पुतलीबजार नगरपालिकाका अनुकरणीय कार्यहरु



स्याङ्जा जिल्लामा पर्ने पुतलीबजार नगरपालिका नेपालका ७५३ वटा स्थानीय सरकारमध्येको एक हो। यो पालिका यस जिल्लाको सदरमुकामका रुपमा रहेको छ। यो पालिका २०५३ सालमा स्थापना भएको हो। यो पालिका आधिखोलाको काखमा रहेको छ। यो पालिका सिद्धार्थ राजमार्ग कोरिडोरमा पर्दछ। यो पालिका धार्मिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण छ।

यस पालिकाको नगरप्रमुखमा तुलसीराम रेग्मी र उपप्रमुखमा देवी अर्याल हुनुहुन्छ। यस पालिकामा हालै यस पंक्तिकारले क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गर्दा जनप्रतिनिधि र कर्मचारीबाट विभिन्न जानकारी हासिल भएका छन्। जसअनुसार, यस पालिकाको असल अभ्यासलाई नियाल्दा शिक्षातर्फ नेपाल सरकारले दिएको दिवा खाजा रु. १५ मा पालिकाले रु. १० थपेर विद्यार्थीहरुलाई दैनिक रु. २५ को खाजा उपलब्ध गराएको छ।

प्राविधिक शिक्षा (इन्जिनियर) अध्ययन गर्नको लागि नगरपालिकाभित्रका १४ वडाका २–२ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक प्रतिव्यक्ति रु. १ लाख ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । यस नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा ई हाजिरीको व्यवस्था लागू गरिएको छ। साथै, विद्यार्थीलाई पोशाक वितरण गरिनुको अलावा पुस्तकालय स्थापना गरिएको छ।

यसै गरी, यस पालिकाभित्रका विद्यालयका बालबालिकाको मुटु र आँखाको स्वास्थ्य परीक्षण र औषधि उपचारको व्यवस्था गरिएको छ । प्रधान अध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग शिक्षाको गुणस्तर अभिवृद्धिका लागि अन्तरक्रिया र क्षमता विकास तालिम सञ्चालन गरिएको छ । एसईई र कक्षा ८ मा उत्कृष्ट नम्बर वा जीपीए ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान र नगद पुरस्कार प्रदान गरिएको छ। यस पलिकाद्वारा विद्यालयका शिक्षक र कर्मचारीका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको छ। यी सबै प्रयासका कारण शिक्षाको गुणस्तरमा वृद्धिको अनुभूति गरिएको छ ।

स्वास्थ्य सेवातर्फ यस पालिकाले रक्तसेवा (ब्लड बैक) सञ्चालन गरेको छ । पालिकामा रहेको अस्पतालमा डाइलासिस सेवा सञ्चालन गरेको छ। माझी, बोटो, कुमाललगायतका सीमान्तकृत एवं विपन्न वर्गको स्वास्थ्य बिमा गरेको छ। स्वास्थ्य आमा पोषिलो खाना कार्यक्रमअन्तर्गत सुत्केरीलाई रु. १५ सय प्रदान गरेको छ।

निःशुल्क मुटु जाँच शिविर सञ्चालन तथा शल्यक्रिया सेवा प्रदान गरेको छ। गर्भवतीलाई क्याल्सियम वितरण गरेको छ। स्वास्थ्य संस्थातर्फ ई हाजिरी तथा अनलाइन रेकर्डिङ तथा रिपोर्टिङ प्रणाली आरम्भ गरेको छ। पालिकाभित्रका ३ वटा स्वास्थ्य संस्थामा एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। साथै, अस्पतालमा पालिकाको तर्फबाट चिकित्सक नियुक्ति गरेको छ । यसरी स्वास्थ्य सेवातर्फ पनि पालिकाका प्रयासहरु सराहनीय रहेका छन् ।

कृषितर्फ यस पालिकाले किसानलाई हाते ट्याक्टर अनुदान दिएको छ। यस पालिकाले सामुदायिक बीउ बैंक स्थापना गरेको छ । सिताके च्याउ उत्पादन र प्रवद्र्धन गरेको छ। सुन्तलाको कलमी बिरुवा उत्पादनका लागि हाइटेक नर्सरी स्थापना गरेको छ । प्लान्ट क्लिनिकका माध्यमद्वारा बाली संरक्षण गरेको छ। तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याएको छ। सहकारी कृषि कार्यक्रम सञ्चालन गरेको छ । एक घर एक करेसाबारी र एक टोल एक नर्सरी कार्यक्रम सञ्चालन गरेको छ।

यस पुतलीबजार नगरपालिकाले किसानसँग हरियो तरकारी खरिद प्रक्रिया आरम्भ गरेको छ । कोदो खेती गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको छ । प्रत्येक वडामा कृषि र पशुका प्राविधिक खटाइएको छ । किसानलाई प्लास्टिक टनेलमा ५० प्रतिशत अनुदान दिएको छ । धान र मकैको बीउमा ५० प्रतिशत अनुदान दिएको छ । कृषि हाट बजार स्थापना गरेको छ । आलुको बीउ बीजन र कुखुराको चल्ला वितरण गरेको छ । माटो परीक्षण गरेको छ । किसानलाई सेलर, हलर (सानो मिल) मा अनुदान दिएको छ । यसरी यो पालिका कृषिलाई यान्त्रिकीकरणमा रुपान्तरित गर्न र व्यावसायिक कृषितर्फ उन्मुख रहेको पाइन्छ ।

