सन स्क्रिनको छनोट



सुष्मा महरा

हाम्रो शरीरको सबैभन्दा बाहिरी तत्व छाला हो । छालाले नै शरीरको सम्पूर्ण भाग ढाकेर रक्षा गर्ने भएकाले हामीले छालाको स्वास्थ्यको लागि विषेश ध्यान दिनुपर्छ । छालाको स्याहार गर्ने तरिकामध्ये छालालाई घामबाट बचाउनु पनि एक हो । हाम्रो शरीरका देखिने अंगमा घामले सीधै प्रभाव पार्ने भएकाले बच्चादेखि वृद्धसम्मले घाममा देखिने र धेरै घाम पर्ने अंगको छालालाई घामबाट बचाउनुपर्छ । त्यसको लागि सन् स्क्रिनको प्रयोग गर्नुपर्छ ।

छालालाई घामबाट डढ्न नदिन सन स्क्रिन क्रिम डेली स्किन केयरको रुटिनमा समावेश नगरी नहुने क्रिम हो । मानिसको शरीरलाई खानाको जति आवश्यकता पर्छ, त्यस्तै आवश्यकता स्किनलाई सन स्क्रिन क्रिमको पर्ने गर्छ । हामीले अनुहार, घाँटी, हात आदिलाई चर्को घाम र त्यसबाट पर्ने असरबाट बचाउनका लागि सन स्क्रिनको निकै महत्वपूर्ण भूमिका छ ।

यदि घाममा सन स्क्रिन प्रयोग गरिएन भने चायाँ–पोतो आउने, फ्रेकल्स बढ्ने, एलर्जी हुने, चिलाउने, डाबर आउने, घामबाट हुने फंगल्स आउने हुन्छ । यति मात्र होइन, घामले अनुहारको मोस्चर तानिसकेपछि छिट्टै चाउरीपनाको समस्या पनि शुरु हुन्छ । सन स्क्रिन त्यस्तो क्रिम हो, जसमा हाम्रो शरीरको छालालाई सूर्यको नराम्रो विकिरणबाट बचाउने तत्व समावेश गरिएको हुन्छ । जसलाई एसपीएफ अर्थात् सन् प्रोटेक्सन फ्याक्टर भनिन्छ ।

सन स्क्रिन क्रिम किन्दा त्यसमा रहेको एसपीएफको बारेमा पनि राम्रो जानकारी राख्नुपर्छ । एसपीएफ १५ ले ९३ प्रतिशत काम गर्छ भने एसपीएफ ३० ले ९७, एसपीएफ ५० ले ९८ र एसपीएफ १०० समावेश क्रिम लगाए पनि ९८ प्रतिशन नै सुरक्षा गरेको हुन्छ । त्यस अनुरुप एसपीएफ ५० लगाउँदा पनि पुग्छ । त्यसैले स्किनलाई घामबाट बचाउन सन स्क्रिन क्रिम प्रयोग गर्नुपर्छ । कतिपयले एसपीएफको बारेमा थाहा नपाएको कारणले पनि लापरबाही गरिरहेका हुन्छन् ।

जसको स्किनलाई घामले छिटो असर गर्छ, चाया–पोतो आएको छ, उनीहरुले सकेसम्म बढी एसपीएफ भएको सन स्क्रिन रोज्नुपर्छ ।

कतिपयले मेरो उमेर नपुगेकोले एसपीएफ कम भएको सन ब्लक लगाएको भन्ने गर्छन् । तर एसपीएफको नम्बर र मानिसको उमेरसँग कुनै सम्बन्ध छैन । आफ्नो स्किन कस्तो छ र कतिको डढ्ने खालको छ, त्यही अनुसार एसपीएफ थप्नुपर्ने हुन्छ ।

हामी एसियन कन्ट्रीका मानिसमा घामको कारण चाया–पोतो आउने समस्या बढी हुन्छ । यस्तो अवस्थामा हामीले सन ब्लक लगाउँदा पीए प्लस र पीए प्लस प्लस प्लस भएको लगाउनु उपयुक्त हुन्छ । यसले हाम्रो स्किनमा डबल कोट प्रोटेक्सन गर्छ । सन ब्लक विभिन्न खालका हुन्छन् । जस्तै– पीए, पीए प्लस, पीए प्लस प्लस प्लस आदि । मेलाज्मा र दागधब्बा आउने स्किन छ भने त्यो पनि याद गर्नुपर्ने हुन्छ । यस प्रकारको स्किनमा पीए, पीए प्लस, पीए प्लस प्लस प्लस सन ब्लक प्रयोग गर्नु उपयुक्त हुन्छ । स्किनमा चाया–पोतो आएको छ र राम्रै सन ब्लक लगाएको छ भने पनि केयर पुग्दैन ।

