यिक सर्वेक्षणअनुसार नवजात शिशु मृत्यु दर २१ प्रति हजार जीवित जन्म रहेकोमा दिगो विकास लक्ष्यअनुसार १२ मा झार्नुपर्ने लक्ष्य पूरा गर्न मिडवाइफ जनशक्तिलाई लिनु उपयुक्त हुने प्रा. निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘विश्वभर भइरहेको हरितगृह ग्यास उत्सगर्जनमा पाँच प्रतिशत भार स्वास्थ्य सेवाको हुने गरेको छ।’

विश्व आर्थिक मञ्चले सन् २०२३ को प्रतिवेदनमा सबैभन्दा न्यून आय भएका देशले उत्सर्जनमा दशांश उत्पादन गर्ने तर जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने उल्लेख गरिएको छ।

मिडवाइफहरूले प्राकृतिक प्रशव विधिहरूलाई प्राथमिकता दिन्छन् जसले कम ऊर्जा खपत र शल्यक्रियाबाट हुने जन्मलाई कम गर्छन् । यसका साथै आमाकै स्तनपानलाई र डिस्पोजेबल डायपर र स्यानिटाइजरलाई जोड दिन्छन् यसले वातावरणीय प्रभावलाई कम गर्छ सोसाइटीका पूर्वअध्यक्ष प्रा. किरण बज्राचार्य भन्नुहुन्छ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. अमेन्द्र यादवले आफूले मन्त्रालयमा यो विषयमा गम्भीर रूपमा कुरा उठान गर्ने बताउनुभयो। त्यसै गरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले नर्सले जस्तो डाक्टरहरूले पर्खाइ कम गर्दा सिजरिङ सेक्सन धेरै बढी छ। यसलाई कमी ल्याउनुपर्छ यो कामका लागि उपयुक्त पात्र भनेका मिडवाइफ नर्स नै हुन् भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्