स्याङ्जामा एसईई परीक्षामा ३४ परीक्षार्थी अनुपस्थित



स्याङ्जा ।

बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत पहिलो दिन स्याङ्जामा ३४ परीक्षार्थी अनुपस्थित रहे । १ सय ६८ विद्यालयका ४ हजार १ सय ३३ परीक्षार्थीले परीक्षा आवेदन फारम भरेका थिए । बिहीबारको परीक्षामा ४ हजार ९९ परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिए । सामुदायिक माध्यमिक विद्यालय तर्फ १ सय ३३ र संस्थागत तर्फका ३५ वटा माध्यमिक विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

२ हजार १ छात्रा र २ हजार १ सय ३२ जना छात्र परीक्षार्थीमध्ये १९ जना छात्रा र १५ जना छात्र अनुपस्थित रहेको प्रमुख आचार्यले जानकारी दिए । नियमिततर्फ ३ हजार ९ सय १४ मध्ये ३१ परीक्षार्थी अनुपस्थित रहेका छन् । प्राविधिकतर्फका १५६ र ग्रेड वृद्धिका ६३ जना मध्ये ग्रेड वृद्धिका ३ जना अनुपस्थित हुँदा ६० जनाले पहिलो दिन अंग्रजी विषयको ग्रेड वृद्धि परीक्षा दिएका छन् । सामुदायिकतर्फ १ हजार ६ सय ५० छात्रा र १ हजार ६ सय ३७ छात्र गरी ३ हजार २ सय ८७ परीक्षार्थी छन् ।

 त्यसैगरी संस्थागततर्फका ३ सय ५१ जना छात्रा र ४ सय ९५ छात्रगरी ८ सय ४६ परीक्षार्थी सहभागी छन् । प्राविधिकतर्फ बालीविज्ञानमा र कम्प्युटर इन्जिनियरिङ ३–३ विद्यालयबाट १ सय ५६ जना र धार्मिक ३ माध्यमिक विद्यालयतर्फका १९ जना पनि परीक्षामा सहभागी भएका छन्।

जिल्लाभरका ११ वटा स्थानीय पालिकालाई समेटेर २६ परीक्षा केन्द्र तोकिएका छन् । तीमध्ये वालिङ् नगरपालिकामा ७, पुतलीबजार नगरपालिकामा ५, फेदिखोला तथा आँधीखोला, बिरुवा र अर्जुनचौपारी गाउँपालिकामा एक–एक परीक्षा केन्द्र तोकिएका छन् । भीरकोट, गल्याङ्, चापाकोट नगरपालिका तथा कालीगण्डकी र हरिनास गाउँपालिकामा २–२ वटा परीक्षा केन्द्र तोकिएका छन् । पहिलो दिनको परीक्षा शान्त र मर्यादित वातावरणमा सम्पन्न भएको शिक्षा समन्वय इकाई प्रमुख आचार्यले जानकारी दिए ।

गत वर्ष ३४ वटा परीक्षा केन्द्र कायम रहेकोमा यसपटक २६ वटा मात्र केन्द्र कायम गरिएको छ । परीक्षार्थीको संख्या घट्दै जान थालेपछी केन्द्रको संख्या पनि घटाईएको समन्वय इकाईले जनाएको छ । जिल्लामा हरेक वर्ष एसईई दिने परीक्षार्थीको संख्या घट्दै गैरहेको तथ्याङ्क छ । बसाई सराईले गर्दा गाउँका विद्यालयहरुमा विद्यार्थी संख्या ओरालो लागेको सरोकारवालाहरुको भनाई छ । यस पटकको एसईई परीक्षामा सहभागी १ सय ६८ विद्यालयहरुमध्ये १९ वटा विद्यालयको विद्यार्थी संख्या १० भन्दा कम रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्