पशु सेवातर्फ पुतलीबजार नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको छ । पशु स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । यस पालिकाले पशु वधशाला निर्माण गरेको छ । घरदैलोमा पशु स्वास्थ्य सेवा तथा चिकित्सा सेवा प्रदान गरेको छ । महामारी रोग नियन्त्रण गरेको छ । पशु खोप कार्यक्रम निःशुल्क सञ्चालन गरेको छ । व्यावसायिक कृषकहरुलाई पशुपालन तालिम दिएको छ । बाख्रा वितरण गरेको छ । फर्म दर्ता गरी बाख्रा पालन, भैँसी पालन गर्ने किसानहरुलाई प्रोत्साहनस्वरुप अनुदान दिएको छ । डाले घाँसको बीउ निःशुल्क वितरण गरेको छ । यसरी, पुतलीबजार नगरपालिकाले पशु सेवामा पनि निकै राम्रा काम गरेको पाइन्छ ।

सुशासनतर्फ नेपाल सरकारले लागू गरेको पाम्स (जिन्सी व्यवस्थापन) सफ्टवेयर लागू गरेको छ । वडा सचिवहरुलाई पञ्जीकरणको तालिम दिनुको साथै आम नागरिकमा पनि चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । यस पालिकाले पुराना पञ्जीकरणका अभिलेखलाई डिजिटाइज्ड गरेको छ । वडा कार्यालयमा प्रत्येक महिनाको ३ गते नियमित बैठक बस्ने गरेको छ । डिजिटल पालिका घर नक्सा कार्यक्रम आरम्भ गरेको छ । अनुगमन कोष हटाई खर्च कटौती गरिएको छ । अनलाइन बिल्डिङ पर्मिट प्रणाली लागू गरेको छ । अनलाइन कर प्रणाली लागू गरेको छ । डिजिटल नागरिक बडापत्र जारी गरेको छ । ई हाजिरी वडा, स्वास्थ्यमा र स्कूलमा विस्तार गरेको छ । साथै, नागरिक सहायता कक्ष, स्तनपान कक्षलगायत आरम्भ गरेको छ । यस पालिकामा वडामै योजना सम्झौता हुने गरेको छ ।

सामाजिक सुरक्षातर्फ, ज्येष्ठ नागरिकको मासिक भत्ता बैंकबाट उपलब्ध गराएको छ । ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम सञ्चालन गरेको छ । ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा लगेको छ । ज्येष्ठ नागरिकको मोतियाविन्दुको अपरेसन गरेको छ । अपांगता भएकामध्ये क वर्गलाई स्याहार भत्ता प्रदान गरेको छ । साथै, सामाजिक सुरक्षा लाभग्राहीहरुको नामावाली वेबसाइटमा प्रकाशित गरेको छ। यस पालिकाले स्कूल भर्नामा जन्मदर्ता अनिवार्य गरेको छ । साथै, ज्येष्ठ नागरिक र अपांगता भएकालाई परिचयपत्र वितरण गरेको छ।

पुतलीबजार नगरपालिकाले महिलाको आयआर्जनका लागि सिलाइ–बुनाइ तालिम दिएको छ। घरेलु हिंसा न्यूनीकरणका लागि कानुनी परामर्श सेवा प्रदान गरेको छ। नगरभित्रका हरेक वडामा पुग्ने सडक निर्माण गरेको छ। फोहोर संकलन, वर्गीकरणका लागि सरसफाइ केन्द्र खडा गरेको छ। साथै खरको छानामुक्त पालिकाको रुपमा चिनिएको छ।

वडा विकास कार्यक्रममार्फत समूहको जमिनमा विनाधितो घुम्ती कोष लगानीद्वारा सहुलियत ब्याज दरमा ऋण प्रवाह गरिएको छ । साथै, सीप विकास तालिम पनि सञ्चालन भएको छ।

यस पालिकाले मगर दिवसमा बिदा दिने गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएकालाई वोर्यर बाख्रा वितरण गरेको छ। साझेदारीमा रोजगारमूलक कार्यक्रम सञ्चालन तथा भौतिक संरचना निर्माण गरेको छ। साथै, वैदेशिक रोजगारीमा जानेलाई परामर्श सेवा दिने गरेको छ। वैदेशिक रोजगारीमा अंगभंग भएका वा मृत्यु भएकाको परिवारलाई कल्याणकारी सेवा सुविधा उपलब्ध गराउन पहल गरेको छ।

यसरी पुतलीबजार नगरपालिकाले विविध रचनात्मक कार्य गर्दै आएको छ । यसरी पुतलीबजार नगरपालिकाबाट सम्पादित काम र असल अभ्यासहरु अन्य पालिकाका लागि अनुकरणीय रहेका छन् । यस पालिकाको कार्य सफलताको शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्