नर्सिङ क्याम्पसका विद्यार्थीद्वारा क्याम्पस, फ्याकल्टी र  डीन कार्यालयमा तालाबन्दी



काठमाडौँ।

एउटा विषयमा भर्ना गरी अर्को विषयमा जाँच लिन थालेपछि नर्सिङ क्याम्पस महाराजगन्जका विद्यार्थीहरु आन्दोलित भएका छन् । क्याम्पसमा अध्ययनरत करिब ४०० विद्यार्थीहरुले कक्षा र क्लिनिकल ड्युटी छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा  भएको आन्दोलनमा विद्यार्थीहरुले क्याम्पस प्रशासन, फ्याकल्टी तथा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीन कार्यालयमा तालाबन्दी गरेका छन् ।

उनीहरुले क्याम्पस तथा आइओएम प्रशासन समक्ष ८ बुँदे माग अघि सारेका छन् ।

नर्सिङ क्याम्पस महाराजगञ्जकी स्ववियू सभापति नोविना बस्नेतले क्याम्पस प्रशासनको नेतृत्व तहबाट भएको गम्भीर लापर्वाहीको विरोधमा आफूहरु आन्दोलित भएको बताइन ।

‘शैक्षिक वर्ष २०८० /८१ मा बीएमएस कार्यक्रका लागि भन्दै विद्यार्थी भर्ना लिइयो तर पहिलो सेमेस्टरको अन्तिम परीक्षामा बीएस्सी मिडवाइफ्री भनेर सूचना जारी गरियो । एउटा विषयमा भर्ना लिने र पढाएको भन्ने तर बीचमै कोर्षको नाम परिवर्तन गर्ने कार्य विद्यार्थीको भविस्यलाई नै असर पार्ने र गम्भीर लापरवाही हो । यस सम्वन्धमा हामीले पटक पटक ध्यानाकर्षण गराउँदा समेत क्याम्पस प्रशासन नेतृत्वले बेवास्ता गर्ने र उल्टै धम्की दिने काम भयो । यसको विरोधमा हामी आन्दोलित भएका हौँ,’ स्ववियू सभापति बस्नेतले भनिन् ।

त्यसो त बीएमएसका विद्यार्थीहरुले विगत १८ दिन देखि एकेडेमी र क्लिनिकल गतिविधिहरुलाई बहिस्कार गर्दै आएका थिए ।

गत ५ चैत देखि भने आन्दोलनको नेतृत्व स्ववियूले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्