तिनाउ गाउँपालिकाका असल अभ्यासहरु



पाल्पा ।

पाल्पा जिल्लामा पर्ने तिनाउ गाउँपालिका नेपालका ७५३ वटा स्थानीय सरकारमध्येको एक हो। यो पालिका तराईदेखि चुरेसम्म फैलिएको छ । यस पालिकाको क्षेत्रफल २०२ वर्गकिलोमिटर रहेको छ । यस पालिकाको केन्द्र वडा नं. २ स्थित दोभानमा रहेको छ।

साबिकका गाउँ विकास समितिहरु क्रमशः कचल, दोभान, कोलडाँडा र मस्याम मिलेर यस गाउँपालिकाको स्थापना भएको हो । यस पालिकाभित्र ४,२०१ घरधुरी र १७,७७७ जनसंख्या रहेको छ। यसमा करिब ७५ प्रतिशत मगरको बस्ती रहेको छ । यसै गरी, करिब १२ प्रतिशत दलित तथा करिब १२ प्रतिशत बाहुन, क्षत्री, नेवार, गुरुङ, कुमाल, थकाली जाति रहेका छन् । करिब १ प्रतिशत लोपोन्मुख पत्थरकट्टा (कुशवारिया) जाति रहेका छन् । प्रसिद्ध तिनाउ नदीको नामबाट यस पालिकाको नामाकरण गरिएको हो । प्राकृतिकरुपमा यो पालिका निकै सुन्दर रहेको छ ।

पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट दक्षिण पश्चिममा पर्ने यस गाउँपालिकाको पूर्वमा माथागढी र पश्चिममा रैनादेवी छहरा गाउँपालिका, उत्तरमा तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिका तथा दक्षिणमा बुटवल उपमहानगरपालिका पर्दछ । यो पालिका प्रसिद्ध सिद्धबाबाको काखमा रहेको छ। साथै, यो पालिका सिद्धार्थ राजमार्गमा पर्दछ । तिनाउ नदीको फराकिलो क्षेत्र, समथर कृषि मैदान, हरियाली जंगल, जन्तिलुड., रिङसिङ लेक, पाटन, ठुलीउदाङ, हात्तीलेक, सत्यवती ताल, सुकेताल, जितगढी, नुवाकोट, रामापिथेकस क्षेत्र, सिद्धबाबा मन्दिरजस्ता प्राकृतिक, धार्मिक र पर्यटकीय क्षेत्रभित्र यो पालिका फैलिएको छ।

यस तिनाउ गाउँपालिकाको असल अभ्यासलाई नियाल्दा कृषिउपजहरुको बजार सुनिश्चित गर्न बुटवल उपमहानगरपालिकाको हाटबजार क्षेत्रमा दुईवटा सटर भाडामा लिई तिनाउ कृषिउपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गरिएको छ। यसलाई व्यवस्थित गर्न सफ्टवेयर जडान गरी सफ्टवेयरको तथ्यांकको आधारमा उत्पादनमा आधारित अनुदान वितरण गर्ने र व्यवस्थापन गर्ने लक्ष्य रहेको छ।

सफ्टवेयर सञ्चालनपश्चात् कृषकले आफ्नो उत्पादनलाई मोबाइल एपमार्फत बजारीकरण गर्न सक्नेछन् । यस पालिकाले शिक्षा सुधारका क्षेत्रमा स्मार्ट क्लास रुमको शुरुवातसमेत गरेको छ ।

यस पालिकाले विभिन्न ११ स्थानमा १२ एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । यसबाट आम जनताले घरआँगनमै सिंहदरबार आएको महसुस गरेका छन् । मूलतः यो शिविरबाट योजना सम्झौता ७७ वटा, व्यक्तिगत घटना दर्ताको हस्तलिखित प्रमाणपत्रलाई विद्युतीय माध्यमबाट अभिलेखीकरण २७०८ वटा, स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रयोगशाला परीक्षण १०५४, आँखा जाँच १६३३, ओ.पी.डी. सेवा १५४८, कृषि सेवा ११०, पशु सेवा १०७, ज्येष्ठ नागरिक परिचयपत्र वितरण ५६, व्यवसाय दर्ता ४, नागरिकता सिफारिस ९८ र विद्यालय अनुगमन १९ गरी जम्मा ७४१४ सेवा उपलब्ध गराइएको थियो।

यसै शिविरबाट स्वास्थ्य परीक्षण गरी मोतियाविन्दुको पहिचान भएका ९९ जनाको मोतियाविन्दुको पाल्पा लायन्स लाकोल आँखा अस्पतालको सहयोगमा निःशुल्क अपरेसन गर्ने कार्य गरेको थियो । यस पालिकाले ५०९ घरमा एक–एक धारा जडान गरेको छ । साथै, स्वास्थ्य बिमातर्फ विपन्न नागरिकहरुलाई ५० प्रतिशत अनुदान दिनुका साथै मिनी ट्याक्टरमा पनि ५० प्रतिशत अनुदानमा १७४ वटा मिनी ट्याक्टर यस आर्थिक वर्षमा वितरण गरेको छ । यस पालिकाबाट बाली उपचार शिविर ६ वटै वडामा सम्पन्न भएको छ । साथै विभिन्न स्थानमा कृषक पाठशाला कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

