जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको असरबारे  स्वास्थ्यकर्मीलाई तालिम



 काठमाडौँ। 

जलवायु परिवर्तनसँगै पछिल्लो समय विभिन्न किसिमका सरुवा रोगहरु फैलिएर धेरै मानिसहरुको अकालमा ज्यान जान थालेको छ ।
यीनै बिषयमा मध्यपुर थिमि नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दाको स्वास्थ्यप्रति संवेदनशील रही समयमै सतर्कता अपनाउने उद्देश्यले नगरपालिकाको ९ वटै वडाको स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको असर र यसबाट बच्ने उपायबारे तालिम दिइएको छ ।

फ्रान्सको राजधानी पेरिसस्थित फाउन्डेसन ‘एस’ को आर्थिक सहयोगमा हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशन र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रुपमा सो तालिम आयोजना गरेको हो । तीनवटा समूह बनाई दुई-दुई दिन आयोजना गरिएको सो तालीममा नगरपालिकाको ९ वटै वडाका ५१ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई यसप्रकारको तालीम दिँदा त्यहाँ उपचारको लागि आउने विरामीहरुको रोगको कारण पहिचान गर्न र जलवायु परिवर्तनबाट लागेका सरुवा रोगबारे बेलैमा सचेतता अपनाएर अरुवाई बचाउन सजिलो हुने हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशनकी कार्यकारी निर्देशक अनुपमा श्रेष्ठले बताइन् ।

सो तालिमको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए भने समापनमा तालीमका सहभागी स्वास्थ्यकर्मीहरुलाई नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले प्रमाणपत्र वितरण गरेका थिए ।

हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशनकी अध्यक्ष रत्नकेशरी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक अनुपमा श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्ट, जनस्वास्थ्य विभाग प्रमुख श्रीकृष्ण प्रजापति तथा तालीमका प्रशिक्षक डा.यादव प्रसाद जोशीले तालीमको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्