लप्चीमा रहेको ८१० बर्ष पुरानो गुम्बा पुनर्निर्माण 



दोलखा। 

२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त लप्चीमा अवस्थित लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यानकेन्द्रको पुनर्निर्माण सम्पन्न भएको छ । प्रभु जिग्टेन सुम्गोन, द्धितिय नार्गजुनको आध्यात्मिक मार्गदर्शन तथा आर्थिक सहयोगमा गुम्बाको पुनर्निर्माण सम्पन्न भएको लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यानकेन्द्रको सचिव खेम्बु ङुटुपले बताए।

नौ सय ३५ बर्ष अघि मिलारिपा लप्चीमा आएर ध्यान गरेको विश्वास गरिन्छ । मिलारिपाले ध्यान गरेको स्थानमा आठ सय १० बर्ष अघि थुन्जीन एरुपाटाले लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यानकेन्द्रको निर्माण गरेको र सोही समय देखिनै प्रभु जिग्टेन सुम्गोन, द्धितिय नार्गजुनको पवित्रताले गुम्बा तथा ध्यानकेन्द्रको संरक्षण गरिरहेको गुम्बाका प्रमुख थुन्डुप पाल्देन शेर्पाले बताए । यो गुम्बामा मिलारिपाको पाईला समेत रहेको गुम्बाका सचिव खेम्बु ङुटुपको भनाई छ ।
पुनर्निर्माण गरिएको गुम्बा तथा ध्यान केन्द्रको उद्घाटन आगामी २०८१ साल जेठ १० गते गरिने सचिव खेम्बु ङुटुपले बताउनु भयो । गुम्बा उद्घाटन कार्यक्रममा आर्शिवादको लागि ड्रिकुंग क्याब्गोन कोन्चोक टेन्जिन कुन्सांग थ्रिन्ले लुन्द्रप– ड्रिकुंग काग्युको ३७ औ गद्दीधारीको उपस्थिति रहने गुम्बाका प्रमुख थुन्डुप पाल्देन शेर्पाले बताए ।

कार्यक्रम अनुसार जेठ ८ गते ड्रिकुंग क्याब्गोन लप्चीमा पुग्ने, जेठ ९ गते गुम्बामा पूर्व पूजा समारोह हुने, जेठ १० गते पुनर्निर्माण गरिएको गुम्बाको उद्घाटन हुने र जेठ १४ गते दीर्घायु पूजा गरिने स्थानीय फुर्वा शेर्पाले बताए ।

लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यानकेन्द्रमा बिभिन्न देशका मानिसहरु ले तीन देखी १५ बर्षसम्म ध्यान गर्ने गुम्बाका सचिव खेम्बु ङुटुपले बताए । अहिले पनि केन्द्रमा बिभिन्न देशका ४० जना ध्यानमा रहेको खेम्बु ङुटुपले बताए । लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यानकेन्द्रको लागि आवश्यक खर्च संरक्षणकर्ता र अनुयायीहरू बाट प्राप्त हुने सचिव खेम्बु ङुटुपको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्