प्रेम श्रेष्ठ यस गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ। उहाँ युवा हुनुहुन्छ। उहाँ कुशासनको अन्त्यका लागि लागिपरेको बताउनुहुन्छ। यसै गरी, यस गाउँपालिकाको उपाध्यक्षमा लालबहादुर थापा हुनुहुन्छ । उहाँ पढेलेखेको, जानकारयुक्त तथा केही गर्नुपर्छ भन्ने उत्साही हुनुहुन्छ । साथै, यस पालिकामा लेखबहादुर बस्नेत प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँ निकै अनुभवी र सुशासनको पक्षधर हुनुहुन्छ । यस पालिकामा ६ वटा वडा रहेका छन् । यी वडाहरुमा क्रमशः भुवनसिं चिदी, यादवप्रसाद अर्याल, चित्रबहादुर थापा, तुलबहादुर आले, इन्द्रकुमारी चिदी र टोमबहादुर पुन हुनुहुन्छ ।

तिनाउ गाउँपालिकाको वडागत असल अभ्यासलाई नियाल्दा वडा नंं. १ ले एक घर एक धाराको अवधारणा अनुसार ५२८ घरलाई खानेपानी वितरण गरेको छ । यसै गरी, ९८ जना किसानलाई मिनिट्रिलर वितरण गरेको छ । यसै गरी, यस वडाले गोठ तथा खोर सुधार अभियान सञ्चालन गरेको छ । साथै, घुम्ती प्रयोगशाला सञ्चालन गर्नुका साथै घुम्ती शिविर सञ्चालन गरेको छ। यस वडाले उद्यमशीलता तालिम सञ्चालन गरेको छ भने जनजाति, महिला, युवा, दलित लक्षित कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । यस अतिरिक्त यस वडाले मासिक खोप कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यस पालिकाको वडा नं. २ ले अनलाइन प्रणाली स्थापना गरेको छ। यस वडाभित्र टोल विकास संस्था गठन भई विविध कार्यहरु भैरहेका छन् । यस वडाले विपन्न दलित गर्भवतीलाई निःशुल्क स्वास्थ्य परीक्षणको सेवा उपलब्ध गराएको छ। यस वडाले शून्य होम डेलिभरी अभियानलाई तीव्रता दिएको छ। यस वडाले कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुका साथै युवा तथा महिला खेलकुद कार्यक्रम पनि सञ्चालन गरेको छ । यसै गरी, ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका साथै खानेपानी सेवालाई विशेष प्राथमिकता दिएको छ ।

यस पालिकाको वडा नं. ३ ले गरिबको घर वडाको घर अभियान सञ्चालन गरेको छ । साथै, कृषक सम्मान कार्यक्रम, उत्कृष्ट कृषक र क्षमता वृद्धि कार्यक्रमअन्तर्गत कपाल काट्ने तालिम तथा उद्घोषण तालिम सम्पन्न गरेको छ । यस वडाले एसईईमा बी प्लसभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई वडाले भर्ना गर्ने, विपन्न विद्यार्थीलाई न्यानो कपडा, ब्याग, जुत्ता वितरण गर्ने र अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । यस वडामा स्तनपान कक्ष निर्माण भएको छ भने कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई छात्रावासमा खाद्यान्नको व्यवस्था गरिएको छ । यस अतिरिक्त, यस वडाबाट लक्षित वर्गलाई सामग्री वितरण, ज्येष्ठ नागरिकका लागि भजनकीर्तन कार्यक्रम र वडामा सिसी क्यामरा जडान गर्ने काम भएको छ ।

तिनाउ गाउँपालिकाको वडा नं. ४ ले घुम्ती शिविर सञ्चालन गरिआएको छ। यस वडाले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम सञ्चालन गरेको छ । यस वडामा बालविवाहको भोज बहिष्कार गर्ने नीति अवलम्बन गरिएको छ। यस वडाले रासायनिक विषादीरहित हरियो तरकारी उत्पादनको पहल गरिरहेको छ । शैक्षिक गुणस्तरका लागि यस वडाले स्कूलहरुमा लगानी विस्तार गरिरहेको छ ।

यस पालिकाको वडा नं. ५ ले बेबीक्यारी ब्याग वितरण गरेको छ भने गाउँघर क्लिनिक सञ्चालन गरेको छ। यसै गरी, यस वडाले सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्नुका साथै राजस्वको दायरा विस्तारको प्रयास गरिरहेको छ । यस वडाले प्रदेशसम्म पुगेको भलिबल खेलाडीलाई सम्मान गरेको छ । विपन्न नागरिक सम्मान कार्यक्रम पनि सञ्चालन गरेको छ । सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गरेको छ । साथै, बालविवाह न्यूनीकरण तालिम सञ्चालन गर्नुका साथै तीन महिनामा शिक्षक बैठकलाई निरन्तरता दिएको छ ।

तिनाउ गाउँपालिकाको वडा नं. ६ ले दुई स्थानबाट वडाको सेवा प्रवाह गरेको छ। यस वडाले वडाभित्र इन्टरनेटको सेवा विस्तार गरिरहेको छ। एसईईका विद्यार्थीलाई यस वडाले आवासीय व्यवस्थापनमा आर्थिक सहयोग गरेको छ।

यस वडाभित्र पर्ने सबै स्कूलको नियमित अनुगमन गरी शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक निर्देशन जारी भएको छ। यसै गरी, टोलटोलमा साना कुटानीपिसानी मिल वितरण गरेको छ। यसरी तिनाउ गाउँपालिकाबाट सम्पादित काम र असल अभ्यासहरु अन्य पालिकाका लागि अनुकरणीय रहेका छन् । यस पालिकाको कार्य सफलताको शुभकामना !

प्रतिक्रिया दिनुहोस्