स्वास्थ्य बिमा कार्यक्रम आजबाट सबै पालिकामा पुग्दै 



काठमाडौँ ।

आठ वर्ष अघि कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम आजबाट देशव्यापी हुने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू हुन बाँकी रहेको अन्तिम पालिका काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा आजबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु हुँदै छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बिमा दिवसको अवसरमा आज आयोजना हुने औपचारिक कार्यक्रममा बुढालिनकण्ठ नगरपालिकामा प्रतिनिधिलाई सदस्यता प्रदान गरी त्यस पालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको घोषणा गर्ने छन्।

‘जिल्लागत कभरेज गतवर्ष नै पुरा भएको हो । ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । तर सबै पालिकामा पुगेको थिएन । पछिल्लो पटक काठमाडौँ महानगरपालिका पछि बुढानीलकण्ठ नगरपालिका बाँकी थियो । आजबाट त्यहाँ पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु हुनेछ । आज हुने औपचारिक कार्यक्रममा प्रधानमन्त्री ज्यूले त्यहाँका जनप्रतिनिधिलाई सदस्यता प्रदान गरी बिमा कार्यक्रम सुरु भएको घोषणा गर्नु हुनेछ,’ बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भने ।

स्वास्थ्य बिमा कार्यक्रमको सञ्जाल देशभर पुगे पनि कभरेज दर भने अपेक्षाकृत बढेको छैन। अहिले पनि ७७ लाख ४१ हजार ४८३ जना अर्थात् कुल जनसङ्ख्याको २६.५४ प्रतिशत मात्रै स्वास्थ्य बिमामा आबद्ध छन् । अझ यसमध्ये करिब २२ प्रतिशत सरकारले प्रिमियम तिरिदिने लक्षित वर्गहरू समावेश छन्।

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले अबको ध्यान कभरेज बढाउनेमा हुने बताउँछन्। ‘अब स्वास्थ्य बिमा कार्यक्रम देशव्यापी भयो, अब औपचारिक क्षेत्र (सरकारी निकायका कर्मचारीहरु)लाई समेत समेट्ने र स्वास्थ्य बिमा अनिवार्य गर्ने गरी काम हुन्छ। यसै बर्षबाट त्यो काम सुरु हुन्छ । त्यसपछि बिमा कभरेज दर उच्च भै हाल्छ। सँगसँगै सेवा प्रदायकले दिने सेवामा पनि सुधार हुनेछ। हामीले अब अनुगमनलाई तीव्रता दिनेछौँ, नागरिक तहबाट आएका गुनासो सम्बोधन हुनेछन्,’ डा. लोहनीले भने ।

अब स्वास्थ्य बिमा कार्यक्रममा अनलाइनबाट आबद्ध हुन मिल्ने

आठौँ स्वास्थ्य बिमा दिवसको अवसरमा स्वास्थ्य बिमा बोर्डले नागरिक आबद्धता बढाउने योजना अनुरूप अब अनलाइनबाट स्वास्थ्य बिमामा आबद्धता हुन मिल्ने प्रणाली सुरु गर्दै छ।

आगामी १ वैशाख देखि कार्यान्वयनमा आउने यो प्रणालीले व्यक्तिले अनलाइन सिस्टममा आफ्ना विवरण पेस गरी रकम तिरेपछि सदस्यता बन्न सक्नेछन् । ‘हामीले अनलाइन दर्ता हुन मिल्ने गरी सफ्टवेर निर्माण गरिसकेका छौँ। आज घोषणा हुनेछ र १ वैशाख देखि कार्यान्वयनमा आउने छ,’ कार्यकारी निर्देशक डा. बसौलाले भने ।

अहिलेसम्म स्वास्थ्य बिमा कार्यक्रममा आबद्धता हुन चाहनेले दर्ता सहयोगीमार्फत सदस्यता हुन पाउँथे। अनलाइन सिस्टम कार्यान्वयनमा आउँदा दर्ता सहयोगी खोज्ने झन्झट भने अन्त्य हुने छ।

यस्तै आगामी १ वैशाख देखि सेवा प्रदायकले शोधभर्नाका लागि रियल टाइममा दाबी गर्नु पर्ने व्यवस्था कार्यान्वयनमा आउने बताइएको छ । यसपछि बोर्डले हरेक दुई दुई महिनामा सेवा प्रदायकलाई उपचार सेवा दिए बापतको शोधभर्ना गर्ने बताएको छ।

सरकारले आगामी १० वर्ष भित्र अर्थात् विसं २०९० सालसम्ममा सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्