सन ब्लक प्रयोग गरिए पनि घाममा निस्किने बेला स्कार्फ, क्याप, ह्याटहरु प्रयोग गर्नु राम्रो मानिन्छ । जाडो र गर्मी दुवै याममा सन स्क्रिनको प्रयोग गर्नुपर्छ भने सकेसम्म शरीर ढाक्ने कपडा लाउनुपर्छ । सन स्क्रिन क्रिम चयन गर्दा यसको गुणस्तर, उत्पादन मिति र प्रयोग गरिसक्नुपर्ने मिति राम्रोसँग हेरेर किन्नुपर्छ । सबै छालाको लागि एउटै क्रिमभन्दा पनि चिल्लो र सुख्खा छालाको बेग्लाबेग्लै सन स्क्रिन लगाउनुपर्ने हुन्छ । सुख्खा छालाको लागि क्रिम बेसमा र चिल्लो छालाको लागि जेल बेसमा प्रयोग गर्दा राम्रो हुन्छ ।

हिजोआज सन स्क्रिन क्रिम बाहेक एन्टी रिंकल क्रिम, मोस्चराइजिङ क्रिम आदिमा पनि एसपीएफ समावेश गरिएको छ भनेर उल्लेख गरिएको हुन्छ । त्यस कारणले ती क्रिम लगाएपछि सन स्क्रिन क्रिम लगाउनुपर्दैन कि भन्ने लाग्न सक्छ । तर ती प्रोडक्टमा १५ देखि ३० भन्दा माथिको एसपीएफ हुँदैन । त्यसैले ती प्रोडक्ट लगाइससकेपछि पनि माथिबाट सन स्क्रिन क्रिम थप्नै पर्छ । कतिजनाले नथपेको कारण स्किन डढेर बिग्रिन सक्छ ।

कतिपयले घाममा बस्दा सन स्क्रिन प्रयोग गरेमा भिटामिन डीको कमी हुन्छ भन्ने गरेको पनि सुनिन्छ । तर, अहिलेसम्म कुनै पनि अनुसन्धानले सन ब्लकका कारण भिटामिन डीको कमी भएको पत्ता लगाएको छैन । सन ब्लकले भिटामिन डीको कमी गराउन पनि सक्दैन । किनभने अनुहारमा सन ब्लक लगाएर शरीरको सबै ओपन पोर्स बन्द हुने होइन ।
चर्को घाममा निस्किँदा सन स्क्रिन प्रयोग अनिवार्य हो । म घरभित्रै बस्छु, त्यति धेरै बाहिर पनि निस्किन्न, किन सन स्क्रिन लगाउनुप¥यो ? पनि

भनेको सुुनिन्छ । तर घरभित्र पनि घाम लागेपछि सूर्यको विकिरण छिर्ने भएकाले र त्यसले अनुहारको छालालाई असर गर्ने भएकाले घरभित्रै हुँदा पनि सन स्क्रिन लगाउनुपर्छ । घरमै बस्दा पनि कुनै बेला घाममा कौशीमा निस्किनुपर्ने हुन्छ भने कुनै बेला बाहिर पसल जानुपर्ने हुन्छ । त्यो बेला एकैछिन् घाममा देखिँदा पनि स्किनमा घामले असर गरेको हुन्छ ।

सही तरिकाले सन क्रिन लगाएन भने पनि स्किनमा त्यसले राम्रो काम गर्दैन । त्यसैले लगाउने तरिका नमिल्दा पनि स्किन बिग्रन्छ । कतिपय कस्टमरहरु मसँग सीधै सल्लाह लिन आउनुहुन्छ । हिजोआज डिजिटल मिडियाको जमानामा चाहिँ सामाजिक सञ्जालमा भिडियोको माध्यमबाट पनि बताइरहेकी हुन्छु । जहाँबाट ज्ञान लिए पनि त्यो प्रोडक्ट र त्यसको उपयोगबारे दिएको जानकारी जेनुन छ कि छैन भेरिफाइ गरेर मात्र फलोअप गर्दा राम्रो हुन्छ ।

सोसल मिडियामा विभिन्न खालका स्किनको समस्या ग्यारेन्टीका साथ ठीक हुन्छ भनेर भ्रामक जानकारी दिइरहेको पाइन्छ । जसको कारण ती प्रोडक्टप्रति मानिसको आकर्षण बढिरहेको हुन्छ । तर त्यसबारे राम्रोसँग बुझेर मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ । हामीले आफ्नो स्किन कस्तो प्रकारको हो, आफ्नो पेसा के हो, घाममा कतिबेर बस्नुपर्छ, हावामा कति र धूलोमा कति बस्नुपर्ने हुन्छ ? त्यो कुरालाई ख्यालमा राखी सन स्क्रिनको प्रयोग गर्नुपर्छ ।
(लेखिका महरा फेसियल हाउसकी सञ्चालक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्