भोलि विश्व क्षयरोग दिवस मनाइँदै



काठमाडौँ। 

शुक्रबार विश्व क्षयरोग दिवस मनाइँदै छ । हरेक वर्ष मार्च २४ मा मनाइने दिवस क्षयरोग दिवस यस वर्ष भने मार्च २२ मनाइँदै छ । मार्च २३ मा शनिबार र २४ आइतबार होली पर्वको सार्वजनिक बिदा परेकाले मार्च २२ (चैत ९)गते मनाउन लागिएको हो । क्षयरोग विश्वभर फैलिएको एक संक्रामक रोग हो।

यसलाई अग्रेजीमा ट्युबरक्युलोसिस (टिबी) भन्ने गरिन्छ। सन् १८८२ मार्च २४ मा डा. रोर्वट कोचले क्षयरोगको कीटाणु पत्ता लगाएका थिए। त्यसको सय वर्षपछि १९८२ मार्च २४ बाट यो दिवस विश्वभर मनाउँदै आइएको छ।

क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले लाग्ने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण निर्देशक प्रज्वल श्रेष्ठले जानकारी दिए । यसले फोक्सोमा सबै भन्दा चाँडो आक्रमण गर्नुका साथै शरीरका अन्य भागहरूमा पनि असर गर्न सक्दछ।

क्षयरोग लागेका कुनै पनि व्यक्तिमा यसका कीटाणु सक्रिय छन् भने उसले श्वास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने छिटाको माध्यमबाट हावामा फैलिएर अन्य व्यक्तिमा सर्ने गर्दछ।

नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत फोक्सो कै क्षयरोग हुने गरेको छ भने अन्य ग्रन्थि, हड्डी, पेट, मिर्गौला, मस्तिष्क, पाठेघर, कलेजो आदिको हुने गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्