नेपाल ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्समा सामेल काठमाडौं



नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आज कम र मध्यम आय भएका देशहरूमा बालबालिकामा हुने क्यान्सरको औषधीमा पहुँच बढाउन सेन्ट जुड्स ग्लोबल र विश्व स्वास्थ्य संगठनको संयुक्त पहल, “ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स” मा सामेल हुन विश्व स्वास्थ्य संगठनसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
मञ्चको सदस्यका रूपमा नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधीहरू निःशुल्क प्राप्त गर्नेछ । विश्व स्वास्थ्य संगठनले औषधीको प्रभावकारी वितरण सुनिश्चित गर्न आपूर्ति प्रणाली र स्वास्थ्य सेवाहरू सुदृढ गर्न प्राविधिक सहयोग प्रदान गर्नेछ । युनिसेफ यस अन्तर्राष्टिय मञ्चको खरीद साझेदारको रुपमा रहेको छ ।
सन् २०२४ को तेस्रो त्रैमासिकमा औषधीको पहिलो ब्याच नेपालमा आउने अपेक्षा गरिएको छ र भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र पाटन अस्पताल गरी यस परियोजनामा आबद्ध भएका चार अस्पतालमा बालबालिकामा हुने क्यान्सरको उपचारका लागि प्रयोग गरिनेछ ।
भविष्यमा, आवश्यकता अनुसार, यस कार्यक्रमलाई बालबालिकामा हुने क्यान्सरको हेरचाहको लागि साझा केन्द्रका रुपमा अन्य अस्पतालहरुमा पनि बिस्तार गरिनेछ ।  “नेपालमा हरेक वर्ष करिब ९ सय  बालबालिकामा क्यान्सर पहिचान हुने गरेको छ । यद्यपि, उपचार तथा सेवाहरूमा सीमित पहुँच र स्रोतको अभावले गर्दा, क्यान्सर भएका बालबालिकाहरू मध्ये एक तिहाइले मात्र उपचार पाउने गरेका छन् र यसबाट हुने मृत्यु पनि बढ्दै गएको छ,” विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवले भन्नुभयो ।
“यो नविनतम मञ्चले औषधी उपलब्धतासँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गरेर क्यान्सर हेरचाहमा पहुँच बढाउन मद्दत गर्नेछ र क्यान्सर भएका बालबालिकाहरूको अत्यावश्यक औषधीहरूमा पहुँच सुनिश्चित गर्नुकोसाथै क्यान्सर पीडित बालबालिकाका आमाबुवा र परिवारहरूमा पर्ने आर्थिक भार कम गर्न मद्दत गर्नेछ ।”
यस नविनतम पहलमा सहभागी हुनका लागि ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सले छनोट गरेका विश्वभरका ६ देशमध्ये नेपाल एक हो र विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसिया क्षेत्रबाट एक मात्र राष्ट्र हो । “आज नेपालका लागि महत्वपूर्ण दिन हो । यस सम्झौतामा हस्ताक्षर गरेसँगै, हामी औपचारिक रूपमा ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्समा सामेल भएका छौँ र यस कदमले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन ठूलो योगदान पु¥याउने छ ।
सुरुमा प्राप्त औषधी चारवटा सरकारी अस्पतालमा उपलब्ध गराइने भए पनि आवश्यकताका आधारमा अन्य अस्पतालमा यस सुविधाको विस्तार गर्न पहल गर्नेछौँ,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले भन्नुभयो । नेपाल ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सरको लागि विषेश राष्ट्रको रुपमा सन् २०२० मा छनोट भएको थियो ।
यस पहलले विश्वभरका क्यान्सरबाट पिडित बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने र सन् २०३० सम्ममा क्यान्सर भएका बालबालिकाहरूको बाँच्ने दर कम्तीमा ६० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । हाल क्यान्सर भएका बालबालिकामा निको भई बाँच्नेदर न्यून र मध्यम आय भएका देशहरूमा मात्र २० प्रतिशत देखि ३० प्रतिशत रहेको छ भने उच्च आय भएका देशहरूमा ८० प्रतिश भन्दा बढी रहेको छ ।
ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिनको बारेमा ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन सन् २०२१ मा ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर अन्तर्गत सुरु गरिएको थियो, जुन यस किसिमको पहिलो पहलको रुपमा रहेको छ । सेन्ट जुड्स ग्लोबल र विश्व स्वास्थ्य संगठनद्वारा संयुक्त रूपमा विकास गरिएको यस मञ्चले सन् २०२२ देखि सन् २०२४ मा न्यून र मध्यम आय भएका देशहरूमा लगभग १ लाख २० हजार बालबालिकाहरूलाई गुणस्तरीय क्यान्सर औषधीको निर्बाध आपूर्ति प्रदान गर्ने लक्ष्य राखेको छ र आगामी बर्षहरूमा यसलाई बढाउँदै लैजाने अपेक्षा गरेको छ ।
यस मञ्चले विश्वव्यापी मागलाई एकिकृत गरी बजारलाई आकार दिनको लागि सुरुवातदेखि अन्तसम्म सहयोग प्रदान गर्नेछ; औषधीको छनोटमा राष्ट्रहरूलाई सहयोग गर्नेछ; उपचार मापदण्डहरू विकासमा सहयोग गर्नेछ; र प्रभावकारी हेरचाह सुनिश्चित गर्न र नवप्रवर्तनको लागि सूचना प्रणालीहरू निर्माण गर्ने विश्व स्वास्थ्य संगठनले प्रतिवद्धता जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्