नयाँ वर्ष २०८१ः दोलखाको पर्यटकीय गन्तव्यहरुमा अत्यधिक भीड



पर्यटकीय केन्द्र कालिन्चोक र शैलुङ  

दोलखा।

नयाँ वर्ष २०८१ को पहिलो दिन शनिवार दोलखाको पर्यटकीय केन्द्र कालिन्चोक, शैलुङ, दोलखा भीमेश्वर, चरिकोट र जिरीमा २० हजार भन्दा बढी पर्यटक पुगेका छन् ।

धार्मिक एवं पर्यटकीय केन्द्र कालिञ्चोकमा २०८० को अन्तिम दिन शुक्रवार झन्डै चार हजार पर्यटक कालिञ्चोकमा बसेको र २०८१ को पहिलो दिन शनिवार दुई हजार भन्दा बढी पुगेको स्थानीय सुनपाती होटलका सञ्चालक एवं पर्यटन व्यवसायी हरि ओलीले बताए । तर यो वर्षको पहिलो दिन कालिन्चोक पुग्ने आन्तरिक पर्यटक गत वर्षको भन्दा घटेको ओलीले बताए । बाह्रय पर्यटक भने बढेको पर्यटन व्यवसायी ओलीको भनाई छ ।

दोलखाकै भीमेश्वर मन्दिर, शैलुङ, जिरी, च्छो–रोल्पा हिमताल लगायतका पर्यटकीय स्थल पुग्ने आन्तरिक एवं बाह्रय पर्यटक भने यो वर्ष बढेको स्थानीयले बताए । विगत लामो समयदेखी शैलुङको पर्यटन प्रवद्धनमा सक्रिय वरिष्ठ समाजसेवी एवं उप्रेती समाजका केन्द्रीय अध्यक्ष शोभित उप्रेतीले यो वर्ष शैलुङको सय थुम्को पुग्ने पर्यटक विगत वर्षको भन्दा अत्यधिक रहेको बताए ।

शैलुङ देशकै महत्वपूर्ण प्राकृतिक एवं धार्मिक पर्यटकीय केन्द्र हो । यो ठाउँमा विज्ञानपार्क, आध्यात्मिक केन्द्र, साहित्य घर लगायतका संरचना समेत निर्माण भै रहेको छ, वरिष्ठ समाजसेवी उप्रेतीले भने– यस्तो महत्वपूर्ण स्थानमा नयाँ वर्षको पहिलो दिन अत्यधिक पर्यटक पुग्नु आर्थिक समृद्धिको लागि समेत महत्वपूर्ण छ ।
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा पनि नयाँ वर्षको पहिलो दिन शनिवार गत बर्षहरु भन्दा निक्कै धेरै पर्यटक पुगेको भीमेश्वर गुठि तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।

सगरमाथाको प्रवेश द्वार र नेपालको स्वीटरजरल्याण्डको उपमा पाएको दोलखाको दोस्रो केन्द्र जिरीमा पनि यो वर्षको पहिलो दिन शनिवार अत्यधिक पर्यटक आएको जिरी उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । नयाँ बर्षकै अवसरमा जिरी महोत्सव समेत सञ्चालन भै रहेको र जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ लगायतका संघसंस्था तथा स्थानीयको पहलमा जिरी ताल निर्माण गरिएकोले पनि नयाँ वर्ष २०८१ मा अत्यधिक पर्यटक पुगेको अध्यक्ष श्रेष्ठले बताए ।

काठमाडौँ र भारतको भिटामोडबाट समेत नजिक रहेको र थुप्रै पर्यटकीय केन्द्र भएकोले पनि दोलखाको विभिन्न ठाउँमा नयाँ वर्ष मनाउने पर्यटक बढेको पर्यटन व्यवसायी हरि ओलीको भनाई छ ।

तस्विरः पर्यटकीय केन्द्र कालिन्चोक र शैलुङ

प्रतिक्रिया दिनुहोस्